Latest News

त्रिलोक गुरुङ एनआरएनए महासचिवको उम्मेदवार

हङकङमा रहेर गैरआवासीय नेपाली संघमा लामो समयदेखि सक्रिय त्रिलोक (यमकुमार) गुरुङले महासचिवमा उम्मेदवारी दिने भएका छन्।

एनआरएनए हङकङको अध्यक्ष, एसिया प्रशान्त क्षेत्रको संयोजक हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा दुई कार्यकाल सल्लाहकार रहेका गुरुङले आज बुधबार साँझ महासचिवमा उठ्ने घोषणा गर्न लागेका हुन्।

एनआरएनए हङकङले आज साँझ ८ बजे हङकङको जोर्डनस्थित साङ्ग्रिला रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा गुरुङको उम्मेदवारी घोषणा सभा आयोजना गरेको छ।

दशैँपछि असोज २८–३१ (अक्टोबर १४–१७) मा काठमाडौँमा एनआरएनएको विश्व सम्मेलन आयोजना गरिएको छ, जसले अर्को दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

हङकङ र मकाउमा निर्माण र सुरक्षा सम्बन्धी क्षेत्रमा व्यवसाय गर्दै आएका लमजुङका गुरुङ सल्लाहकार रहेर पनि एनआरएनएमा निकै सक्रिय छन्।

गोरखाको लाप्राकमा नमूना वस्ती निर्माणमा एनआरएनएका अध्यक्ष शेष घलेसँगसँगै सक्रिय रहेका गुरुङ हालै तराईमा बाढी प्रभावितलाई राहत वितरणमा पनि एनआरएनए टोलीमा संलग्न रहेका थिए।

साभार : नेपालखबर डट्कम