Latest News

आमाहरूको पहलमा समृद्ध गाउँ

आश गुरुङ, भीरपुस्तुन (लमजुङ)

भाद्र २२, २०७३- चिटिक्क परेको सानो गाउँ । घरका छाना ढुंगा र जस्ताका । गाउँ जाने ठाउँ भिरालो । त्यसैले नाम पनि भीरपुस्तुन ।अचेल यो गाउँलाई भीर हटाएर पुस्तुन भनिन्छ । गुरुङ भाषामा गाउँको नाम पैदी हो । त्यही फेदमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको गाउँ बाहुनडाँडा पर्छ । बाहुनडाँडाबाट डेढ घण्टामा उकालो सजिलै पुगिने पुस्तुनका आमाहरू गाउँको विकासमा जुर्मराएका छन्, पर्यटन प्रवद्र्धन गरेर । भीरपुस्तुन बाहुनडाँडा–३ मा पर्छ ।
दशक लामो सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दा तत्कालीन सेना र माओवादीबीच यो गाउँको माथिल्लो क्षेत्रमा २०६० मंसिर २९ को रात ठूलो भीडन्त भएको थियो । ‘दोहोरो हानाहान भयो । माओवादीका कति बिते, कति घाइते भए, यकिन छैन । गाउँ आउने सबै रगतैरगत भएर बचाऊ, बचाऊ भन्दै आएका थिए,’ रक्तकाली आमा समूहकी अध्यक्ष पितममाया घलेले भनिन्, ‘गाउँमाथिको टेलिफोनको टावरमा भएको भिडन्तले डराएर रातारात घर छाड्यौं । नजिकका गाउँमा बास माग्न गयौं । केहीलाई माओवादीले सँगै लगे । १/२ दिनपछि सबै घर फर्काए । सबै भेट हुँदा खुसी लाग्यो ।’
माओवादीले उक्त घटनामा आफ्नो तयारी नपुगेको भन्दै धेरै योद्धाले ज्यान गुमाउनुपरेको निष्कर्ष निकालेको थियो । यहाँ १६ माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए । माओवादीले त्यति बेला नेपाल टेलिकमको रिपिटर टावरलक्षित सुरक्षार्थ खटिएका सेनामाथि आक्रमण गरेको थियो । ‘जे भयो भयो । सधैं घटना मात्रै सम्झेर भएन,’ समूहकी अध्यक्ष घलेले भनिन्, ‘जानी नजानी विकास गर्ने भनेर लाग्यौं । अहिले हामीले बनाएकै बाटोमा पाहुना हिँडेर आएको देख्दा मन खुसी लाग्छ । पाहुना आएर नाचगान गर्छन्, रमाइलो गर्छन् । एक/दुई पैसा दिएर फर्कन्छन् ।’ उनका अनुसार ‘लडाइँ’ हुनुअघि पनि आमा समूह थियो । नाचगान गरेको पैसा भोज खाएरै सकिन्थ्यो । ‘हिजोआज १ रुपैयाँ पाए पनि विकासमै लगाउन मन लाग्छ,’ उनले भनिन् । यो क्रम ९/१० वर्षयता भएको उनले हेक्का काटे । ‘सबैले अब यस्तो लडाइँ हुन्न भने । हामी पनि ढुक्क भयौं । आमा समूह गठन गरेर विकासमा लाग्यौं,’ उनले भनिन् ।
आमा समूहले सुरुमा रक्तकालिका मन्दिर निर्माण गरेका हुन् । त्यति बेलाको हिसाब–किताब समूहलाई जानकारी छैन । त्यसपछि ५० हजार लगानीमा धान, मकै, कोदो पिस्ने मिल गाउँमै स्थापना गरे । ‘चामल पिसेको प्रतिपाथी ४ र मकै पिसेको प्रतिपाथी ५ रुपैयाँ लिन्छौं । त्यसले मिलको हेरचाह गर्नेलाई मासिक अलिअलि पैसा दिन पुग्छ । कोषको पैसाले डिजेल किन्छौं । मर्मत गर्दा कोषकै पैसा हो । नाफाभन्दा पनि सेवाको काम गरेका छौं,’ आमा समूहकी कोषाध्यक्ष रुकमणि गुरुङले भनिन् । समूहले ३ लाख रुपैयाँमा सामुदायिक भवन बनाएको छ । गाउँमा बिजुली बालेका छन् । ‘गाउँनजिकै पोल र तार त आयो तर बत्ती बलेन,’ रुकमणिले भनिन्, ‘घरघर पुर्‍याउने बिजुलीको तार किन्यौं । वायरिङ भयो । डेढ लाख खर्च गरेर ६/७ वर्षदेखि बिजुली बालिरहेका छौं,’ उनले भनिन् ।
