Latest News

गणेश गुरुङहरू………. नाममा के छ ?

– गणेश राई

कार्तिक २०, २०७३- सेक्सपियरले उहिल्यै लेखेका थिए, नाममा के छ ? तर, नाम जुधेर हैरानी बेहोरेकाहरूलाई थाहा हुन्छ– जे छ, नाममा छ । व्यक्तिको नाम र थर एउटै हुनु संयोग हो । तर त्यही संयोगले कतिपय अवस्थामा ‘वियोग’ पनि निम्त्याउँछ । एउटाले संघर्ष गरेर प्राप्त गरेको उपलब्धि अर्कोको हातमा पर्न पनि सक्छ । अर्काले गरेको गल्तीको दोष आफूले बेहोर्नुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ । या भनौं नखाएको विष परिवेशले पिलाउँछ ।  नाम जुधेकै कारण राष्ट्रिय जीवन व्यतीत गरेका कतिपय व्यक्तिले नै खेपेका हैरानीका उदाहरण धेरै छन् । यहाँ गुरुङ जातिभित्र केही चिनिएका गणेश नामधारीहरूबारे चर्चा गरिएको छ । मुलुकको पूर्वदेखि पश्चिमसम्मका उनीहरू समवयी वा समकक्षी होइनन् । तर पनि नाम जुधेपछिका कथाका पोका प्रत्येकसँग छ ।

१. योजना आयोगका पूर्वसदस्य
डा. गणेश गुरुङ
डा. गणेश गुरुङ । पूरा नाम गणेशबहादुर गुरुङ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् उनी । समाज कल्याण परिषद्का पनि पूर्वउपाध्यक्ष । उच्चस्तरीय वैदेशिक रोजगार सुधार सुझाव कार्यदलका संयोजक पनि । स्याङ्जाको फेदीखोला–६ आक्राङ गाउँमा २०१२ मा जन्मिएका उनका पीता भारतीय सैनिक थिए ।

समाजशास्त्रमा विद्यावारिधि उनी वैदेशिक रोजगारविज्ञ हुन् । पछिल्लोपटक नेपालको वैदेशिक रोजगार नीति, ऐन, नियमावली र कार्यविधि उनकै पहलमा निर्माण भएको हो । हाल उनी परराष्ट्र मन्त्रालयअन्तर्गत परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका सदस्य छन् ।

नाम जुधेपछि हुने समस्याका भुक्तभोगी नै हुन् उनी । भन्छन्, ‘नाम मिल्दाका समस्या अनेक छन् । खाडी मुलुकमा माइग्रेसनसम्बन्धी अवलोकन गर्न जाने क्रममा एउटा घटना घट्यो । मैले बुक गरेको प्लेनको टिकटमा अर्कै गणेश गुरुङ गइसकेको पाएँ ।’

‘एकपटक मैले अनुसन्धान गरी लेखेको माइग्रेसनसम्बन्धी लेख ‘हिमालय रिभ्यु’ जर्नलमा छापियो । एक सिनियर विद्वान्ले कीर्तिपुरका गणेश गुरुङले राम्रोसित लेखेका छन् पढ भनिदिँदा आफैंलाई खल्लो अप्ठ्यारो महसुस भयो,’ उनी अर्को उदाहरण सुनाउँछन् ।

उनीसँग अर्को अनौठो संयोग पनि छ, ‘एकपटक एकजना जापनी अध्येता कुपोषणसम्बन्धी अनुसन्धान गर्न नेपाल आए । ती जापानी आउने बेलामा उनका निर्देशकले गणेश गुरुङलाई भेट र गाइड बनाऊ भनेर पठाएको रहेछ । आएर मलाई भेटेर गाइड गरिदिनुपर्‍यो भने । मैले पनि हुन्छ भनें । उसले उपहार ल्याएको रहेछ । मैले खोलें, चकलेट रहेछ । तर जब साथमा अर्कै गणेश गुरुङ रहेको पत्र फेला पर्‍यो, मैले सरी भनें । त्यतिखेर आधा मिठाई खाइसकेका थियौं । ऊ लाजले भुतुक्कै भयो । त्यससम्बन्धी मैले पनि काम गरेको थिएँ, त्यसैले झुक्किइयो । त्यसपछि ऊ गयो । एक महिनापछि त्यो मान्छे फेरि फर्केर आयो । र मलाई गाइड गरिदिनोस् भन्यो । मैले फिल्ड गाइडका रूपमा काम गर्दै गएँ । ऊ मबाट प्रभावित भयो । फर्किने बेलामा मलाई ‘उत्कृष्ट गाइड’ भन्यो । गलत ठाउँमा गए पनि राम्रो मान्छेलाई भेटें भनेर एउटा जोक सुनायो ।’

