Latest News

जहाँ ढुंगाबाट तौल लिइन्छ

आश गुरुङ, कमागाउँ(लमजुङ)

भाद्र १९, २०७३- कुनै सामग्रीको तौल लिन तराजु र फलामको ढक आवश्यक पर्छ । ग्राम, किलोग्राम, क्वीन्टल, टन लगायत तौल भएका सामग्री फलामे ढकले नै जोखिन्छ ।

तर, यहाँ कुनै सामग्री वा वस्तु तौलन ग्राम, किलोग्रामको फलामे ढक नभई ढुंगा प्रयोग गरिन्छ । ढुंगालाई शेर र धार्नीको आधारमा जोख्ने (तौलने) गरिन्छ । यसको नापतौल ग्राम, किलोग्राम तथा क्वीन्टलसँग पटक्कै मेल खाँदैन । पछिल्लो समय यसलाई मिलाउन स्थानीयले एक धार्नीलाई मोटामोटी साढे २ किलोको रुपमा कायम गरेका छन् । ८ शेर बराबर एक धार्नी हुन्छ । एक किलोमा ३ शेर अलि बढी लाग्छ । शेर र धार्नीका लागि चाहिने ढुंगालाई स्थानीयले खोलाबाट ल्याउँछन् । मेल खाए सिधै प्रयोग गर्छन्, मेल नखाए यसलाई स–साना टुक्रा फुटाएर ‘साइज’ मा ल्याउँछन् ।

बजारको तराजुमा एकातर्फ फलामे ढक र अर्कोतिर सामान राखेर तौल लिइन्छ । स्थानीय पूर्णबहादुर गुरुङका अनुसार यहाँ सामान र ढुंगाको ढक एकै ठाउँमा राखेर अघिपछि पालैपालो तौलने गरिन्छ । यस प्रकारको सामग्रीलाई स्थानीय भाषमा ‘पारा’ भनिन्छ । उनका अनुसार एकहात लामो फलामे डण्डीको एकापट्टी डल्लो बनाइएको हुन्छ । अर्को छेउमा डोरी छिराउन मिल्ने प्वाल बनाइएको हुन्छ । त्यहाँ प्वालबाट डोरी छिराएर चोयाबाट निर्मित सानोआकारको डालाको छेउ ३/४ ठाउँमा दुलो बनाएर फलामे डण्डीको छेउमा बाँधिन्छ । प्वालतर्फ सानो आकारको डण्डीमा डोरी बाँधिएको हुन्छ । ‘पहिले सामानको तौल लिने क्रममा डोरीमा समातेर डण्डीलाई सिधा पारिन्छ’ स्थानीय हुमबहादुर गुरुङले भने, ‘त्यसपछि त्यही तौल बराबर ढुंगाका शेर वा धार्नी राखेर डोरी समातेर उचालिएको डण्डीलाई सिधा पारिन्छ । यसपछि सामान अनुसारको तौल आउँछ र यसको मुल्य निर्धारण हुन्छ ।’

सामानको मुल्य स्थानीयले आफूखुसी तोकेर पाइँदैन । शेर र धार्नीको नापतौलको मुल्य भदौमा गरिने ‘भदौ सभा’ ले कायम गरेको हुन्छ । यसका लागि स्थानीयले आफ्नै कानुन र नीतिनियम बनाउँछन् । नीतिनियम पालना गरे/नगरेको बारे धर्म समातेर (तामाको ताउलोमा राखिएको खुकुरीको धार समातेर खाने कसम) भदौ सभामा सवैसामु बक्नुपर्ने पूर्णबहादुरले बताए । उनका अनुसार भदौ सभाले शेर, धार्नी तथा मानापाथीको नापतौलको मुल्य कायम गर्छ । त्यही नियममा स्थानीय बर्षभरि बाँधिनुपर्छ । अर्को भदौबाट फेरि अर्को नीति नियम लागू हुन्छ ।

गतबर्षको भदौसभाले बनाएको नियम अनुसार कुखुराको मुल्य प्रतिशेर १५० रुपैयाँ छ । खसी धार्नीको ९ सय रुपैयाँ छ । ‘हिसावै गर्ने हो गाउँघरको तुलानामा शहरबजारमा एकधार्नी खसीको मासुको मुल्य २ हजार रुपैयाँ पर्न जान्छ । गाउँमा करीब ३ सय ७५ रुपैयाँमा एक किलो खसीको मासु आउँछ’ स्थानीय टेकबहादुर गुरुङले भने । राँगाको मासु प्रतिधार्नी ४ सय रुपैयाँ छ । धान, मकै, कोदोको प्रतिपाथी मुल्य १५० रुपैयाँ छ । एक पाथीमा ८ माना अट्छ । २० पाथी बराबर १ मुरी हुन्छ । एकपाथी अन्न बराबर ४ माना भट्ट लगायत दलहन खाद्यान्न कायम गरिएको छ । यसलाई पनि भदौ सभाले कायम गरेको स्थानीय बताउँछन् । यो नियम भुजुङ गाविसभरिका स्थानीयलाई लागू हुन्छ । रीतितिथि ब्यवस्थापन समितिको अयोजनामा बस्ने भदौ सभाले गाउँघरमा उत्पादित पदार्थ बाहिरी जिल्ला वा गाविसका वासिन्दाई विक्री गर्नु परेमा यसको पछि छुट्टै नियम बनाएको हुन्छ ।

कमागाउँका ८७ बर्षीय बीरलाल गुरुङका अनुसार तराजुको सट्टा स्थानीयले परापूर्व कालदेखि तराजुको सट्टा पारा र ढकको सट्टा ढुंगाको प्रयोग गर्दै आएका छन् । ‘बजारबाट ल्याइने सामग्रीको मुल्य उतैको हुन्छ । तौल पनि उतकै हुन्छ, हामीले जोखिरहनु परेन’ उनले भने, ‘यहाँ उत्पादन हुने सामानलाई जोख्न बजार लगेर भएन । त्यसैले यहीँको नापतौल कायम गरिएको हो ।’ बजारको सामानको भाउ सरकारले तोकेर पठाउने र आफ्नो गाउँको सामानको भाउ गाउँले सभाले तोक्ने गरेको उनले बताए ।

सभार : इकान्तिपुर डट् कम्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*