Latest News

तमुधिं यूकेको गरिब तथा जेहन्दार विधार्थी पढाउन च्यारिटी डिनर

लण्डन।

तमुधिं यूकेले गरिब तथा जेहन्दार तमु विधार्थी सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम गरेको छ। प्रत्येक बर्ष झैं यो बर्ष पनि गत २२ सेप्टेम्बर शनिबार साँझ तमुधिं भवन, मिचेटमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ च्यारिटी गरिएको हो। ‘उच्च शिक्षा हाम्रो लक्ष्य’ भन्ने महान पवित्र उदेश्यसहित बि.स. २०५८ मा पोखरामा स्थापित उक्त प्रतिष्ठानले गरिब तथा जेहन्दार तमु विधार्थीहरूको लागि छात्रबृति स्थापना गरि करिब १३ जिल्लामा आफ्नो अभियान फैलाएको छ। स्वदेश तथा विदेशका विभिन्न संघसंस्था र मनका धनी ब्यक्तिको सहयोगमा यो अभियान अघि बढिरहेको छ। विगत १५ बर्ष देखि तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरूङको अगुवाईमा तमुधिं यूके यस संस्थाको प्रमुख सहयोगदाताको रूपमा निकट भएर हातेमालो गर्दै अगाडि बढेको छ। तमुधिं यूके, केही परोपकारी संस्था र यूकेका केही दाताको सहयोगमा ७३ जना गरिब तथा जेहन्दार विधार्थीले शिक्षा पाइरहेका छन्। तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले महान अभियानमा निस्वार्थ भावनाले लागेका सामाजिक अभियन्ता, तमु साँस्कृतिक प्रतिष्ठानको सम्पूर्ण कार्यसमिति र सल्लाहकारहरूप्रति अाभार ब्यक्त गरे ।

तमुधिं यूके यो बर्ष १० जना विधार्थी स्पोन्सर गर्न सफल भएको जनाउंदै अध्यक्ष गुरुङले भने-‘तपाईं हाम्रो छोरा छोरीहरूले बेलायतमा क्यामब्रीज र अक्सफोर्ड युनिभर्सिटी पढिरहँदा लापा खादिङ जस्तो धेरै गाउँ नेपालमा छन् जहाँ नानीहरू उच्च शिक्षाबाट बन्चित छन् । अाउनुहोस् हातमा हात, काँधमा काँध गरेर शिक्षाको उज्यालोबाट बन्चित नानीहरूको जिवनमा केही परिवर्तन ल्याउन अाजैबाट लागि परौं । शिक्षाको बीउ रोपौं ।’ सबैको अथक प्रयासबाट हिमालय सरस्वती प्रा. वि. खादिङको नयाँ भवन निर्माण गर्न सकिएको पनि गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङले कार्यक्रम संयोजक सल्लाहकार हरि गुरूङ, परिकल्पनाकार संस्थापक अध्यक्ष मिनप्रसाद गुरूङ, सम्पूर्ण कार्यसमिति, खानामा सहयोग पुर्याउने सल्लाहकार एनअारएन युके पूर्व अध्यक्ष सूर्य गुरूङ, भिम गुरूङ गोर्खा किचेन र मेसिङ पकाउन मधत पुर्याउने श्री गुरूङ, भोज गुरूङ, तारा गुरूङ, टेक गुरूङ, चटनी र सेल रोटी बनाउने अामा समूह, मनोरन्जनमा सपन राई, रुवी गौली, कुमार गुरूङ, कृष्ण गुरूङ र रोहित गुरूङ, ब्यवस्थापक दिपक गुरूङ र जुमकाजी गुरूङ, सर्टिफिकेट र टिकट प्रिन्ट गर्ने सबिन्द्र कुमार र पूर्ण गुरूङ तथा फोटो पत्रकार गोरखा मिडियाका मिलन तमु, प्रतिष्ठानका सेक्रेटरी जेन तमु, सम्पूर्ण दाता र उपस्थित पाहुनालाई पनि धन्यवाद दिए । कार्यक्रमको सुरूमा तमुधिका अतिथि तमु मैताँकी प्रस्तोता पुनम गुरूङलाई संस्थाको तर्फबाट बिदाइ गरिएको थियो । उपस्थित दाताहरूलाई प्रमाणपत्र र खादाले समेत सम्मान गरियो। कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरूङको भिडियो सन्देश देखाइएको थियो।

साभार : विनेपाली डट्कम