Latest News

तमुधी दक्षिण कोरिया

रिता गुरुङ

“तमुमै ताँ” डट्कम

सन १९७४ मा नेपाल र दक्षिण कोरिया को दौत्य सम्बन्ध स्थापना भए पनि १९८० पछि मात्रै दक्षिण कोरियामा विविध पेशा र व्यव्साय को शिलशिलामा नेपाली हरु पुगेको पाइन्छ । नेपालीहरुको संख्या वृद्धि संगै  कोरियामा विभिन्न जातीय, क्षेत्रीय, धार्मिक, राजनीतिक सामाजिक संघ सस्थाहरु खुलेको पाइन्छ। सन १९९९ /१ /१० श्री सन्त मान गुरुङको अध्यक्षतामा कोरियाको राजधानी सौलमा “तमु एकता प्रचार प्रसार समिति ” नाम राखि गठन गरिएको थियो पछि सन २००२ /०२ /०२ देखि औपचारिक रूपमा आवस्यक विधि बिधानको तर्जुमा गरि “तमुधी दक्षिण कोरिया” राखिएको थियो । प्रवासमा आइपर्ने विविध समस्याहरुलाइ हातेमालो गर्दै समाधान गर्ने, तमु भाषा , कला, साहित्य, संस्कार, संस्कृतीको संरक्षन, सम्वर्धन गर्दै अन्तरास्ट्रिय स्तरमा चिनाउने , कोरिया र नेपालको मैत्री सम्वन्धलाइ जनस्तरमा विकास गर्ने, नेपालको आदिवासी समुदायहरुको हक अधिकार बारे सुचित गर्ने गराउने लगायत नेपाली हरुको बृहत्तर हितमा सहयोग पुग्ने गतिविधि संचालन गर्ने उद्देश्य राखेर स्थापना भएको यस संस्थाको मुल नारा “प्ये म्हस्या छ्या म्हमु, छ्या म्हस्या ल्हु मह्मु, ल्हु म्हस्या म्हि म्ह्मु” अर्थात ” शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृती हराउँछ, संस्कृती हराए जाति नै हराउँछ” रहेको छ। उल्लिखित उद्देश्यहरुको साथै तमुहरुको संस्कार संस्कृती झल्किने नेपालमा बनेको विभिन्न सार्वजनिक भवनहरुमा पनि तमुधी दक्षिण कोरियाले आर्थिक सहयोग उपलव्ध गराएको छ।
नेपाल तथा विश्व भर तमु जातिसंग सम्वन्धित तमु संघ संस्थाहरुसंग एक हितैषि सम्बन्ध रहेको यस सस्था तमुधी दक्षिण कोरिया भने आफैमा एक स्वायत्त जातिय संस्था हो। जातिय सस्था भई कन पनि यस संस्थाले कोरियामा रहेका सबै नेपाली समुदाय माझ आपसी सद्भाव , भाइचारा र सहिष्णुता साथ अगाडि बढीरहेकोले तमुधि दक्षिण कोरिया एक सशक्त सामाजिक संस्था पनि हो। वर्तमान ७ औ कार्यसमितिका अध्यक्ष श्री प्रदिप गुरुङ ज्युको नेतृत्वमा १५ सदस्यीय कार्यसमितिहरु
१ – अध्यक्ष – श्री प्रदिप गुरुङ
२ – वरिष्ठ उपाध्यक्ष – श्री प्रितम गुरुङ
३ – उपाध्यक्ष – श्रीमती रिता गुरुङ
४ – महासचिब – श्री श्रीराम गुरुङ
५ – संगठन सचिब – श्री सुनिल गुरुङ
६ – प्रचार प्रसार कार्यालय सचिब – श्री हिमांशु गुरुङ
७ – कोषाध्यक्ष – श्रीमती अनु गुरुङ
८ – सहकोषाध्यक्ष – श्रीमती ममिता गुरुङ
सदस्यहरु : टोप गुरुङ
कृष्ण गुरुङ
देवी गुरुङ
रामकाजी गुरुङ
बिनोद गुरुङ
रोजन गुरुङ  
तथा श्री गुप्त गुरुङज्युको नेतृत्वमा रहेको सल्लाहकार समिति सहित हाल यस संस्था तमुधी दक्षिण कोरिया क्रियाशिल रहेको छ। नेपाल बाट मात्रै नभै संसारको जुनसुकै भु-भाग बाट कोरियामा आई जिवनयापन गरिरह्नु भएका तमुहरु यस संस्था मा सहजै आवद्ध हुन सक्ने प्रावधान संस्थाको विधान मै व्यवस्था गरिएको छ। तमुधी दक्षिण कोरियाले स्थापना काल देखि नै आफ्नो उद्देश्य अनुरुप कोरिया तथा नेपालमा समेत विविध सामाजिक कार्यहरु गर्दै आएको छ। कोरियामा नेपाली दूतावास स्थापना हुनु अघि सम्म पासपोर्ट नविकरन तथा अन्य कागजात प्रमाणिकरणको कार्यहरुको लागि तमुधिले जापानस्थित नेपाली राजदुतावास तथा आवश्यक परे नेपालको परराष्ट्र मन्त्रालयसंग समेत सम्पर्क गरि कोरियामा रहेका नेपालीहरुलाइ सेवा प्रदान गर्दथ्यो। आफ्नो मौलिक पर्व तमु ल्होछार (गुरुङ नया वर्ष) हरेक साल जनवरी को पहिलो आइतबार कोरियामा रहेका आम नेपालीहरुबिच मनाउँदै आइरहेको छ। यसै गरि तमु समुदायको मौलिक पर्वहरु स्यो कै, रि च्हमि कै तमुहरु एक आपसमा भेला भै हर्ष उल्लासका साथ मनाउँदै आइरहेको छ।
