Latest News

गुरुङ भाषाको गीत इतिहासदेखि वर्तमानसम्म

             गीत आफैंमा मीठो र सुन्दर शब्द हो । गै धातुमा क्त प्रत्यय लागेर गीत शब्द बनेको छ । यो शब्द गीत संस्कृतिबाट आएको हो । शाब्दिक अर्थमा गीत भनेको शब्द, संगीत र स्वरको त्रिवेणी हो । गीतलाई संसारकै प्राचीन र लोकप्रिय विधा मानिन्छ । गीत लयात्मक भाव अभिव्यक्तिको साधन हो । गीत भावनाको अभिव्यक्ति हो । गीतमा एउटै भावाना र एउटै विचारको सटिक चित्रण हुन्छ । गीत भनेको शब्दहरुलाई धुनको सौन्दर्यले सिंगारिएको माला हो । संगीतबद्ध गरिएको रचना नै गीत हो । संगीतको सुमुधर लय वाद्ययन्त्रको उचित संयोजन अनि गायकको सुमधुर स्वरले गीतलाई जीवन्त बनाउँछ । गीत बनाउँदा ध्यान दिनुपर्ने कुराहरुः
सुस्वर सुरसं चैव मधुर मधुराक्षरम
सलांकारमं प्रमाणाच्य सरावृद्ध गीत लक्षमण् ।
१. असल स्वर र शुद्ध रुप
२. भक्ति रस, वीर रस, श्रृंगार रस, शान्ति रस
३. मनोहर सुन्दर उच्चारण
४. अर्थपूर्ण ५. छन्द र मात्रा
५. अलंकारले शोभायमान साथै काल र समयले बाँधिएको लययुक्त आदि ।
             माथि उल्लेख गरिएको ५ विधा गीतमा हुनुपर्ने लक्षणहरु हुन् । विभिन्न समयमा विभिन्न विद्वान्हरुले गीतलाई समयसापेक्ष परिभाषित गर्दै आएको छ । जस्तै ईनसाक्लोपिडिया अमेरिकन– संगीतसँग स्वरको समाञ्जस्य भएको वा गरिने शब्दहरुको लयबद्ध अभिव्यक्तिलाई गीत भनिन्छ । नेपाली शब्दकोष– शब्द आधारमा गाउनका निम्ति रचिएको लयात्मक सुललित  रचना गान नै गीत हो । संक्षेपमा शब्द रचनालाई लयबद्ध बनाएर गाउनु नै गीत हो । गीतको भित्रि संरचना बनावट अर्थात् निर्माणको प्रकृयाअनुसार गीतलाई चार भागमा बाँड्न सकिन्छ ।
१. स्थायी, २. अन्तरा, ३. सन्चारी, ४. अभोग । तर, अहिले स्थायी र अन्तरामात्रै चलन चलनचल्तीमा रहेको छ । स्थायी र अन्तरामै सबैपक्ष समेटिएको छ । अर्थात् आजकल गीत स्थायी र अन्तरामा नै समाप्त गरिएको हुन्छ । स्थायी–स्थायीले गीतको मूलभावलाई बताउनाले स्थायी भनेको हो । गीतमा स्थायी पटकपटक दोहोरिन्छ । यस्ले गीतको केन्द्रीय भाव व्यक्त गर्दछ । गीतको मूलकुरो बताउने हुनाले यसलाई मुखडा पनि भनिन्छ  ।
       अन्तरा–गीतको मूलभावलाई पुष्टि गर्न प्रयोग गरिने गीतको अरु अंशलाई अन्तरा भनिन्छ । सुरुमा स्थायीबाट सुरु गरिन्छ, बीचमा अन्तरा प्रयोग गरिन्छ अन्तिम चरणमा पनि स्थायी नै गाउँछ । यसरी गीतको मध्यभागमा गाउने भएकोले पनि यसलाई अन्तरा भनिएको हो । स्थायीलाई केन्द्रमा राखेर वरिपरि अन्तरा घुम्दछ । गीतको स्थायीलाई थप प्रस्ट र आकर्षक बनाउन अन्तरा प्रयोग गरिएको हो । गीत साह्रै लामो र साह्रै छोटा त्यति राम्रो मानिदैन । अधिकांश गीत १२ देखि ३० पंक्तिका हुन्छन् ।
