Latest News

आमाको मृगौला फेरेर फेरि दुवई पुगेका रबिन्द्रलाई दोश्रो पटक दिदीले बचाइन्

भदौ २८ –

पोखराको लेकसाइडमा रोजगारी खोज्दैडिंडेका रबिन्द्र गुरुङले आफूले खोजेजस्तो काम पाउनु भएन । २०४८ सालमा एसएलसी फेल भएपछि पढाई छोड्नु भएको थियो ।

पढाई छोडेपछि ६ महिना होटलमा भाँडा माझ्नुभयो । भाँडा माझ्दाको कमाई थोरै थियो । केहि वर्ष भाँडामाझ्ने काम गरेपछि उहाँले काम फेर्नुभयो । पछि ट्राभल एजेन्सीमा पर्यटकलाई बाटो देखाउने काम गर्न थाल्नुभयो ।

तर त्यो काममा पनि लामो समय टिक्न सक्नुभएन । काठमाडौं गएर म्यानपावर कम्पनीमा काम गर्न थाल्नुभयो । म्यानपावरमा काम गर्दागर्दैं उहाँको सोच बदलियो र  काम थालेको ८ महिना नबित्दै रोजगारीका लागि दुवई जानुभयो ।

 

तर दुवईमा लामो समय काम गर्न आफ्नै शरिरले धोखा दियो । दुवई पुगेको डेढ वर्ष भएको थियो । मृगौलामा समस्या देखिएपछि फर्किनु पर्‍यो कमाई भएन । अलिअलि कमाएको रकम आफ्नो उपचारमा सकियो । घर फर्किएपछि उपचारका लागि भारत जानुभयो । भारत गएर आमाको मृगौला आफ्नोमा लगाउनुभयो ।

आमाको मृगौला लगाएर जीवन पाएका रबिन्द्र फेरि पनि विदेश जानुभयो । २०५३ सालमा उहाँको दोश्रो दुवई यात्रा तय भएको थियो ।

दुवईका बिभिन्न कम्पनिमा काम गर्दा उहाँले मासिक सरदर ४० हजार रुपैयाँ  कमाउनुभयो । दुवईमा काम गरेको पनि ९ वर्ष लागेको थियो । उहाँ अचानक फेरि बिरामी हुनुभयो । अस्पतालमा जाँच गराउँदा थाहा भयो फेरि पनि मृगौलामा समस्या आएछ ।

रबिन्द्र जीवनसँग हारिसक्नु भएको थियो । रबिन्द्र भन्नुहुन्छ, ‘त्यतिबेला आत्मा हत्या गर्ने सोचेको थिएँ । अब बाँच्ने मन मरिसकेको थियो ।’

तर त्यतिबेलै नेपालबाट दिदीको फोन आयो । दिदीले सम्झाई बुझाई गर्नुभयो । रबिन्द्र फेरि पनि पहिलेकै जस्तो रोग लिएर फर्किनुभयो । पहिले आमाको मृगौला पाएर बाँचेका रबिन्द्रलाई दोश्रो पटक नेपाल फर्किएपछि दिदीले मृगौला दिएर बचाउनुभयो ।

‘गरिबिकै कारण पैसा नभएर अस्पतालमा बिरामीले आत्महत्या गरेको मैले देखेको छु’ रबिन्द्रले भन्नुभयो,  ‘यति धेरै खर्चहुन्छ भन्ने थाहा पाएको भए म पनि बाँच्दिनथें ।’

जीवनदेखि पटक पटक हारेका रबिन्द्र नयाँ जीवन पाएपछि फेरि पोखराको लेक साइडमै पुग्नुभयो । पोखरामा कुखुरा पाल्ने योजना परिवारमा सुनाउनुभयो । तर रोग सर्छ भनेर परिवारले रबिन्द्रलाई त्यो व्यवसाय गर्न दिएनन् ।

 

पोखराको लेक साइडमा सानो रेस्टुरेन्ट सञ्चालन गर्नुभयो । त्यसले राम्रो आम्दानी हुन थालेपछि रबिन्द्रका रेस्टुरेन्ट थपिए । पोखरामै तीनवटा रेस्टुरेन्ट चलाउनुभयो । पटक पटक जीवन दिएका परिवारले उहाँलाई व्यवसायमा पनि सहयोग गरे ।

१४ वर्ष वैदेशिक रोजगारीमा बस्दा उहाँले दुईटा मृगौला गुमाउनु पर्‍यो । कमाएको रकम पनि त्यसैमा सकियो र उल्टै ऋण थपियो । अहिले त लेखनाथ नगरपालिका २२ को कालावाङमा होमस्टे पनि सञ्चालन गर्नुभएको छ ।

तीन वर्ष पहिले खोलेको होमस्टेबाट अहिले मासिक १ लाख रुपैयाँ आम्दानी हुन्छ । विदेशमा हुँदाको काम र कमाई सँग अहिलेको अवस्था तुलना गर्नै नसकिने फरक रहेको उहाँ बताउनुहुन्छ । छोरा छोरी पोखरामा पढ्छन् । उहाँ आमासँग होमस्टेमा बस्नुहुन्छ । अहिले त रबिन्द्रकाे स्वास्थ्य पनि राम्रो छ कमाई पनि ।

साभार : उज्यालो अनलाईन डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*