आफ्नो चाड पर्व को अतिरिक्त यहाका तमुहरु अन्य समुदायले मनाउने नेपाली पर्वहरु साकेला, तोरन्ला, माघेसक्रान्ती, सोनाम ल्होछार आदिमा समेत उत्साहका साथ सहभागी हुन्छन। यसले हामीमा आपसी सद्भाव, सहिष्णुता र सह अस्तित्वको संदेश दिने गर्दछ। तमुधी दक्षिण कोरियाले करिव २२ लाख रुपैयाँको लागतमा काठमाडौं को जोरपाटी स्थित जङ्बु डाँडाँमा आधुनिक शवदाह गृह निर्माण गरि हाल संचालनमा रहेको छ। नमोवुद्द तमु सेवा समिति सुकेधारा, काठमाडौंका अध्यक्ष श्री कृष्ण गुरुङको सम्योजकत्वमा एक संचालन समिती निर्माण गरि सो भवन संचालन भैरहेको छ। यसै गरि तमु ह्युला छोज धि गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय कार्यालयमा रहेको तमु सङ्रहालय निर्माणको लागि रु. ३,००,०००(रुपैया तीन लाख) सहयोग प्रदान गरेको छ। यसको अतिरिक्त विभिन्न समयमा नेपालमा प्राणघातक (क्यान्सर,मृगौला फेल) रोग लागि उपचार गर्न असक्तहरुलाइ अभियान चलाइ उपचार सहयोग प्रदान गरेको छ भने कोरियामा मृत्युु भएका मृतकको परिवारलाई पनि तमुधी दक्षिण कोरियाले राहत उपलब्ध गराएको छ।
कोरियामा दिन प्रती दिन बढीरहेको नेपालीहरुको मृत्यु दरका कारण यस्तो राहत सबैलाइ पुर्याउन असमर्थ रहेकोमा भने तमुधी लाई दु:खको अनुभुति हुने गर्छ। तमुधी दक्षिण कोरियाले नेपाली गीत संगीतलाई प्रवासमा प्रवर्द्धन गर्दै सन २००७ मा “रोधी सांगीतिक सौगात भाग १” सन २०१० मा ” नेपथ्य लाइभ कन्सर्ट रोधी सांगीतिक सौगात भाग २” र सन २०१४ मा “कर्म ब्याण्ड लाइभ कन्सर्ट रोधी सांगीतिक सौगात भाग ३ ” पनि आयोजना गरेको थियो। खेलकुद मार्फत व्यक्तित्व विकास तथा भाइचारा अभिबृद्दी गर्ने उद्देश्य राख्दै यसै वर्षको गत अप्रिल ९ मा “स्व.डा.हर्क गुरुङ स्मृति कप भलिबल प्रतियोगिता २०१७ “सफलता पुर्वक सम्पन्न भएको थियो । कोरियामा रहेका तमुहरु तथा नेपालीहरुलाई आपत बिपत परेको बेला, बेरोजगार भएको बेला, बिरामी भएको बेला निशुल्क खान बस्न सहितको आवासगृह (shelter ) सौलको योङ्दाप स्टेशन नजिक तमुधिले सन्चालन गरिरहेको छ।
त्यसै गरि तमुधीले नेपाल तथा अन्य मुलुकबाट विभिन्न शिलशिलामा कोरिया आएका लब्ध प्रतिनिधी तमुहरुसंग भेटघाट, स्वागत सम्मान एवम अन्तर्कृया गर्दै अनुभव आदन प्रदान को साथै विभिन्न सर सल्लाह सहित सुझाव लिने गर्दछौ । तमुधी दक्षिण कोरियाले सन २०१४ देखि आपतकालीन राहत कोष पनि संचालन गर्दै आइरहेको छ। संस्था को कुनै सदस्य या कोरियामा कार्यरत नेपालीहरुलाइ कुनै भव्यत्व्य आइपरी अपत्कालिन अवस्थामा सहयोग जुटाउनु पर्ने भए यस कोषबाट seed money राखी सहयोग संकलन गरिन्छ। तमुधी दक्षिण कोरियाले आफ्नो वार्षिक कार्ययोजना अनुसार तमु तथा नेपाली विभिन्न मितिमा तमु तथा नेपाली भाषा, कला, साहित्य र संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्य राखी तमु भाषा र नेपाली भाषाको चलचित्र पनि कोरियामा प्रदर्शन गर्दै आइरहेको छ।

