Latest News

आऊ बढाऊ हातहरु…

श्रावण १३, २०७४- पोखरेली युवती सरिता गुरुङको कुदाकुद हेर्न लायक छ। अघिल्लो आइतबार पोखराबाट काठमाडौं आएकी उनी भोलिपल्टै चाँगुनारायणमा थिइन्, पर्सिपल्ट बुङमती। मंगलबार बिहान भने उनी चरिकोट पुगिसकेकी थिइन्।

‘कुदाकुद आफ्ना लागि होइन, अरूका लागि,’ दरबारमार्गमा छोटो भेटघाटमा आइपुगेकी सरिताले सुनाइन्, ‘कतै कोमामा रहेका बिरामीको ‘घर सपना’ पूरा गर्न लागिरहेकी छु, कतै बहिरा बालबच्चाका लागि होस्टल बनाउनमा जुटेकी छु।’
२७ वर्षीया सरिता अहिले फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत परोपकारी जगत्मा चिनिएकी छन्। १० वर्षयता हितकारी सामाजिक र मानवीय काममा जुटिरहेकी सरिता अहिले आफैंमा ‘अभियान’ बनेकी छन्। ‘२०६२ सालमा कास्कीको ढिकुरपोखरीको एउटा घटना आँखैसामु देखियो– ५७ वर्षीय कान्छा रानाभाटको। बेसहरा र एक्ला पात्र कान्छा घाँसदाउरा गर्न दुर्घटनामा परेका रहेछन्, रूख लडेर थिचिएपछि उनी बिकलांगझैं भएका थिए। त्यो घटना थाहा पाएर काठमाडौंमा पीके क्याम्पसमा अध्ययनरत सरिताले कान्छालाई पशुपति वृद्धाश्रममा ल्याएर राखेकी रहिछन्। कान्छाको केही वर्षपछि वृद्धाश्रममै मृत्यु भएको थियो।

कास्कीकै भाचोक, मकैखोला गाउँकी १९ वर्षीया बुद्धिमाया गुरुङको केस पनि त्यस्तै जटिल थियो। उनी डेढवर्षे नानीकी आमा थिइन्। दुवै मृगौला फेल भएकी र डाइलाइसिस गर्ने खर्चसमेत नभएकी बुद्धिमायाका बारेमा पनि सरिताले फेसबुकमार्फत थाहा पाएकी थिइन्। ‘कतारमा रहेका बुद्धिमायाका जेठाजुले आफ्नी बुहारीको स्थितिका बारेमा फेसबुकमा लेखेपछि मैले फलो गरेकी थिएँ,’ सरिता सम्झिन्छिन्, ‘बुद्धिमायाको केस मेरो जीवनकै र सामाजिक कामकै टर्निङ–प्वाइन्ट बन्यो। बुद्धिमायाको स्थितिका बारेमा फेसबुकमा फोटो अपडेट गर्नासाथै अप्रत्याशित रूपमा सहयोग जुट्न थाल्यो। सुरुमा बेल्जियमबाट सुवास गुरुङ दाइले ६२ हजार दिनुभयो। एक साताभित्रैमा मेरो नामकामलाई विश्वास मिल्यो।’ बुद्धिमायाको उपचारमा देश–विदेशबाट गरेर झन्डै १० लाख रुपैयाँ सहयोग उठेको रहेछ तर, मृगौला दिने दाता भेटिएनछ। पोखराको गण्डकी हस्पिटलबाट बुद्धिमायाको डाइलाइसिस भइरहेको थियो। समय बित्दै जाँदा उनलाई बचाउन त सकिएन तर सबै खर्च कटाएर साढे ५ लाख रुपैयाँ नाबालक छोरीको नाममा राखिदिन सम्भव भयो।

सरिताकी आमा मैताकुमारी गुरुङ पाउँधुर गाउँमा चिनिएकी समाजसेवी हुन्। उनी गाउँको आमा समूहमा अध्यक्ष छिन्। ‘अरूको संघर्ष र दैनिकी हेरिकन अलिकति सहज र सुविधाको जीवन पाइसकेपछि कम्तीमा एक/दुई असहायको सेवा गर्न सक्नुपर्छ भनेर मैले आमाबाटै सिकेकी हुँ,’ सरिता भन्छिन्।

