Latest News

तमु आमाहरुलाई कौसी खेतीबारे प्रशिक्षण

हुम तमु

पोखरा, १० फागुन

तमु धिं नेपाल आमा केन्द्रीय समितिले मंगलवार तमु आमाहरुलाई कौसी खेतीबारे प्रशिक्षण दिएको छ ।

आमा समितिको प्रत्येक महिनाको १० गते प्रदान गर्दै आएको विभिन्न तालिमहरु मध्ये पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा कृषि विशेषज्ञ बेदकुमार श्रेष्ठले कौसी खेतीबारे विभिन्न क्षेत्रीय तमु समाजहरुका तमु  आमाहरुलाई प्रशिक्षण दिनुभएको हो ।

तालिमकै क्रममा उहाँले पौष्टिक एवं सन्तुलित आहार, कम्पोष्ट मल बनाउने विधि र कौसी खेतीका बारे प्रशिक्षण दिनुहुदै जाँगर भए कौसी र ढलान माथि नै अर्गानिक खेती गरेर आत्मनिर्भर हुनसक्ने बताउनुभयो । हामीसँग समय र खेती गर्ने स्थान भए पनि खेतीको विधीबारे ज्ञान नहुदा र इच्छा शक्तिको अभावले  सदुपयोग गर्न सकिने जग्गा, कौसी र ढलानहरुको उपयोग हुन नसकेको बताउनुभयो ।

समाजमा परिवर्तन ल्याउनका लागि आामा जुट्नुपर्दछ भन्नुहुदै पौष्टिक एवं सन्तुलित आहार, कौसीको खेतीको बारेमा आमाहरुले जाँगर चलाउनुपर्ने उहाँको आग्रह थियो ।

कार्यक्रममा सिद्धार्थ तमु समाज आमा समितिकी अध्यक्ष मोहनमाया गुरुङ र याङजाकोट तमु समाज आमा समितिकी आसकासी गुरुङले तालिम अत्यन्तै फलदायी भएको भन्दै सिकेका ज्ञान आफुल व्यवहारमा प्रयोग गर्ने र समाजका सदस्यहरुलाई पनि सिकाउने बताउनुभयो ।

उक्त कार्यक्रममा तमु धिं नेपालकी प्रथम उपाध्यक्ष तथा आमा समितिकी सल्लाहकार सरस्वती गुरुङ नेपाल पत्रकार महासंघको केन्द्रीय सभासदमा सर्वाधिक मतका साथ निर्वाचित भएको भन्दै सम्मान गरिएको थियो भने पत्रकार मनोज घर्तीमगर कास्की शाखाको कार्यसमिति सदस्यमा निर्वाचित भएकोमा सम्मानका साथ बधाई ज्ञापन गरिएको थियो ।

यसरी नै प्रशिक्षक बेदकुमार श्रेष्ठलाई तमु धिं नेपालका द्धितिय उपाध्यक्ष तथा आमा समितिका सल्लाहकार हुमबहादुर तमु, आमा समितिकी अध्यक्ष हरिमाया गुरुङले दोसल्ला, मालाका साथ मायाको चिनो प्रदान गर्दै धन्यवाद व्यक्र गरिएको थियो ।

आमा समितिकी अध्यक्ष हरिमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पञ्चकुमारी गुरुङले स्वागत र सचिव बिना गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।