जस अनुसार २०१४ मा नेपाली चलचित्र छ एकान छ, २०१५ मा तमु चलचित्र नकइ फू, २०१६ मा तमु चलचित्र फ्रीसी, युम्पो देउराली २०१६ मा नेपाली चलचित्र झुम्कि रहेको छ। यसरी चलचित्र प्रदर्शनी मार्फत प्राप्त मुनाफा विभित्र सामाजिक कार्यहरुमा खर्च गर्दै आइरहेको छ। हरेक वर्ष सौलमा आयोजना हुने Lotus Lalteen Festival मा तमुधी दक्षिण कोरियाका प्रतिनिधिहरु आफ्नो परंपरागत सांस्कृतिक झाक्क्री सहित सहभागी हुने गर्छन। सन २०१३ मा लुम्बिनी बाट कोरिया भित्र्याइएको शान्ति दीप पदयात्राको आयोजन तथा संयोजनकारी भुमिकामा तमुधी दक्षिण कोरिया पनि रहेको थियो। जसको प्रभाव स्वरुप दक्षिण कोरियामा भगवान वुद्धको जन्म भुमी बारे रहेको भ्रम निवारण भै यहाँको सबै पाठ्यसामग्रीहरुमा संसोधन भई भगवान वुद्धको जन्म भुमी नेपाल हो भन्ने तथ्य स्थापित गर्न सफल भएको छ।
तमुधी दक्षिण कोरियाले यहाँका विभिन्न संघ संस्थाहरुसंग विभिन्न समय सान्दर्भिक कार्यक्रमहरु, अभियानहरुमा पनि सहभागी हुँदै आएको छ। तमुधी दक्षिण पुर्ण रुपमा सामाजिक र जातिय संस्था भए पनि हाम्रो जन्मभुमी नेपालमा भैरहने विविध राजनितीक उतारचढावहरुलाइ पनि नजिक बाट नियाल्ने गर्दछ। कोरिया र नेपाल को पुर्ण सार्वभौम सत्ताको सम्मान गर्दै हाल संघीय गणतन्त्र नेपालको सम्विधान २०७२ ले प्रत्याभुत गरेको संघीयता,धर्म निरपेक्षता, समानता, समावेशी को उच्च सम्मान गर्दछ। विविध जात, जाति, भाषा, भासी, सस्कृतिको पहिचान स्थापित होस भन्ने अभिप्रायका साथ नेपालको एक प्रमुख आदिवासी जनजाति तमुहरुको पनि छुट्टै स्वायत्त तमुवान प्रदेशको स्थापनाको लागि पनि तमुधी दक्षिण कोरिया चासो राख्दछ। यसको साथै तमुधी दक्षिण कोरियामा आवद्ध तमुहरु यहाको विभिन्न संघ सस्थाहरु नेपाल आदिवासी जनजाति महासङ, नेपाल पत्रकार महासंघ , एन आर एन, एनसिसि, फोनिज कोरिया, नेपाल वौद्ध परिवार, राजनीतिक संगठन तथा विभिन्न क्षेत्रीय संस्थाहरुमा समेत रही कार्यकारी भुमिका निर्वाह गर्दै दक्षिण कोरियामा तमुहरुको छुट्टै पहिचान निर्माण गरिरहेका छन। प्रवासमा रहेर पनि तमुधी दक्षिण कोरियाले यसरी समग्र तमु समुदाय तथा बृहत् नेपाली समुदायको हितको खातिर निरन्तर अगाडी बढीरहेको छ। 

महासचिब – श्री श्रीराम गुरुङ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*