सेवा र सहयोगको भावना झाँगिँदै गएपछि र सहयोगको सूची थपिँदै गएपछि सरिताले भर्खरै हङकङ पुगेर आफ्नै नाममा फाउन्डेसन खोलिसकेकी छिन्। ‘यसरी सक्रिय रूपमै स्थापित भएको ५ वर्ष भइसकेको छ,’ उनले थपिन्, ‘यसबीचमा २६ भन्दा बढी अभियान/केसमा सफलताका साथ काम गरेका छौं।’ उनले पीडितको केस अथवा जटिल मानवीय समस्याका बारेमा पत्रपत्रिका पढेर सूचना बटुल्ने गरेकी छन्। त्यसमा जिल्ला तहमा केसको पुष्टि गराएपछि मात्रै उनका सहयोगी हातहरू अघि बढ्ने गरेका छन्। जस्तो, क्यान्सर रोगबाट ग्रसित डा. चित्र वाग्ले दिल्लीको राजीव गान्धी हस्पिटलमा उपचाररत रहेको थाहा पाएर उनले वाग्ले बचाउ कोषमा झन्डै १ लाख रुपैयाँ तत्कालै हालिदिएकी थिइन्। डा. वाग्लेले चिनजानबिनै दिल्लीबाट फोनमा भनेका थिए, ‘सरिता बहिनी, म तपाईंको सहयोगले एक पल भए पनि बढी समय बाँचेको छु।’
पोखराकै ५ वर्षीय रितेश श्रेष्ठलाई रक्त क्यान्सर भएको थियो। त्यसमा बचाउ अभियान सुरु गर्दैगर्दा ४५ हजार रुपैयाँ उठेको थियो, तर रितेश बितिहाले। ‘यी घटनाबाट भने आशा नहुने कुराहरूमा अलिक ‘ब्याक’ हुनुपर्ने रहेछ भन्ने लाग्यो,’ उनी भन्छिन्।
यसपछि सरिताले सिन्धुपाल्चोकको जुरे पहिरोमा बिकलांगका लागि एक अपांग घर बनाउन भ्याइन्। त्यहाँ कम्मरमुनि नचल्ने १४ वर्षीय बखत पहरीले सेवा सुविधा पाएका छन्।
५० भन्दा बढी बालबच्चा बस्ने बुङमतीको अपांग सेवा संघदेखि नेपाल अपांग सेवा संघ, बुटवलका लागि सहयोग दिलाउन सरिताको सामाजिक सञ्जाल अभियान सक्रिय छ। यस्तै, कास्कीको खारपानी पहिरोपीडितका लागि मद्दत गर्नेदेखि दोलखाको भीमेश्वर बहिरा प्राथमिक विद्यालयलाई २० लाख रुपैयाँको होस्टल बनाउने काममा उनी जुटेकी छन्।
‘चाँगुनारायण–४ मा बस्ने ४२ वर्षीय रामकृष्ण सार्की जो वैदेशिक रोजगारीमा गएका बेला मुटु उपचारका क्रममा कोमामा गएका थिए, उनका लागि घर बनाउँदै छौं। रोजगारीमा साउदी रहेकै बेला श्रीमतीले पनि छाडेको र ३ बालबच्चाको जिम्मेवारी बूढा बाआमाले लिएको अवस्थामा ७ लाख रुपैयाँको घर बनाइदिने क्रममा छौं,’ सरिताले सुनाइन्, ‘सार्की दाइको घर भूकम्पले भत्काइसकेको छ। उनी बोल्न र हलचल गर्न सक्दैनन्। तर सामु पुग्दा सबै कुरा बुझेजस्तो ‘फिल’ हुन्छ।’
सरिताले फेसबुकमा पीडितको कुरा, समस्या र केस जानकारी गराएपछि युरोप, अमेरिकादेखि खाडी मुलुकसम्मका सहयोगी दाताहरू भरथेग गर्नमा अगाडि आउने गरेका छन्। ‘मेरा दाताहरू साउदी, कतारमा पनि उत्तिकै छन्। किनभने खाडीमा श्रम गर्न गएकाहरूले दु:ख बुझेका छन्। त्यसैले उनीहरू बढी सहयोगी पनि छन्,’ सरिता भन्छिन्, ‘म गुरुङ भएर गुरुङबाटै मात्रै सहयोग पाएको छु भन्ने छैन, म गुरुङ भएर गुरुङकै लागि मात्रै सहयोग गर्छु भन्ने पनि होइन। ‘एउटी गुरुङ छोरी भएर गुरुङ
कम्युनिटीकै लागि किन भिज्दैनौ?’ भनिरहन्छन् । मेरो समाजसेवामा जाति, क्षेत्रभन्दा बढी मानवता हावी छ।’
दुई वर्षअघि बिहे गरेकी सरिताका श्रीमान् अमेरिकामा छन्, उनी पनि श्रीमतीको मानवीय सदिच्छामा सहयोगी बनेर जोडिएका छन्।

यसपटक काठमाडौं आएर भने सरिताले तनहुँ घर भएकी ६० वर्षीया तुलसीदवी खत्रीलाई ‘नयाँ जीवन’ दिलाएकी छन्। तुलसीदेवीको दुई वर्षअघि हात भाँच्चिएपछि भरतपुर लगेर प्लास्टर गरेकामा असफल भएको थियो, तिनै आमाको बाँगो देखिएको हातका बारे फेसबुक चर्चा गर्नासाथै देश–विदेशबाट झन्डै २ लाख रुपैयाँ सहयोग उठेको थियो। संयोगले तुलसीदेवीको हात चाबहिलस्थित हेल्पिङ हेन्ड कम्युनिटी हस्पिटलले नि:शुल्क रूपमा उपचार पनि गरिदियो। ‘यसरी अरूले पाएको खुसीमा आफैं खुसी हुन सकिन्छ भनेर यतातिर लागेकी हुँ, अब त लतजस्तो भइसक्यो,’ उनी भन्छिन्। यसरी सुरु सुरुका दिनहरूमा छोरी कता हो कता कुदेको देखेर घरपरिवारमा पनि दिक्कै मान्ने रहेछन्। घरले भन्दा बाहिरकाले गर्ने निन्दा चर्को हुन्थ्यो। तर, ६२ वर्षीय बाबु खड्गबहादुर र आमा मैताकुमारी छोरीको काममा ‘कन्भिन्स’ भएपछि कसैको निन्दाले केही हुनेवाला थिएन।
खुसी हुन र खुसी बाँड्न ठूला कुरा भइरहनुपर्छ भन्ने केही छैन। जस्तो, दुई महिनाअघिको स्थानीय निकाय निर्वाचनमा झापाको शिवसतासीका एक बिकलांग युवा अरूको भरथेगमा भोट हाल्न गएका थिए। त्यो खबर कान्तिपुर समाचार हुँदै सरिताको फेसबुकमा भाइरल बनेपछि ती युवाले लगत्तै ह्विलचेयर उपहार पाए, हङकङबाट सहयोग आएको थियो। ‘यसरी साना सहयोगमा पनि ठूलो खुसी जोडिन्छ,’ सरिता भन्छिन् ।

साभार : ekantipur.com

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*