      गीत आत्मपरता, सरलता, गेयता र संक्षिप्ततामा केन्द्रित हुनुपर्दछ । गीतको लागि अन्त्यानुप्रास गहना हो । यस्ले लालित्य र माधुर्य थप्ने काम गर्दछ । कोमलता, सरलता, मधुरता र ललिलता हुनु नै गीतको थप आकर्षण र सुन्दरता हो । तसर्थ गीत निर्माणमा शब्दको चयन र शब्दको सटिक प्रयोग हुनु जरुरी छ । भाषा, प्रवाहमय, मर्मस्पर्शी, मौलिक र नविन पनि हुनुपर्दछ । जसले गीतलाई जीवन दिन्छ, स्रोताको मनमस्तिष्क छुन सफल हुन्छ र गीत कर्णप्रिय र कालजयी बन्दछ । गीतमा प्रयोग गरिने धेरै जसो विषयप्रेममा नै केन्द्रित हुन्छ । प्रेम सबैले रुचाउने प्रिय विषय हो । यसमा वात्सल्य सेवा, त्याग र सर्मपण हुन्छ । प्रेमको नाममा कामुकता र उत्शृंखलता राम्रो मानिँदैन ।
      नेपाल सरकारको सूचिकृत गरेको, ५९ आदिवासी जनजातिहरुमा गुरुङहरु पनि पर्छन् । नेपालको पहिल्लो जनगणनाअनुसार गुरुङहरु पाँच लाख ५२ हजार ६ सय ४१ अर्थात् नेपालको कुल जनसंख्याको १.५५ प्रतिशत पर्न आउँछ । गुरुङ भाषा बोल्ने गुरुङहरुको संख्या ३ लाख २५ हजार ६ सय २२ अर्थात् ६२ प्रतिशत रहेको छ । गुरुङ अन्य जनजातिहरुभन्दा भाषा संस्कृतिमा धनी मानिन्छ । यद्यपि गुरुङ भाषा र संस्कृति दिनानुदिन कमजोर भइरहेको अवस्था छ । गुरुङ भाषा साहित्यको प्रसंग उठाउँदा धर्म गुरुहरुले वाचन गर्ने शास्त्रको स्लोक र स्तुतिहरुमा मात्रै सीमित रहने अवस्थामा पुग्न थालेको आभास हुन्छ । पच्ह्यु र घ्वाब्रे गुरुहरुले पढ्ने वेदको ऋचा अलावा पच्ह्यु र म्हिगी चोगाले मृत संस्कारमा गाउने ‘सेर्गा क्वे’ (सेर्गा गीत) र छ्याडु सेर्गा नाच्दा गाउने छ्याडु गीत जसलाई लमजुङमा छ्याडु क्वे, सेर्गा क्वे, पै क्वे, पै सेवा र जोरी माया क्वे (छ्याडु गीत, सेर्गा गीत, आर्गु गीत, आर्गु नाच्ने र जोरी माया गीत) पनि गाउँछ । गुरुङ भाषामा गाउने यो गुरुङहरुको पुरानो गीत हो । गुरुङहरुको जनैपूर्णिमामा दूधपोखरी नुहाउन जात्रा जाने पुरानो परम्परा छ । दूधपोखरी जात्रा जाँदा बाटोमा सारंगी नाच नाच्ने ‘ङयो क्वे’ (दूधपोखरीको गीत) गाउने चलन छ । सारंगी नाच र ङयो क्वे (दूधपोखरीको गीत) जसलाई आजकल पर्यावरण गीत पनि भनिन्छ । सबै गुरुङ भाषामा गाइन्छ ।
सारंगी गीत–
