Latest News

एउटी ब्युटिसियनको कथा

ब्युटिसियन मीना गुरुङले ३१ वर्षअघि पोखरामा ब्युटिपार्लर खोलिन् । पोखराको रानीपौवास्थित आफ्नै घरमा उनले ‘हङकङ हर्बल ब्युटिपार्लर’ सञ्चालनमा ल्याएकी थिइन् । आफूले ब्युटिपार्लर खोल्दा अहिलेजस्तो जमाना नभएको उनी बताउँछिन् । ‘मैले ब्युटिपार्लर खोल्दा धेरैले मलाई ‘नक्कली’ को आरोप लगाए,’ उनले भनिन् ।आफूले पार्लर सुरु गर्दाताका ब्युटिसियन पेशालाई त्यति राम्रो नमानिने उनी बताउँछिन् । ‘पहिला महिलाहरू पछ्यौरीले मुख छोपेर ब्युटिपार्लरमा आउँथे,’ उनले भनिन्, ‘स्कुल र कलेजका विद्यार्थीबाहेक फाट्टफुट्ट मात्रै गृहिणी आउँथे ।’गुरुङ समुदायमा जन्मेकी मीनाको एसएलसी दिनेबित्तिकै लाहुरेसँग बिहे भयो । त्यतिबेला उनी १५ वर्षकी मात्रै थिइन् । बिहेपछि श्रीमान्सँग उनी हङकङ गइन् । श्रीमान् रिटायर्ड हुने समय भएपछि केही सीप सिकेर नेपाल फर्किनुपर्छ भन्ने उनलाई लाग्यो । मीनाले एक वर्ष हङकङमा ब्युटिसियन तालिम लिइन् । तालिमपछि केही समय अनुभवका लागि पार्लरमा स्वयंसेवी भएर काम गरिन् ।नेपाल फर्केपछि श्रीमान्को सल्लाहमा पोखरामा पार्लर खोलेको उनी बताउँछिन् । पार्लर खोल्दा धेरैले आफूबारे टीकाटिप्पणी गरेको उनी बताउँछिन् । ‘‘महिला बिगार्ने पेशा गर्ने’ भन्थे मलाई । तर, मैले हिम्मत हारिनँ,’ उनले भनिन्, ‘त्यतिखेर मलाई कुरा सुनाउनेहरू अहिले मेरा नियमित ग्राहक बनेका छन् ।’अहिले पोखराका अनुभवी ब्युटिसियनमा पर्छिन्, मीना । घरबाट सुरु भएको उनको पार्लर अहिले महेन्द्रपुलमा सरेको छ । थुपै्र महिला आफ्नो पार्लरमा तालिम लिन आउने उनी बताउँछिन् । ‘ब्युटिपार्लर चलाएर आत्मनिर्भर बन्न सकिन्छ । आफूलाई मात्रै होइन अरूलाई पनि रोजगारी दिन सकिन्छ,’ उनले भनिन् । उनको पार्लरमा १० जनाले रोजगारी पाएका छन् ।दक्ष ब्युटिसियन बन्न चाहनेलाई आफूले सक्दो सहयोग गर्ने उनी बताउँछिन् । आर्थिक स्थिति कमजोर भएका महिलालाई निःशुल्क प्रशिक्षण पनि उनले दिने गरेकी छिन् । ‘महिला सीप सिकेर आत्मनिर्भर भई भने कसैका सामु पैसाका लागि हात थाप्नुपर्दैन,’ उनले भनिन् ।

साभार्= नगरिक्न्युज डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*