Latest News

तमू सार्क सम्मेलन सम्पन्न (घोषणापत्र सहित)

धरान । ८ कार्तिक , २०७३

गुरुङ समुदायको  सामाजिक सांस्कृतिक संस्था तमु ह्युल छोंज धीं राष्ट्रिय परिषद् केन्द्रीय समितिद्वारा आयोजित ऐतिहासिक रुपमा भएको प्रथम तमू सार्क सम्मेलनले सार्क स्तरीय तमू मञ्च गठन गर्ने प्रतिवद्धता जनाएको छ । तमू (गुरुङ) समुदायको हकहितका निम्ति सबै तमूहरु एकताबद्ध गर्दै एकापसमा भाइचाराको सम्वन्ध विकासका निम्ति सार्क स्तरीय तमू मञ्च गठन गर्ने घोषणा गरेको छ ।  सम्मेलनबाट तमू (गुरुङ) सार्क मञ्च गठन गर्दै सम्मेलनमा सहभागी देशहरु नेपाल, भारत र भुटानबाट २÷२ जना रहने गरी समन्वय समिति गठन गर्ने घोषणा गरेको छ ।tamu-saarc-6

सम्मेलन सम्पन्न गर्दै जारी गरेको घोषणापत्रमा भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका तमू समुदायको अधिकारका लागि एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धतासमेत गरिएको छ । नेपालमा तमूहरुले गर्दै आएको तमूवान प्राप्तिको आन्दोलनमा सार्क सम्मेलनले पनि एक्येवद्धता जनाएको छ ।tamu-saarc

यसैगरी प्रथम तमु सार्क सम्मेलन उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले ‘नेपालमा आदिवासी जनजाति पहुँच र अधिकारका लागि लामो समयदेखि संघर्षरत छन् । परिवर्तनकारी आन्दोलनमा आदिवासी जनजाति समुदायको ठूलो योगदान छ ’ नेपालमा बस्ने सबै जातजातिको मौलिक पहिचान नै राष्ट्रको पहिचान भएको बताएका छन् । tamu-saarc-7

उपराष्ट्रपति पुनले नेपाल बहुजाति, बहुभाषी, बहुधर्मी र बहुसंस्कृतिको मुलुक भएकाले एकले अर्काको पहिचान र अस्तित्व स्विकारे राष्ट्रिय एकतामा बल पुग्ने बताए ।

उक्त अवसरमा आयोजक समितिले पुनलाई भाङ्ग्रा लगाइदिएर सम्मान गरेका थिए । पुनसँगै तमु समदायले पूर्वप्रधानसेनापति छत्रमान गुरुङ, पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङलगायतलाई सम्मान गरेको थियो ।

tamu-saarc-8सम्मेलनमा दक्षिण एसियामा छरिएर रहेका गुरुङ समुदायको सहभागिता रहेको छ । सम्मेलनको पहिलो दिन सांस्कृतिक झाँकी, घाटु, रोधी, सोरठी र कौडाजस्ता परम्परागत सांस्कृतिक पहिचान दिलाउने नृत्य प्रदर्शन गरिएका थिए ।

तमु गुरुङहरूको प्राचीन थातथलो कालीगण्डकीदेखि बुढीगण्डकीका भूभाग रहे पनि पहिलो र दोस्रो विश्वयुद्धसँगै विश्वभर छरिएर बसेकाले पहिलोपटक सांस्कृतिक एकताका लागि सार्क सम्मेलन आयोजना गरिएको परिषद्ले जनाएको छ । पछिल्लो गुरुङ समुदायको मौलिक पहिचान संकटमा परेकाले सम्मेलनले पहिचान र संघीयताका पक्षमा आत्मनिर्णय अधिकारसहितको तमुवान स्वायत्त राज्य स्थापना गर्ने मुख्य एजेन्डा बोकेको कार्यक्रममा जानकारी गराइयो ।

tamu-saarc-4सम्मेलनमा नेपालमा संगठित भएका ६१ जिल्लाका तमुगुरुङ संस्थाका प्रतिनिधि, सर्वभारतीय गुरुङ संघ भारत, अखिल भारतीय गुरुङ (तमु) बौद्ध संघ सिक्किम, पश्चिम बंगाल, उत्तर प्रदेश, उत्तराखण्ड, दिल्ली, नागाल्यान्ड, आसाम, भुटान, मलेसिया, सिंगापुर, थाइल्यान्डलगायत मुलुकबाट उच्च ओहदामा पुगेका प्रतिष्ठित, प्राज्ञिक गुरुङ व्यक्तित्वहरूको सहभागिता रहेको केन्द्रीय अध्यक्ष रेशम तमुले बताए ।

दोस्रो दिन सदन स्कुलमा गुरुङ समुदायको भाषा, लिपि, धर्म, संस्कृति, राजनीतिक, सामाजिक, आर्थिक विषयमाथि व्यापक छलफल र अन्तरक्रिया भएको थियो ।

पूरा घोषणापत्र –

ऐतिहासिक प्रथम तमू सार्क सम्मेलनको धरान घोषणापत्र
२०७३ कात्तिक ७–८ गते  । धरान, सुनसरी