१. छुमा ऐ प्हे दे कमा ए टोवी न्होसी खना यामो ङोल्स्यो नानी छ्यावुले सै सै सै ।
२. चाँदी ए कुल्फी चोपाजे ङयोना ङयोना ङोल्स्यो नानी डाँडा थुयाजे सै सै सै
 छ्याडु (सेर्गा) गीत–
१. हा. हा. हा स्यारान प्रिदो लाला फ्रेर्मे स्यारान प्रिदो लाला फ्रेमै ।
      रोधी गुरुङहरुको गीत, संगीतको धरोहर हो । नयाँ–नयाँ गीत, संगीतको उद्गमस्थल पनि हो रोधी । डम्फु र मादलको तालमा ढिलो भाकाका गीतहरु सुनीमाया, यानीमाया गीतहरु गाउने गरेको बुढापाका सुनाउँछन् । पछि सालीज्यू (सालैज्यू), डाडो भाका र झ्याउरे छिटो छरितो गीतहरुले प्रवेश गरेको बुझिन्छ । वि.सं. १९०३ तिर जंगबहादुर राणाको पालामा लमजुङ्ग घनपोखराका माक्रम गुरुङले लंभरी भाकाको सालैजो र समूहमा नाच्ने कृष्ण चरित्र नृत्य सिर्जना गर्नुभएको कुरा वरिष्ठ गायक कृष्ण गुरुङले तमु संस्कार संघको स्मारिका २०६८ मा लेख्नु भएको छ । रोधीं गुरुङ गीत संगीतको पाठशाला हो, गीत संगीतको पवित्र मन्दिर हो । रोधींले गर्दा गुरुङ गीत, संगीत झाँगिन सक्यो, पुरानो गीतहरु पनि बाँच्न सक्यो ।
व्यक्तिविशेषले सिर्जना गरेको गुरुङ गीत ‘क्यु दे थुलेन दुख मन’ भन्ने गीत नै पहिलो गीत हो । जुन गीत २०१६ सालमा प्रकाशन गर्नुभएको रहेछ । उक्त गीत सामाजिक कुरीति, जुवातास, जाँड, रक्सी फजुल खर्च, अशिक्षाको विषयकेन्द्रित भएको देखिन्छ ।
        गीतको माध्यमबाट समाजको विसंगति कुरीति हटाउन गरिएको सुधारको आवाज थियो । २०२२ सालमा दोस्रो संस्करण प्रकाशन भएको थियो । यसैलाई विस्तारित रुपमा तमु युवा साँस्कृतिक परिवारले २०५८ सालमा प्रकाशन गरेको हो । क्यु दें थुले दुःख मन वर्षा मुलारी भन्ने गीतमा डाँफे कला मन्दिर पोखराले रेकर्ड गरे बजारमा ल्याएको हो । गुरुङ गीत, संगीतमा डाँफे कला मन्दिर पोखराको पनि ठूलो योगदान रहेको छ । २०४४ सालतिर धनबहादुर गुरुङको संगीतमा स्वर्गीय प्रवीण गुरुङको स्वरमा ‘बर्खा खजे त्होबा मजे चु खबर भोविदो’ भन्ने स्वं हर्कबहादुर गुरुङको गीत डाँफे कला मन्दिरको सौजन्यमा बजारमा आएको थियो । ‘चु गहना अखेदो रिमै’ भन्ने गीत पनि डाँफे कला मन्दिरले नै रेकर्ड गराएको गीत हो । २०५० सालतिर स्व. मिनबहादुर गुरुङले डाँफे कला मन्दिरबाट “स्योम्वै रहर” नामको गीति एल्बम निर्माण गरेको थियो । यस आलावा केही गुरुङ भाषी चलचित्र र गीति भिडियो पनि निर्माण गर्नुभएको थियो । रेडियो नेपालमा रेर्कड गराएर गाएको पहिलो गुरुङ गीत स्व. युक्तबहादुर गुरुङले गाउनुभएको “आसा मारा चुरोट थुबर खोसे ङोल्स्यो” हो ।
