Latest News

केयरसिंह गुरुङको बहुभाषिक शब्दकोष विमोचन

हुम तमु
पोखरा, ८ बैशाख
गुरुङ भाषा साहित्यमा कलम चलाईरहनुहुने लमजुङ कोम्रो(घाम्राङ)का केयरसिंह गुरुङद्धारा लिखित गुरुङ—नेपाली—अंग्रेजी बहुभाषिक शब्दकोष २०७४ शुक्रवार एक कार्यक्रका विच पोखरामा विमोचन गरिएको छ ।

पोखरा १२ माटेपानीस्थित हिमाली गुरुङ समाजघरमा आयोजित कार्यक्रममा आफ्ना गुरु, वरिष्ठ गीतकार, संगीतकार, गायक, संस्कृतिकर्मी, पुर्व प्रधानाध्यापक, तमु संसार त्रैमासिक पत्रिकाका प्रकाशक सम्पादक स्वर्गीय लोकबहादुर गुरुङको स्मृतिमा गुरुङद्धारा लिखित छैटौं पुस्तक ल्हे क्युई लोब छ्योए “गुरुङ—नेपाली—अंग्रेजी बहुभाषिक शब्दकोष २०७४” प्रमुख अतिथि पहार ट्रष्टका अध्यक्ष, समाजसेवी चन्द्रबहादुर गुरुङ, विशिष्ट अतिथि प्राज्ञ इन्द्रबहादुर गुरुङ, समाजसेवी विष्णुदेवी गुरुङ लगायतले विमोचन गर्नुभएको हो ।
प्रमुख अतिथि पाहार ट्र«ष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै लेखक केयरसिंह गुरुङले गुरुङ भाषा र नेपाली समाजलाई अमुल्य योगदान पुर्याउनुभएको भन्दै सम्मान व्यक्त गर्नुभयो ।
गुरुङ प्रज्ञा प्रतिष्ठान काठमाण्डौं प्रकाशक रहेको शब्दकोषका लेखक केयरसिंह गुरुङले गुरुङ भाषा सिक्न चाहनेका लागि सहयोगी बनोस् भनेर बहुभाषिक शब्दकोष प्रकाशन गरेको बताउनुहुदै पुस्तक प्रकाशनका विशेष सल्लाह सुझाव दिनुहुने भाषा विद् रत्नबहादुर गुरुङ, शिक्षाविद रत्नमान गुरुङ, पत्रकार खिम घले, लेखक डिबी गुरुङलाई विशेष धन्यवाद दिनुभयो ।
कार्यक्रममा प्रकाशित शब्दकोषको बारेमा विवेचना गर्नुहुदै लेखक गुरुङलाई बधाई ज्ञापन गर्नुभयो ।
प्राज्ञ इन्द्रबहादुर गुरुङले बैदेशिकताले भाषामा विकृति ल्याएको भन्नुहुदै शिक्षामा जोड दिन आग्रह गर्नुभयो।
समाजसेवी विष्णुमाया गुरुङले बहुभाषिक शब्दकोषले केबल गुरुङ जातिका लागि मात्रै नभएर सबैका लागि उपयोगी भएको बताउनुभयो ।
प्रमुख अतिथि चन्द्रबहादुर गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा मारय ट चलचित्रका निर्माता रक्षा गुरुङ, लमजुङ पोखरा सम्पर्क समितिका अध्यक्ष दिपक घिमिरे, लमजुङ पोखरा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम चिलुवाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

हिमाली गुरुङ परिवारका अध्यक्ष सुवेदार कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजसेवी विजुली बहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
लमजुङ भोजे घाम्राङस्थित सुर्योदय निमाविमा शिक्षण पेशामा रहनु भएका लेखक केयरसिंह गुरुङले यस अघि २०५३ सालमा नेपाली लेक कथा संग्रह, २०६२ सालमा तमु कविता संग्रह, २०६७ सालमा तमु जातिका केही साँस्कृतिक एवं ऐतिहासिक पक्षहरु, २०६९ सालमा तमु(गुरुङ) व्याकरण र अभिव्यक्ति पुस्तक प्रकाशित गरिसक्नुभएको छ।