त्यसो त एकपकट यिनी नामकै कारण अप्ठ्यारोमा पनि परेका छन् । ‘एकजना गणेश गुरुङ नामका व्यक्तिले झोछेँमा ह्यासिस बेचेछ । त्यो कुरो मिडियामा आयो । भोलिपल्ट एकजना माथिल्लो तहका व्यक्तिलाई भेट्नु थियो । एकजना साथी लिएर पुगें । तर ती मान्छेले कोअपरेट गरेन । पछि आउनोस् भनेर टारे । मेरो साथीलाई त्यहीं छाडेर फर्किएँ । पछि त्यो साथीलाई सोधेछन्– ‘ह्यासिस बेन्चे मान्छे त्यही हो ?’ सायद मान्छेले त्यही कारण टाइटल (उपनाम) राख्ने गरेको होलान्,’ उनी सुनाउँछन् ।

‘मेरो जानकारीमा आएअनुसार ३० जनाभन्दा बढी गणेश गुरुङ छौं । त्यसैले मेरो इमेलमै राष्ट्रिय योजना आयोगका पूर्वसदस्य भनेर उल्लेख गर्दै आएको छु’ उनले उपाय लगाएका छन् ।

२. उपकुलपति
प्रा.डा. गणेशबहादुर गुरुङ
राष्ट्रिय चिकित्साशास्त्र विज्ञान प्रतिष्ठान (वीर अस्पताल) का उपकुलपति हुन्, प्राध्यापक डा. गणेशबहादुर गुरुङ । हाडजोर्नी विशेषज्ञ । ओखलढुंगाको रुम्जाटारमा २०१३ कात्तिक ९ मा जन्मिएका । छ दाजुभाइमध्ये कान्छो र एक मात्र पढेलेखेका । नपढेको भए सायद मासिँदै गएको भेडीगोठमा बितिरहेको हुन्थ्यो उनको जिन्दगी ।

दुई वर्षदेखि उपकुलपतिको जिम्मेवारीमा रहेका यिनी सुनाउँछन्, ‘गुरुङ गणेश नामका गुरुङ धेरै छौं । मचाहिं डाक्टर परें । नामकै कारणले कुनै दुर्घटना बेहोरेको छैन । तर, जब कसैले कोही ओहदा पाउँछ, त्यति बेलाचाहिं अर्कै रमाइलो छाउँछ । गणेशमान गुरुङ विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा मनोनीत हुनुभएछ । त्यतिखेर धेरैले मलाई बधाई दिए । म होइन भन्दा पनि पत्याएनन् । पत्रकार महासंघको अध्यक्षमा डा. महेन्द्र विष्ट निर्वाचित हुनुभयो । मैले उहाँलाई बधाई दिँदै म डाक्टर गणेशबहादुर गुरुङ भनें । उहाँले म दाइलाई चिन्छु भन्नुभयो । पछि उहाँसित कार्यक्रममा भेट हुँदा चिनाजानी गरें । मै हो तपाईंलाई बधाई दिने डाक्टर गणेश भन्दा उहाँ छक्क पर्नुभयो, उहाँले फोनमा चिन्छु भनेको गणेश गुरुङ म थिइनँ ।

३. पूर्वराजपरिषद् सदस्य
गणेशबहादुर गुरुङ
पूर्वराजपरिषद्का सदस्य गणेश गुरुङ अहिले चर्चामा छैनन् । चर्चा रहेकासँग नाम जुधेको कथा भने यिनको पनि छ । पर्वतको ठानामौलामा १९९५ कात्तिकमा जन्मिएका यिनले राजनीतिशास्त्रमा एमए पास गरेपछि त्रिभुवन विश्वविद्यालयमा शिक्षण यात्रा आरम्भ गरेका थिए । ०२६ सालदेखि ०५९ सालसम्म ३३ वर्ष त्रिविमा सेवा गरे । सहायक डिन र क्याम्पस प्रमुखका रूपमा १६ वर्ष काम गरे । राजा ज्ञानेन्द्र कालमा राजपरिषद् स्थायी समितिको सदस्य बने । अहिले उनी गण्डकी बोर्डिङ स्कुलका संस्थापक डा. डीपी चन्डी ट्रस्टको अध्यक्ष छन् ।

