Latest News

तमु धिं नेपालमा कानुनी सचेतना कानुनी अज्ञानताले जनजातिहरुले कारवाही भोग्नु परेको

हुम तमु
पोखरा, २२ भदौं
भदौं १ गतेदेखि लागु भएको मुलुकी फौजदारी(संहिता)ऐन र मुलुकी देवानी(संहिता) ऐन २०७४ का बारेमा तमु धिं नेपालले कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
तमु समुदायको पुरानो सामाजिक संस्था तमु धिं नेपालले पोखरा ९ नयाँबजारस्थित आफ्नै सभाहलमा तमु लगायत आदिवासी जनजातिहरुलाई कानुनी सचेतना कार्यक्रम गरेको हो। नयाँ ऐन लागु भइसके पनि आम नागरिकलाई ऐनबारे जानकारी समेत नभइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व महसुस गर्दै तमु धिं नेपालले आफ्ना सदस्यहरुलाई मात्रै नभई आदिवासी जनजातिहरुलाई समेत समेटेर सचेतना कार्यक्रम गरिएको तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले बताउनुभयो। 
कार्यक्रममा तमु धिं नेपालका सल्लाहकार समेत रहनुभएका बरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले मुलुकी फौजदारी(संहिता)ऐन २०७४ र तमु धिं नेपालकी सचिव जुनाकुमारी गुरुङले मुलुकी देवानी(संहिता) ऐन २०७४ मा उल्लेख कानुनी प्रावधानबारेमा प्रस्तुती राख्नुभएको थियो।प्रस्तोताद्वयले मुलुकी ऐन २०२० र भदौ १ गतेदेखि लागु भएको मुलुकी फौजदारी र मुलुकी देवानी(संहिता)ऐन २०७४ को तुलनात्मक प्रस्तुती गर्नुभएको थियो। अन्तरक्रियात्मक सचेतनामुलक कार्यक्रममा सहभागीहरुलाई प्रस्तोताहरुलाई विभिन्न व्यवहारिक र कानुनी जिज्ञासाहरु राखेका थिए। 
उहाँहरुले कानुनी सचेतनाको अभावले तमु लगायत आदिवासी जनजातिहरु कानुनी कारवाही भोग्दै आउनु परेकाले ऐन कानुनको अध्ययन जरुरी रहेको बताउनुभयो। कानुनीे अज्ञानताले आदिवासी जनजातिहरु प्रहरी प्रसासन र कानुनी कारवाहीमा परेको छ, कारागारको बास हुनुपरेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो। तमु धिंले कानुनी सचेतना कार्यक्रम आयोजना गरी तमु धिंले अत्यन्त जिम्मेवार संस्थाको पहिचान दिएको उहाँहरुको प्रसंसा थियो। 
उच्च अदालत पोखराको नागरिक समन्वयको संयोजक समेत रहनु भएकी तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले कानुनी ज्ञानको अभावले तमु लगायत आदिवासी जनजातिहरु विभिन्न समस्यामा पर्दै आएकाले तमु धिं नेपालले कानुनी सचेतना कार्यक्रम आयोजना गरेको बताउनुभयो।नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने ऐन कानुन कार्यन्वयन आउनु अघि नै राज्यको तर्फबाट सचेतना अभियान संचालन गर्नु पर्नेमा त्यसो नगरी राज्य गैर जिम्मेवार बनेको हो कि भन्दै तमु धिंले सामाजिक दायित्व बोध गर्दै सचेतना कार्यक्रम गरेको उहाँको भनाई थियो।पहिचान र अधिकारका आन्दोलनमा रहेका आदिवासी जनजातिहरुको एकता र सचेतनाबाटै हकाधिकार स्थापित गर्न सकिने भन्दै भदौं २९ गते पोखरामा आयोजित करबृद्धि विरुद्धको प्रदर्शनमा सबेको सहभागीताका लागि आव्हान गर्नुभयो। 
स्वागत मन्तव्य व्यक्त गर्नुहुदै तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङले कानुनी अज्ञानता क्षम्य नहुने भएकाले फौजदारी र देवानी संहितामा भएको व्यवस्था बारे सचेत गराउन कार्यक्रम तय गरिएको बताउनुभयो। धर्म निरपेक्ष मुलुकमा गाईसँग जोडेर कानुन बनाउने, प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने र चिकित्सकहरुलाइ त्रसित बनाउने गरी एने आएको भन्दै नेपाल आदिवासी जनजातिहरु, पत्रकारहरु र चिकित्सकहरु आन्दोलित रहेको समेत उहाँले जानकारी दिनुभयो। ऐन कानुनबारे अब समाज समाजमा चेतना अभियान संचालन गर्नुपर्ने उहाँको सुझाव थियो।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षता र सहसचिव दुर्गाबहादुर गुरुङले संचालन गर्नुभएको कार्यक्रममा बृहत सहभागीता रहेको थियो।