       २०३६ सालमा स्व.युक्त गुरुङले रेकर्ड गराएको यो गीत गुरुङ समुदायमा कर्णप्रिय र कालजयी भयो । लगत्तै “फलेक साघु बजार” भन्ने गीत पनि उहाँले नै गाउनुभयो । त्यतिबेला मातृभाषी गीत रेडियो नेपालमा रेकर्ड गराएर गाउनु त्यति सजिलो थिएन । यो नै गुरुङ गीतको लागि टर्निङ्ग पोइन्ट थियो । २०३८ सालमा रेडियो नेपालको पूmलबारी कार्यक्रममा “ङदे सैर मैसी अक्रोदो आमा ङ यामु देशरी” बोलको गीत गाएर कृष्णबहादुर गुरुङ गुरुङ गीत, संगीतको आकाशमा झुल्किए । २०४४ सालमा कृष्ण गुरुङले केही गुरुङ गीत रेकर्ड गराए । २०४५ सालमा “म्हया आसेद” नामको गुरुङ गीत एल्बम बजारमा ल्याउनुभयो संभवतः यो नै गुरुङ गीतको पहिलो एल्बम थियो । “मयाँ आसेद ओ” गीतको लगत्तै “ह«ामह«ानी ङोल्स्यो” नामको दोहोरी गीतको एल्बम बजारमा ल्याउनु भयो । यो एल्बम गुरुङ गाउँबस्तीमा सर्वाधिक लोकप्रिय भयो । गुरुङ गाउँबस्तीदेखि लिएर हङकङ सिंगापुरसम्मका सबै स्रोताले मन पराए । २०५२ सालमा स्व. धनबहादुर गुरुङको शब्द रचना रहेको तमु “ह्युल्सा गीत” (गुरुङ राष्ट्रिय गीत) “त्हनि दोले छल खाँजे” (घामजस्तै चम्किरहनु) भन्ने गीत कृष्णबहादुर गुरुङको संगीत र स्वरमा रेकर्ड गरिएको थियो । २०४६÷४७ तिर रोशन गुरुङको शब्द, संगीत र स्वरमा “अम्लेदो माया” (नर्बिस माया) भन्ने गीत बजारमा आएको थियो ।
        प्रजातन्त्रको बहालीसँगै देखिएको परिवर्तनले गुरुङ गीत, संगीतको क्षेत्रमा नयाँ आयाम थपियो । २०५३ सालमा काठमाडौंबाट ‘पाते’ फिल्म सार्वजनिक भयो । रोधींको व्यानरमा प्रितमले निर्माण गरेको पाते फिल्म नै पहिलो गुरुङ फिल्म थियो । यसमा कृष्णबहादुर गुरुङको ‘खो पाते ङि रोधींर कुवारी’ बोलको गीत रहेको थियो । शब्द, संगीत र स्वर सबै  कृष्णबहादुर गुरुङको रहेको उक्त गीत तमुहरुको जनजिब्रोमा झुन्डिन सफल भयो । यही क्रममा पोखराबाट ‘न्हाम्स्यो न्होरी’ नामको गुरुङ चलचित्रको निर्माण भयो । डाँफे कला मन्दिरले निर्माण गरेको उक्त चलचित्रमा ‘ङला नासा कों नुवा लिरी’, ‘चु नार्सावै सतुरई लसि’ र ‘मारा चांदी अचैदी हिरा मोती अचैदी’ गीतहरु स्व. लोकबहादुर गुरुङ र आशबहादुर गुरुङको शब्द रचनाको गीतमा धनबहादुर गुरुङको संगीत र स्वर आशबहादुर गुरुङ र विष्णु गुरुङको रहेको थियो । त्यहीबेला रेडियो नेपालबाट गुरुङ भाषामा समाचार प्रसारण हुन थाल्यो ।
