Latest News

गुरुङ चलचित्रका कलाकारको पारिश्रमिक

जनक श्रेष्ठ / लमजुङ

केही समयबाट गण्डकी क्षेत्रमा गुरुङ भाषाका चलचित्र निर्माणको क्रम बढेको छ । यससँगै गुरुङ सिनेमामा काम गर्ने कलाकारहरू पनि व्यावसायिक बन्दै गएका छन् । उनीहरूले फिल्मबाट राम्रो पारिश्रमिक लिन थालेका छन् । लमजुङमा जन्मेर ख्याति कमाएका गुरुङ फिल्मका कलाकारले आफ्नो पारिश्रमिकबारे राजधानीसँग खुलासा गरेका छन् ।

 

अभिनेता गमन घलेले प्रतिफिल्म कम्तीमा १ लाख र बढीमा २ लाखसम्म लिने गरेको बताएका छन् । २०५७ सालमा गुरुङ चलचित्र म्ही सै अर्थात् मान्छेको मनबाट अभिनय सुरु गर्दा १ हजार ६ सय रुपैयाँ पाएका उनी अहिले महँगा नायकका रूपमा चिनिन्छन् । पहिला कथावस्तु हेरेर चित्त बुझेपछि प्राविधिक पक्ष र निर्देशक हेरेर पारिश्रमिक छिनोफानो हुने गरेको घलेले बताए, ‘म यस क्षेत्रमा लागेको करिब १९ वर्ष भयो, ९ वर्ष यताबाट आफ्नो पारिश्रमिक प्रतिचलचित्र २ लाख रुपैयाँ तय गरेको छु ।’

घलेले आगे ठागु, ङै ङलोलगायत ३२ गुरुङ चलचित्रमा अभिनय गरीसकेका छन् । उनी अभिनित गुरुङ चलचित्र मनको बाबरी १० असारमा प्रदर्शन हुँदै छ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाका विष्णु गुरुङले प्रतिचलचित्र ५०÷६० हजार रुपैयाँ लिने गरेको बताए । २०६५ सालमा मिग्ली चलचित्रबाट अभिनय यात्रा सुरु गरेका उनले गुरुङ चलचित्र कर्म, मनको मान्छे, माया गर्नेलाई माया नमार, नबुझेको यो मन, कर्मको बाटो, नबिर्सने मायालगायतका गुरुङ चलचित्रमा अभिनय गरिसकेका छन् । पहिलाको तुलनामा आजकल फिल्मको कमाइले आफ्नो खर्च चल्न थालेको विष्णुले बताए ।

लमजुङ फलेनीकी अभिनेत्री उर्मिला गुरुङले २०७० सालमा गुरुङ चलचित्र आच्यो (कान्छा) बाट अभिनयमा लागेकी हुन् । उनले यो ४ वर्षमा क्योदे जुक, खै ओ म्हिथेबा, प्रे सोनालगायतका चलचित्रमा अभिनय गरेकी छन् । पारिश्रमिकबारे उर्मिलाले भनिन्, ‘गुरुङ फिल्मको बजार नेपाली फिल्मको जस्तो त छैन् तरपनि मेरो कमाइ ठिकै हुन्छ । एउटा गुरुङ चलचित्रबाट ५० देखि ६० कै हाराहारीमा पारिश्रमिक लिने गरेकी छु ।’ लमजुङको मस्र्याङ्दी गाउँपालिका स्याङ्जापु–५ की अस्मी गुरुङ २०६९ सालमा प्रसान्त तामाङ अभिनित नेपाली फिल्म ‘निसानी’बाट चलचित्र अभिनयमा उदाएकी हुन् ।

त्यसपछि गुरुङ चलचित्रमा व्यस्त बनेकी अस्मिताले पहिलो चलचित्रबाट २० हजार रुपैयाँ पारिश्रमिक पाएको खुलासा गरिन् । उनले मेरो सोल्टी, नबुझेको यो मन, भेडी गोठाले, कुटम्बरी साइनोलगायतका दर्जनौं गुरुङ फिल्ममा अभिनय गरिसकेकी छन् । उनको कुटम्बरी साइनो लमजुङमा यही २४ भदौबाट प्रदर्शन हुँदै छ । गुरुङ चलचित्रको बजार सानो भएकाले प्रतिचलचित्र ४०÷५० हजार रुपैयाँ पाउने गरेको अस्मीले बताइन् ।

लमजुङको दोर्दी गाउँपालिका पाचोकस्थित छैलुङकी खुसी गुरुङ पनि प्रतिचलचित्र बढीमा ५० हजारसम्म लिने गरेको बताउँछिन् । उनी अभिनित पहिलो गुरुङ चलचित्र मैं (पैसा) सफल भएपछि खुसी व्यस्त बनेकी हुन् । पारिश्रमिक माग्नेभन्दा पनि आफ्नो भाषा संस्कृति बचाउनलाई गुरुङ फिल्ममा काम गर्न पाउँदा आनन्द लाग्ने उनले बताइन् । सोही कारण पारिश्रमिक यति नै चाहिन्छ भनेर माग्नुभन्दा पनि प्रतिफिल्मबाट दिइने पारिश्रमिकबाट खुसी हुने गरेको यी अभिनत्रीको भनाइ छ ।

साभार : लोकप्रिय रासटि्य दैनिक राजधानी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*