सुरुमा उनी आफ्नै नामाकरणको कथा सुनाउँछन्, ‘विगतमा ईश्वरको नाउँ राख्ने बढी प्रचलन थियो । त्यसैले मेरो नाम गणेश, बहिनीको नाउँ लक्ष्मी र भाइको कृष्ण राखिदिनुभयो । हिन्दु कर्मकाण्डमा गणेशको पूजा हुने हुँदा धेरैले राख्ने गरेको पाइन्छ ।’ त्यसपछि उनी लागे नाम जुधेपछिको कथा सुनाउन, ‘म सानो छँदा कसैको घरमा पाहुना भएर जाँदा उक्त घरकाले आफ्नै परिवारको सदस्य गणेशलाई बोलाउँथे, त्यतिबेला मैले हजुर भन्न पुग्दा धेरै पटक लज्जित भएको छु ।’ त्यसो त उनी अहिले पनि गणेश गुरुङ नामधारीहरूले कुनै नियुक्ति पाउँदा बधाइ पाउने गर्छन् । ‘गणेशमान गुरुङ लोकसेवा आयोगको सदस्य, अर्का गणेश गुरुङ समाज कल्याण परिषद्को उपाध्यक्ष हुँदा र त्रिवि कीर्तिपुरका चौकीदार गणेशबहादुर गुरुङले राष्ट्रिय शिक्षा पुरस्कार पाउँदा धेरै शुभेच्छुकहरूले मलाई टेलिफोनबाट बधाई दिए । मैले ‘म होइन’ भनेर स्पष्टीकरण दिनुपरेको थियो ।’

अझ चाखलाग्दो त, नाम र थर मात्र होइन ठेगाना पनि ठ्याक्क मिलेकाले कुनै प्रियसीले आफ्नो प्रियतमलाई पठाएको रोमान्टिक पत्र पढेका रहेछन् उनले । पूर्वराज्यमन्त्री गणेशबहादुर गुरुङलाई उहाँका मीतले पठाएको पत्र हुलाकीले मलाई थमाएको र पत्र खोली हेरेपछि मात्र थाहा भएको पनि उनी सुनाउँछन् ।

४. सांसद
गणेशमान गुरुङ
प्राध्यापक डा. गणेशमान गुरुङ दोस्रो संविधानसभाका सभासद र वर्तमान सांसद हुन् । त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक, लोक सेवा आयोगका पूर्वसदस्य, विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष पनि । उनले समाजशास्त्रमा विद्यावारिधि तथा अमेरिकाको कर्नेल युनिभर्सिटीबाट फुलब्राइट स्कलरसिपमा पोस्ट डक्टरल रिसर्च गरेका छन् । स्याङ्जाको पञ्चमूल–४ सिरुबारीमा २००५ असोजमा जन्मिएका हुन् उनी ।

सुरुमा उनको नाम पनि गणेशबहादुर नै थियो । तर शिक्षकले गणेमान बनाइदिएछन् । ‘उतिखेर गाउँमा इन्द्रचोकबाट मास्टर लैजाने चलन थियो । गुरु श्याममान श्रेष्ठ हुनुहुन्थ्यो, कडा स्वभावको । मेरो अक्षर राम्रो थियो । उहाँ पढ्नुपर्छ, बहादुर भएर लाहुरे जानु हुन्न भन्नुहुन्थ्यो । त्यसैले उहाँले स्कुलमा मेरो नाम गणेशमान बनाइदिनुभयो, उनी सुनाउँछन्,’ ‘तैपनि एसएलसी पास गरेपछि उनी साथीहरूसित पक्लिहवामा ब्रिटिस लाहुरे हुन नापिन गए । मलाई दसैंपछि आउनु भनेर कागज लेखेर दिएका थिए । घर आएपछि आमाले त्यो कागज च्यातिदिनुभयो । त्यसपछि लाहुरे बन्ने सपनाको त्यान्द्रो चुँडियो ।’