       २०५० सालमा गुरुङ भाषामा समाचार वाचन गर्ने पहिलो व्यक्ति गोविन्द गुरुङ थिए । निजी क्षेत्रमा थुप्रै एफएम रेडियो र टेलिभिजन स्थापना भयो । मातृभाषी गीत र चलचित्र निर्माणको क्रम बढ्दै गयो । गुरुङ भाषी गीत, संगीत पनि झाँगिदै गयो । नेपालमा अहिले अरु मातृभाषीहरु भन्दा गुरुङ मातृभाषीमा धेरै चलचित्र निर्माण भइरहेको अवस्था छ । गुरुङ समुदायको लागि यो खुसीको अवस्था हो । जस्ले गर्दा गुरुङ भाषा, संस्कृति र भेषभूषाको संरक्षण र सम्वद्र्धन हुनुका साथै थुप्रै कलाकारहरुले आफ्नो कला प्रस्तुत् गर्ने अवसर पाएको छ भने स्रष्टा र सर्जकहरुले नयाँ–नयाँ सिर्जना गर्ने अवसर पाइरहेको छ । गुरुङ भाषी गीत, संगीत मौलाउने अवस्था रहेको छ । यसरी गुरुङ भाषामा धेरै चलचित्र निर्माण हुनु, धेरै गीत र गीतको भिज्युलहरु तयार हुनुमा यस क्षेत्रमा समर्पित सबै निर्देशक निर्माता, स्रष्टा, सर्जक साधक सबैलाई धन्यवाद दिनुपर्छ । हाम्रा स्रष्टा सर्जक, साधक र शुभेच्छकहरुको कारण गुरुङ गीत, संगीतको फाँट फराकिलो हुन गएको हो । हाम्रा गीत, संगीत गुरुङ समुदायको घेराभन्दा माथि उठेर गैरगुरुङ भाषीको जनजिब्रोमा पनि झुन्डिन सफल भएको छ ।
        आम युवायुवतीको मोबाइलको रिङटोन बन्न सफल भएको छ । यसरी गुरुङ समुदायले गुरुङ गीत, संगीतको सर्जक साधकहरुप्रति गर्व गर्नुपर्छ । गुरुङ गीत, संगीतको सर्जक र साधकहरुलाई साधुवाद भन्नै पर्छ । यहाँ स्व. लोकबहादुर गुरुङको नाम सम्झिनु पर्ने नाम हो । उहाँ गुरुङ गीत, संगीतको आकाशमा एउटा उज्ज्वल नक्षत्र हुनुहुन्थ्यो । जीवनपर्यन्त उहाँ गुरुङ गीत, संगीतको साधनामा लागिरहनु भयो । गुरुङ गीत, संगीतलाई नयाँ उचाई दिनुभयो । उहाँका गीतहरु सदावहार र कालजायी छन् । गुरुङ गीत, संगीतका पारखीहरु उहाँलाई एउटा कुशल सिल्पी भन्दछन् । गुरुङ गीत, संगीतमा पछिल्लोकालमा आशालाग्दा, भरोसालाग्दा धेरै स्रष्टा, सर्जक र साधकहरु उदाएका छन् । मुलुकभित्र र प्रवासमा पनि गुरुङ भाषामा चलचित्र निर्माण गर्ने, गीत लेख्ने, रेकर्ड गर्ने, भिज्युलाईज गर्ने थुप्रै कामहरु भइरहका छन् । आन्तरिक प्रतिस्पर्धा, रचनात्मक प्रतिस्पर्धा आफैंमा सुन्दर पक्ष हो । यस्ले साधक र सर्जकलाई सवल र सक्षम बनाउँछ । गुरुङ गीत, संगीतको अनुभव संगालेर नेपाली गीत, संगीत आकाशमा राम्रो पकड राख्ने हैसियत राख्न सक्छ । गुरुङ गीत, संगीत भाषा साहित्यको फाँट समृद्ध र सबल बनाउँछ । गुरुङ गीत, संगीतको इतिहासलाई हराभरा बनाउँदै यो अवस्थामा ल्याइपु¥याउन प्रथम कवि तथा गीतकार स्व. हर्कबहादुर गुरुङ, स्व. युक्त गुरुङ, स्व. लोकबहादुर गुरुङ र कृष्णबहादुर गुरुङलाई साथ सहयोग दिने अरु पनि थुप्रै स्रष्टा र सर्जकहरु छन् ।