कालिका प्राविका शिक्षक दुई घलेका अनुसार गाउँको विकासमा आमा समूह सक्रिय छन् । अहिले बाबा समूह र युवा क्लब पनि लागेका छन् । आमा समूहले गाउँ पुग्ने चौतारीमा धारा निर्माण गरेका छन् । गाउँमा खानेपानी ल्याउन समूहले सहयोग गरेका छन् । बाटा, चौतारा, नयाँ मन्दिर बनाएका छन् । मन्दिर बनाउन ५० हजार सहयोग गरेका छन् । ४ वर्षअघि विद्यालय बनाउने क्रममा आमा समूहले मात्रै २५ दिन श्रमदान गर्‍यो । उनीहरूले त्यसको हिसाबकिताब राखेनन् । युवा क्लबका अध्यक्षसमेत रहेका घलेका अनुसार विकासमा आमा समूहको ठूलो लगानी र योगदान छ । आमा समूहले विकासमा खर्च गरेको रकम उनीहरूले बिदेसिएका आफन्त गाउँ फर्किंदा र गाउँमा आउने पाहुनासँग नाचगान गरी सँगालेको पैसा हो ।
आमा समूहले पैसा चाहिएकालाई सयकडा २ रुपैयाँ ब्याजमा लगानी गर्दै आएको छ । १ लाख रुपैयाँ गाउँमै लगानी गरेका कोषाध्यक्ष रुकमणिले बताइन् । ‘जसको आउने बाटो केही छैन । त्यस्तालाई बिनाब्याज वा केही पैसा फिर्ता नहुने गरी पनि सहयोग गरेका छौं,’ उनले भनिन् । आमा समूहले १ लाख ४० हजार रुपैयाँ खर्च गरी गाउँमा सार्वजनिक शौचालय निर्माण गरेका छन् । गाउँको ‘भिलेज सङ’ को म्युजिक भिडियो निर्माणका लागि खानापिनको व्यवस्थापन पनि आमा समूहले मिलायो । त्यति मात्र नभएर २० हजार रुपैयाँ सहयोग गरेका छन् । गाउँ चिनाउने म्युजिक भिडियोमा गाउँकै सूर्यमान गुरुङ र उनकै बहिनी सुनीताले स्वर दिएका छन् ।
समूहकी अध्यक्ष पितममायाका अनुसार अहिले दलित समुदायका आमाहरूलाई समेटेर २ समूहबाट घरैपिच्छेका आमाले महिनाको ५० रुपैयाँ संकलन गर्दै आएको छ । यो सिंगो आमा समूहको भन्दा छुट्टै बचत समूह हो । ‘महिनाको १ गते जुट्छौं । रकम संकलन गछौं,’ उनले भनिन्, ‘यो कुनै संस्थाको लहैलहैमा लागेर होइन ।
हामी आफैं अघि सरेका हौं ।’ उनका अनुसार केहीले चुरोट खान छाडेर त्यो रकम संकलन
गर्न थालेका छन् । बचत गर्न थालेको ३ वर्ष पुग्यो ।
द्वन्द्वका समयमा सुनसान पुस्तुनमा अहिले चहलपहल बढेको छ । गुरुङ समुदायको चौधखोलाअन्तर्गतको भीरपुस्तुन पुगेका बेलायती नागरिक डेरेक न्युटोनले भने, ‘नेपाल हेर्न गाउँ आउनुपर्ने रहेछ ।’ उनले बाहुनडाँडास्थित चन्द्रोदय उमाविमा स्वयंसेवक बनेर केही समय बिताए । बिस्तारै पर्यटक आउन थालेपछि गाउँका स्थानीय होमस्टे तयार पार्न तातिएका छन् ।
सभार : इकन्तिपुर डट् कम्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*