Latest News

‘दोष लगाउन सजिलो तर काम गर्न गाह्रो’

वेदबहादुर गुरुङ ‘श्याम’ कास्कीको मादी गाउँपालिकाका अध्यक्ष हुन्। गुरुङ भाषाको चलचित्रका हिरो अहिले गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन्। ७ वटा गुरुङ भाषाको फिल्ममा अभिनय गरेका श्यामको काँधमा अहिले गाउँपालिका सञ्चालन गर्ने जिम्मेवारी आइपुगेको छ।

२०५२ सालमा उनले पहिलोपटक गुरुङ भाषाको फिल्म न्याम्सोन्योरी (कुहिरोभित्र) मा उनले अभिनय गरेका थिए। २०४३ सालतिरबाटै राजनीतिमा लागेका उनी अहिले एमाले प्रदेश नम्बर ४ को कमिटी सदस्य छन्।

अभिनयबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले पछिपछि लेखन र निर्देशन पनि थाले। हालसम्म उनले ३ वटा अरुले बनाएको फिल्ममा अभिनय गरेका छन् भने ४ वटा फिल्मम आफ्नै लेखन तथा निर्देशनमा बनाएका छन्। शोषक–सामन्तको विरोध गर्ने र सर्वहाराको हित गर्ने कम्युनिस्ट स्कुलिङ पाएर हुर्केका उनी फिल्ममा पनि निर्धा र सोझासादाको पक्ष लिएर सन्देश दिने गर्थे। स्थानीय तहको निर्वाचन घोषणा हुनुअघिसम्म पनि उनी फिल्ममै व्यस्त थिए। ठेलो फिल्म निर्देशनको तयारीमा जुट्दाजुट्दै उनी चुनावतिर होमिएका हुन्। गुरुङ फिल्म एसोसियसन (जिफान)का अध्यक्ष पनि हुन् श्याम। अहिले उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर उनी गाउँपालिकाको नेतृत्व गरिरहेका छन्।

मादी गाउँपालिकाको भर्खरै भएको प्रथम गाउँसभामा पूर्वाधार विकासमा जोड दिँदै २९ करोड रुपैयाँ बजेट उनले सार्वजनिक गरेका छन्। सिक्लेस गाउँदेखि अन्नपूर्ण हिमालको फेदीसम्म केबलकार सञ्चालन गर्ने, पर्यटन, कृषि र हाइड्रोमार्फत गाउँको विकास गर्ने गुरुङले योजना बनाएका छन्। उनै गुरुङसँग मादी गाउँपालिकाको सम्भावना, विकास र योजनाका विषयमा गरिएको कुराकानीः

फिल्मको हिरो बन्न सजिलो कि गाउँपालिकाको हिरो बन्न? के भन्दैछ अनुभवले?

सजिलो त अरुलाई दोष लगाउन सजिलो हुन्छ। गफ लगाएर खान सजिलो हुन्छ। सजिलो त अरुले गरेको कामलाई यस्तो भएन उस्तो भएन भन्न पो सजिलो हुन्छ। कामै गर्न त जहाँ पनि गाह्रै हुन्छ। चाहे त्यो फिल्म होस्, चाहे त्यो गाउँको विकास। फिल्म बनाउन पनि सजिलो कहाँ हुन्छ र? धेरै कुरा जुटाउनुपर्छ। सानोसानो कुरा मिलेन भने सिंगो फिल्म नै फिका बन्छ।

त्यस्तै गाउँपालिकाको नेतृत्वमा पुगेर बधाइ खाँदासम्म सजिलै हुन्छ, रमाइलै लाग्छ। जब आफैँले पाएको अभिमतले दबाब दिन थाल्छ, जब काम गर्नुपर्छ तब दु:खै हुन्छ। अभिनयमार्फत यथार्थ चित्रण गरेर मान्छेका संवेदना समेटेर फिल्म राम्रो बन्छ र मान्छेले रमाइरमाइ पर्दामा हेर्छन् तर गाउँको विकास अभिनय गरेर हुँदैन। देखिने गरी वास्तविक काम गर्नुपर्छ।

गाउँपालिकाको प्रथम गाउँ सभामार्फत पूर्वाधार विकासलाई जोड दिनुभएको छ। के के योजना परेका छन् तपाईंका प्राथमिकतामा?

एउटा पूर्वाधार विकास निर्माण र अर्को नीति निर्माण हो हाम्रो पहिलो वर्षको प्राथमिकतामा। दीर्घकालीन विकासलाई ध्यानमा राखेर हामीले योजना बनाएका छौँ। पर्यटन, कृषि र विद्युतलाई हामीले यसपटक प्राथमिकतामा राखेका छौँ। मादी गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने, स्वरोजगार बनाउने हिसाबले मुख्य आधारका रुपमा पर्यटन र कृषिलाई लिएका छौँ। गाउँपालिकामध्ये मादी भौगोलिक हिसाबले सबैभन्दा धेरै फराकिलो गाउँपालिका हो। १२ वटा वडा छन्, मादीमा। एउटा वडा र अर्को वडामा जानै एक दिने लाग्ने अवस्था छ। जहाँ हाम्रो गाउँपालिकाको कार्यालय छ त्यहाँ पुग्नै पनि समस्या छ।