तमू समुदायको धर्म, पितृ, कुल, संस्कार, संस्कृति र परम्पराको उच्च सम्मान गर्दै, तमू समुदायको सांस्कृतिक, धार्मिक, भाषिक र राजनीतिक अधिकार स्थापित गर्नका लागि भएका विभिन्न आन्दोलनका क्रममा मृत्यु वरण गर्न पुगेका महान तमू सहिदहरुको सम्मान गर्दै, तमू एकता, अस्तित्व र पहिचानका लागि विश्वका तमूहरुबीच एकताको सन्देश दिँदै, तमू ह्यल छोंज धिं, गुरुङ राष्टिय परिषदको आयोजनामा २०७३ कात्तिक ७ र ८ गते पूर्वी नेपालको रमणीय भूमि सुनसरीको धरानमा सम्पन्न भएको ऐतिहासिक प्रथम तमू सार्क सम्मेलन निम्न घोषणा गर्दछ ।

१.    विश्वमा रहेका तमूहरु भौगोलिक हिसाबले जो, जहाँ रहेपनि भावनात्मक हिसाबले एकताबद्ध रहेको प्रण गर्दछ ।
२.     नेपालका तमू समुदायको आदिम भूमि तमूवान र सार्क मुलुकमा बसोबास गरिरहेका तमू समुदायको आदिम भूमिको रक्षा र अधिकारका लागि एकताबद्ध हुने प्रतिवद्धता व्यक्त गर्दछ ।
३.     तमू समुदायको ईतिहास, भाषा, धर्म, संस्कृति परम्परागत मुल्य, मान्यताको संरक्षण र विकासका लागि निरन्तर कृयाशील रहने दृढ संकल्प गर्दछ ।
४.     विश्वभरमा रहेका सम्पूर्ण तमूहरुको पहिचान र अस्तित्वको उच्च सम्मानका लागि सामुहिक पहल गर्ने अठोट गर्दछ ।
५.     नेपालमा भईरहेको तमुवान प्राप्तीको आन्दोलन प्रति ऐक्यवद्धता जाहेर गर्दछ ।
६.    सबै सदस्य मुलुकका तमूहरु बीचमा एकआपसमा मैत्रीपूर्ण सम्बन्ध विकाश गर्दै भाषा, धर्म, संस्कृतिको संरक्षण र विकासका लागि सकृयतापूर्वक लागिपर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
७.    तमू समुदायको परम्परागत ज्ञान, सिप र पेशको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
८.    तमू समुदायको आर्थिक स्तर उकास्न सामुहिक तथा संस्थागत लगानीको वातावरण बनाउन पहल गर्दछ ।
९.    तमूहरुको सामुदायिक विकास र उत्थानका लागि तमू कल्याणकारी कोषको स्थापना गर्ने घोषणा गर्दछ ।
१०.     भारतको दार्जिलिङ, सिक्किम लगायतका स्थानमा प्रचलित खेमा लिपिबारे थप अध्ययन गर्दै विश्वभरका तमूहरुबीचमा साझा लिपिको निक्र्यौल गर्न अठोट गर्दछ ।
११.     तमूहरुको मौलिक पहिरनमा एकरुपता ल्याउन सामूहिक प्रयत्न गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।
१२.     तमू समुदायको इतिहास, भाषा, धर्म, संस्कृतिको रक्षा गर्दै राज्यको हरेक निकायमा अस्थित्व र पहिचान सहितको समानुपातिक समावेसी प्रतिनिधित्व सुनिश्चित गर्न जोडदार माग गर्दछ ।
१३.     अन्तर्राष्टिय श्रम संगठनको अभिसन्धि १६९ र आदिवासी जनजातिको अधिकारसम्वन्धी संयुक्त राष्टसंघीय घोषणापत्र (यूएनड्रीप) कार्यान्वयन गर्न माग गर्दछ ।
१४.     प्रत्येक दुई वर्षमा तमू सार्क सम्मेलन गर्ने संकल्प गर्दछ ।
१५.     तमू मातृभाषा र प्हेँता ल्हुँताको संरक्षण र सम्वद्र्धन गर्दै सांस्कृतिक चाडपर्वहरुको मौलिकताको संरक्षण गर्न प्रतिवद्धता जाहेर गर्दछ ।
१६.    ऐतिहासिक प्रथम सार्क सम्मेलनबाट तमू (गुरुङ) सार्क मंच गठन गर्दै सम्मेलनमा सहभागी देशहरु नेपाल, भारत र भुटानबाट २÷२ जना रहने गरी समन्वय समिति गठन हुने घोषणा गर्दछ
१७.     ऐतिहासिक प्रथम तमू सार्क सम्मेलन सम्पन्न गर्ने आयोजक संस्था तमू ह्यल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद, केन्द्रीय कार्यसमिति नेपाल, व्यवस्थापनको जिम्मेवारी बहन गर्ने जिल्ला शाखा सुनसरी, मोरङ र झापा, तमूस्यो ह्यल छोंज धिँ गुरुङ महिला परिषद जिल्ला शाखा सुनसरी र मातहतका विभिन्न इकाई समिति र समाजहरुप्रति धन्यवाद प्रकट गर्दछ ।
१८.     सम्मेलनका प्रमुख अतिथि नेपालका सम्माननीय उपराष्टपति नन्दबहादुर पुन, विशेष अतिथि माननीय श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ लगायत अतिथिहरु, देश विदेशका विभिन्न तमू संघसंस्था र क्षेत्रबाट सहभागी प्रतिनिधि तथा पर्यवेक्षकहरु प्रति विशेष धन्यवाद ज्ञापन गर्दछ ।

रेशम गुरुङ                                            सिबि गुरुङ                                                          राजमान गुरुङ
अध्यक्ष                                                      अध्यक्ष                                                                       अध्यक्ष
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद      सर्वभारतीय गुरुङ संगठन                                          तमू छोंज धीं
केन्द्रीय कार्य समिति, नेपाल                        भारत                                                                         भुटान

 

 

स्रोत : ekantipur.com, फोटो : फेसबूकबाट