Latest News

गौरी तमुको समैं दर्वानी ( समयको दर्पण) मुक्तक संग्रह को लोकर्पण

पोखरा २४ भदौ ।

नेपालमै पहिलो पटक एक साथ गुरुङ र नेपाली भाषामा प्रकाशित मुक्तक संग्रह समै दर्वानी ( समयको दर्पण) को लोकार्पण गरिएको छ । साहित्यकार गौरी तमुको पहिलो मुक्तक संग्रह नेपाली र गुरुङ भाषामा प्रकाशित समै दर्वानी ( समयको दर्पण) लोकार्पण गरिएको हो । शनिवार मुक्तक मञ्च पोखराको आयोजनामा नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले मुक्तक संग्रहको लोकार्पण गरे ।

लोकार्पण समारोहमा सरुभक्त संगै, श्रष्टाका पिता टेक बहादुर गुरुङ र माता छलिमाया गुरुङ, प्राज्ञ हरिदेवी कोइराला लगायतले साथ दिएका थिए । सो अवसरमा वोल्दै नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले नेपाली र गुरुङ भाषामा १३५ मुक्तक समेटिएको कृतिको लोकार्पण गर्दै सरुभक्तले बहुभाषिक देश नेपालमा गौरीको प्रयासले नेपाली साहित्यमा ऐतिहासिक महत्व राख्ने दाबी गरे । गौरीको क्रियाशिलताबाट सबैले पाठ सिक्नुपर्ने बताउँदै सरुभक्तले गौरीको भाषिक समन्वयात्मक लेखनले नयाँ संविधानको मर्मअनुसार नेपाली समयलाई समन्वय गरेको बताए ।

कृतिको समीक्षा गर्दै मुक्तक मन्चका सल्लाहकार रुपिन्द्र प्रभावीले गौरीले मुक्तकमा गरेको प्रयोग अनुकरणीय भएको बताए । जीवनवादी र समाजवादी यथार्थमा आधारित मुक्तक लेखेर आफ्नो विशेष पहिचान जमाउन गौरीले सफलता प्राप्त गर्ने आशा गर्दै प्रभावीले पोखराबाट प्रकाशित समैँ दर्बानीले नेपाली मुक्तकका क्षेत्रमै विशेष महत्त्व राख्ने बताए । समयको दर्पण भन्ने अर्थ दिने ‘समैं दर्बानी’ले नेपालको पछिल्लो एक दशकको दर्पण उतारेको उनको भनाई छ ।

नवलपरासीमा जन्मेर साहित्य र सञ्चार क्षेत्रमा काम गरिसकेकी तमु हाल पोखरामा शिक्षणसँगै साहियित्क क्षेत्रमा क्रियाशील छन् । गुरुङ साहित्यिक मन्चकी अध्यक्ष तमु नारी साहित्य परिषद् र गजल सन्ध्यासँग आबद्ध छन् । नेपाल मुक्तक प्रतिष्ठान नेपालका महासचिव रमेश पौडेलले पोखरा मुक्तकका लागि अनुकरणीय भूमि भएको भन्दै गौरीले नेपाली समाजमा काम लाग्ने मुक्तक लेखेको बताए । उनले नेपाली मुक्तकले फड्को मार्दै गएको भन्दै पोखराले त्यसमा इतिहास कायम गरेको बताए ।

मुक्तककार गौरीले अबको लेखन परम्पराभन्दा भिन्न ढङ्गले अघि बढ्नुपर्ने विचारले कृति निकालेको भनाई राखे । भाषा, साहित्य, कला नै हाम्रो पहिचान भएको बताउँदै मुक्तककार तमुले आफूले आफ्नो मातृभाषाका केही शब्द मात्रै भए पनि नयाँ पुस्ताका लागि समर्पण गर्न पाउँदा गौरवबोध भएको बताए ।

मन्चकी अध्यक्ष सरला लामिछाने ‘सरु’को अध्यक्षतामा भएको कार्यव्रmममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, तमु धिँ नेपालकी अध्यक्ष कर्मा गुरुङ, स्रष्टाका पिता टेकबहादुर गुरुङ, नवप्रभात माविका प्रधानाध्यापक विजयराज भण्डारी लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन मन्चका उपाध्यक्ष प्रान्जलले गरेका थिए ।

साभार : हिमशिखर डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*