आफ्नो नाममा ‘मान’ भएकाले त्यत्ति धेरैसित नजुधेको उनी सुनाउँछन् । ‘पहिले पर्वत लाङ्दीका गणेशबहादुर गुरुङ मन्त्री हुनुभयो । उहाँ स्वर्गे भइसक्नुभयो । पृथ्वीनारायण क्याम्पसका डिन गणेशबहादुर गुरुङ राजपरिषद् सदस्य अहिले पनि हुनुहुन्छ । योजना आयोगका पूर्वसदस्य गणेश गुरुङ हुनुहुन्छ । मेरा भतिज गणेशमान गुरुङ पत्रकार छन् । नेता गणेश गुरुङ, समाजसेवामा संलग्न गणेश गुरुङहरू हुनुहुन्छ,’ उनी भन्छन्, ‘अरू बेलामा होइन, ल्होछार र अन्य अवसरमा हामी गणेश गुरुङहरूको भेट हुन्छ । अरूले गणेश गुरुङ नाम कति धेरै भन्छन् । एउटै नामले गर्दा मलाई असर परेको छैन ।’

५. क्याप्टेन
गणेश गुरुङ
पोखरामा सामाज सेवामा तल्लीन व्यक्तिको नाम हो– क्याप्टेन गणेश गुरुङ । पोखरास्थित खेलाङ गुरुङ समाजका अध्यक्ष छन् उनी । ब्रिटिस आर्मीबाट अवकाश प्राप्त क्याप्टेन उनको जन्म १९९९ जेठमा कास्कीको पाचे–३ खिलाङ गाउँमा भएको हो । गोर्खाली टिमका कप्तान उनले २३ वर्ष फुटबल खेले ।

आफ्नो नाममा राज्यको नीतिले हिन्दु परम्पराको प्रभाव परेको उनको भनाइ छ । उनको भने सेनामै रहेका अर्का गणेश गुरुङसँग नाम जुधेको थियो । ‘म १४ वर्षमा बोई भर्ती भएर पल्टनमा प्रवेश पाएको हुँ । पल्टनमा मभन्दा सिनियर क्याप्टेन गणेश गुरुङ हुनुहुन्थ्यो । उहाँलाई मामा भन्थें । संयोगले म पनि क्याप्टेन नै भएँ,’ उनी भन्छन्, ‘मानिसलाई चिन्ने नाम हो र त्योभन्दा काम महत्त्वपूर्ण हुने रहेछ । मेरो नाम राशिका धेरै गुरुङ हुनुहुन्छ । प्रख्यात गणेश गुरुङहरूप्रति मलाई गर्व छ ।’

६. पत्रकार
गणेशमान गुरुङ
नाम गणेशमान भएकै कारण बेलामौकामा बधाईका पात्र बन्ने अर्का पात्र हुन् पत्रकार गणेशमान गुरुङ । खासगरी सांसद गणेशमान गुरुङको पदोन्नतिको अवसरमा त्यसो हुनेरहेछ । ‘डाक्टरसाब नमस्कार, बधाई छ भनेर फोन आउँछ । म होइन भनेर सच्याउँदा हैरान । कतिले अर्का राजनीतिज्ञ गणेश गुरुङ भनेर पार्टीका कार्यकर्ताले अभिवादन गर्ने योजनासमेत सुनाउन भ्याउँछन्,’ सगरमाथा टेलिभिजनका समाचार सम्पादक गुरुङ भन्छन्, ‘त्यस्तो नराम्रै घटनाचाहिं भएको छैन । टेलिभिजन स्क्रिनमा देखिने भएपछि बढीले चिनेका छन् ।’ पत्रकार गुरुङ ४३ वर्षअघि पञ्चमुल–१ हेम्रोङ सिरुबारी, स्याङ्जामा जन्मिए हुन् ।
०००
यसअलावा कर्म र संघर्षबाट ख्याति कमाएका गणेश गुरुङहरू धेरै छन् । जसमा राजनीतिक नेता गणेशमान गुरुङ, चिकित्सक गणेश गुरुङ, गायक गणेश गुरुङ, मातृभाषी कवि गणेश गुरुङलगायत छन् । यो छोटो आलेखमा सबैलाई समेट्न सकिएको छैन ।

सभार: कान्तिपुर दैनिक