        गीत लेखनमा रोशन गुरुङ, सुवास गुरुङ, सूर्य गुरुङ, चन्द्र गुरुङ, गणेश गुरुङ, वेदबहादुर गुरुङ (श्याम), एकेन्द्र गुरुङ, कृष्णकुमार गुरुङ, मनोज गुरुङ युके, मनोज गुरुङ, खुशबहादुर गुरुङ, धनबहादुर गुरुङ, आश गुरुङ, प्रेम गुरुङ, तेजेन्द्र गुरुङ, राजु गुरुङ, दुर्गा गुरुङ, नरजङ्ग गुरुङ, शंकर गुरुङ, गोविन्द गुरुङ । संगीतमा धनबहादुर गुरुङ, तेजेन्द्र गुरुङ, रोशन गुरुङ, राजु गुरुङ, दुर्गा गुरुङ, मनोज गुरुङ, कृष्णकुमार गुरुङ, खुशबहादुर गुरुङ, गणेश गुरुङ, नरजङ्ग गुरुङ, पदमराज गुरुङ, शंकर गुरुङ र गायनमा धनबहादुर गुरुङ, मनोज गुरुङ, गोविन गुरुङ, नरजङ्ग गुरुङ, गोविन्द गुरुङ, ओम गुरुङ, गणेश गुरुङ, ज्योति गुरुङ, शान्ति गुरुङ, मालती गुरुङ, प्रिय गुरुङ, कुशुम गुरुङ, तारा गुरुङ, आरके गुरुङ, दुर्गा गुरुङ, रघुराज गुरुङ, रिमा गुरुङ, शर्मिला गुरुङ, शंकर गुरुङ, अन्जना गुरुङ, सविना गुरुङ, स्व. देबु गुरुङ, इन्द्र गुरुङ, सिर्जना गुरुङ, सरुन गुरुङ साथै थुप्रै गीतकार, संगीतकार र गायिका गायकहरुको नाम छुटेको हुन सक्छ ।
        अहिले नेपाल र प्रवासमा पनि नयाँ स्रष्टा सर्जकहरुको थुप्रै गीत रेकर्ड गरेर बजारमा ल्याएको अवस्था छ । कतिपयको अभिलेख प्राप्त नभएर नाम छुट्न सक्छ । सबैको नाम उल्लेख गर्ने चाहना हुँदाहँुदै पनि छुट्न गएमा क्षमा चाहन्छु ।
नेपाली गीत, संगीतको बगैंचामा गुरुङ गीत एउटा सुन्दर पूmल हो । जुन ओइलिएर झरेमा बगैंचाको सुन्दरतामा कमी देखिन्छ । यसलाई मलजल गर्नु हामी सबैको कर्तव्य हो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अनुसार गुरुङ भाषा गीतको भाषा हो । गुरुङ भाषा सुन्दै सुन्दर मुलायम हुन्छ । गुरुङ भाषा आफैंमा सुलभता हुन्छ । त्यसैले गुरुङ गीत कर्णप्रिय र कालजयी हुन्छन् । किनभने गुरुङ गीतमा भञ्ज्याङ्ग र चौतारी बोल्छ, रोधींको माया र स्नेह छछल्किन्छ, मादल डम्पूm र खैचडी र माटोको सुवास भर्दछ ।
श्रोत सन्दर्भः
१. संगीत प्रेवाशिका सुब्बा, परशुराम भक्त माथेमा
२. लोक संस्कृतिको घेरामा लमजुङ्ग, जनकवि केशरी धर्मराज थापा
३. गीतकार यादव खरेल, देवीप्रसाद दाहाल
४. तमु कलाकार संघ, काठमाडौं, स्मारिका २०६८
५. तमु संसार त्रैमासिक, मंसीर–माघ २०७२
साभार : एभरेष्ट टाइम्स डटनेट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*