Latest News

गुरुङ थातथलो पुग्दा यस्तो देखियो इतिहास

युनिश गुरुङ चैत १२

नेपालको पश्चिमी क्षेत्रको कास्की, लमजुङ, गोर्खा र अन्नपूर्ण हिमशृङ्खला आसपासका जिल्लाहरुमा बसोबास गर्ने जनजाति हुन् गुरुङ (तमु)। सन् २००१ को जनगणनाअनुसार यो जातिले नेपालको कुल जनसङख्याको २.३९% भाग छ। अहिले संसारभरी छरिएर बसे तापनि गुरुङहरुको आदिम थलो भने क्होला सोँथर मानिदै आएको छ ।

गुरुङहरुको धार्मिक ग्रन्थ ‘प्येताँ ल्हुताँ’ र केही इतिहासविदका अनुसार गुरुङहरु क्होला सोँथरभन्दा अगाडि मंगोलबाट बसाइ सर्दै आएको बुझिन्छ। पशुपालन, शिकार र खेतीपाती गरेर जीवन धान्ने यो जाति मंगोलबाट तिब्बतको ‘क टु’ हुँदै क्होला सोँथरमा बसाइँ सरेको कुरा डाक्टर हर्क गुरुङको पुस्तकमा उल्लेख छ। शिकार खेल्ने क्रममा क्होला सोँथर अाइपुगेको र सो ठाउँ खेतीपातीको लागि उपयुक्त भएकोले साउन १ गतेका दिन रोगव्याथा नलागोस् भनी सिठ्ठा बालेर क्होला सोँथरमा बसाइँ सरेको कुरा उक्त पुस्तकमा लेखिएको छ। अझै पनि गुरुङ समुदायमा साउन १ गते सिठ्ठा बालेर लुतो फाल्ने चलन यथावत छ। क्होला सोँथरमा गुरुङहरु कहिले आए भन्ने तिथिमिति थाहा नभएपनि करिब १२०० बर्ष अगाडि बसाइँ सरेको कुरा क्याम्ब्रिज युनिभर्सिटी बेलायत र नेपाल सरकारको अर्थोलोजी विभागको संयुक्त अनुसन्धान टोलीको ठम्याइ छ ।

 

क्होला सोँथर अर्थात क्होलः सोँप्रे कास्की जिल्लाको नामर्जुङ गाविसको लेकमा पर्छ। समुन्द्री सतहदेखि करिब ३२५० मीटरको उचाईमा रहेको यो ठाउँ सबैभन्दा छिटो कास्कीको ताङतिङवाट दुई दिनमा पुग्न सकिन्छ ।

अन्नपूर्ण हिमाल र लमजुङ हिमालको फेदमा अवस्थित क्होला सोँथरलाई तीन गाउँमा विभाजन गरिएको छ। घरका भग्नावशेषहरु खण्डहरको रुपमा परिणत भइसकेको उक्त थलोको दक्षिणी भेगमा अर्थात् सबैभन्दा तल मु क्होला अर्थात तल्लो क्होला, बीचमा पुँ क्होला र उपल्लो तु क्होला गरी सोँथर अर्थात सोँप्रे टोलमा विभाजित छ। सोँथरको अर्थ गुरुङ भाषामा तीन टोल भन्ने बुझिन्छ। मु क्होलामा झन्डै ८० घर छन्। त्यस्तै पुँ क्होलामा दुईवटा दरबारसहित २० वटा घर र उपल्लो तु क्होलामा ५० वटा घर छन् तर पछिल्लो समयमा राम्रो संरक्षण नहुँदा बाँकी रहेका घरका पर्खालहरु भत्किने क्रममा छन् ।

क्होला सोँथरको पश्चिमी भागमा केही घरहरुको अवशेष देख्न सकिन्छ जहाँ राजदरबार रहेको भन्ने बुझिन्छ र अझै पनि घोक हाल्ने (कटुवाल) ढुङ्गा, राजाको घोडा बाँध्ने खम्बा, घट्टा, ओखल आदिको भग्नावशेष देख्न सकिन्छ ।

तल्लो क्होलाको बीच भागमा २४ फिट चौडाइ र ६४ फिट लम्बाइ भएको पर्खाल सहितको भग्नावशेष छ र यसैलाई क्होला राज्यको छोंज धीँ अर्थात सभा घर भएको अनुमान गरिएको छ। छोंजधीँको आँगनमा करिब १ फिट अग्लो ढुङ्गाको खम्बा गाडिएको छ र यसलाई तत्कालीन घले राजाको घोडा बाध्ने ढुङ्गा हो भने विश्वास छ तर यस विषयमा पूर्व प्राज्ञ डाक्टर जगमान गुरुङले त्यो खम्बा क्होला राज्यको त्हो युमः अर्थात मौलो हो भनेका छन् ।

pokhra

 

क्होला सोँथरभन्दा माथि झन्डै २ घण्टा उकालो हिंडेपछि एउटा ओढार आँउछ। समुन्द्र सतहदेखि झन्डै ३८०० मिटर उचाईमा रहेको यस ओढारलाई च्योम्स्यो ङारा भनिन्छ। च्योम्स्यो ङारालाई तत्कालीन समयमा बौद्धमार्गी भिक्षुणीहरुले पुरुषको सामिप्यताबाट टाढा रही बौद्ध शिक्षाको आर्जन र तपस्या गर्ने स्थल मानिँदै आएको छ ।

 

लमजुङको घनपोखरा र कास्कीको ताङतिङको सीमानामा रहेको उक्त स्थान विभिन्न प्रकारका जनावरहरु बाघ, भालु, मृग, थार, कस्तुरी डाँफे-मुनाल पाइनुका साथै खुल्ला खर्क र चरन क्षेत्र रहेकाले हरेक वर्ष चरिचरनका लागि गोठहरु लगिने गरिन्छ। तिनै गोठालाहरुले यस स्थानको संरक्षण गर्दै आएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*