अधिकांश वडाबाट गाउँपालिका कार्यालय पुग्न पोखरा आउनुपर्ने अनि बल्ल कार्यालय जानुपर्ने स्थिति छ। त्यसलाई सडक सञ्जालले जोडेर सहज गराउने गरी बजेट ल्याएका छौं। भएका सडकको स्तरोन्नति गर्ने र नभएका ठाउँमा सडक सञ्जाल बिस्तार गर्ने गरी बजेट विनियोजन गरेका छौँ। पहिले एक वडाबाट अर्को वडामा सजिलै आवातजावत गर्न र सेवाप्रवाह गर्नतिर ध्यान दिनुपर्छ।

मादी जलविद्युतको राम्रो सम्भावना भएको ठाउँ पनि भएकाले विद्युतीकरण गर्ने, स्वच्छ खानेपानी घरघरमा पुर्‍याउने योजनाअनुसार हामीले बजेट छुट्याएका छौँ। अब पाँच वर्षे आवधिक योजना बनाएरमात्रै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ। बिनाआधार गयौँ भने सफल हुँदैनौँ भनेर हामीले विज्ञसहितको समिति गठन गर्ने र त्यही समितिको सुझाव अनुसार अगाडि बढ्ने योजना बनाएका छौं। पर्यटन, कृषि, विद्युत, उद्योग, स्वरोजगार लगायत गुरुयोजना नै निर्माण गरेर समृद्ध गाउँपालिका बनाउन हामी प्रतिबद्ध छौं।

सिक्लेसदेखि अन्नपूर्ण हिमालको फेदीसम्म केबुलकार सञ्चालन गर्ने महत्वाकांक्षी योजना पनि यहाँको नीति तथा कार्यक्रममा छ। मादीको विविध सम्भावनालाई उजागर गर्दै त्यहाँका नागरिकको जीवनस्तर उकास्न र पर्यटकलाई गाउँसम्म लैजान यहाँले देखेका सपनाहरु केके हुन्?
भौगोलिक, जैविक, आर्थिक, सांस्कृतिक हरेक हिसाबले विविधतायुक्त छ, मादी गाउँपालिका। यहाँ थुप्रै विकासका सम्भावना छन्। गाउँलेले अनुभूति गर्नेगरी विकास गर्न, गाउँघर र आँगनसम्मै सुविधाहरु पुर्‍याउन पहिलो त सडक नै बलियो चाहिन्छ। सडक गतिलो नभइ त्यहाँ विकासका अन्य पूर्वाधारहरु निर्माण हुन सक्दैनन्। पर्यटन, उद्योग, कृषि, जैविक, हरेक क्षेत्र सडकसँग जोडिन्छ। पहिले त सडक नै भरपर्दो र बाह्रैमास गाडी चल्ने बनाउनु छ।

मादी यस्तो गाउँपालिका हो, जहाँ पर्यटनको प्रचुर सम्भावना छ। अन्नपूर्ण हिमालदेखि लमजुङ हिमालको रेन्ज यही गाउँपालिकाअन्तर्गत पर्छ। हिमाली फाँटहरु, ऐतिहासिक ठाउँहरु, पर्यटकीय गाउँहरु पोखरादेखि नजिकै मादी गाउँपालिका छ। पोखरा अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बनिरहेको अवस्थामा पर्यटक आउने र रमाउने ठाउँ भनेका यिनै हुन्। त्यसैले पोखरा आउने पर्यटकको पहिलो रोजाइ मादी गाउँपालिका बनाउने हाम्रो सपना हो। पोखरा आउने पर्यटकको ठूलो हिस्सा मादी पुग्नेछ। पर्यटकको ठूलो हिस्सा हिमालसँग हुनेछ। त्यसका लागि हामीले पर्यटकीय तथा ऐतिहासिक गाउँ सिक्लेसदेखि अन्नपूर्ण हिमालको फेदी कोरीसम्म केबलकार सञ्चालन गर्ने मेरो एउटा सपना हो। जहाँ आठ महिनासम्म हिउँ पर्छ। हिँउमा रमाउन त्यहीँ हजारौँ पर्यटक पुग्नेछन्, हिउँमा खेलिने खेलको विकास हुनेछ। पर्यटकीय सहरको रुपमा विकास हुनेछ। त्यसले मादीको विकासलाई धेरै महत्वपूर्ण अर्थ राख्छ।

गुरुङ जातिको पौराणिक बस्ती वा राजधानी क्होंला सोंथार हाम्रै गाउँपालिकामा पर्छ। त्यसलाई देशभरका गुरुङ जाति पुग्ने गरी विकास गर्न सकिन्छ। घना जंगल बीचमा रहेको कोला सोंथारलाई सांस्कृतिक, पौराणिक र ऐतिहासिक हिसाबले पनि पर्यटकीय गन्तव्य बनाउने हाम्रो योजना छ। सिक्लेस, ताङतिङ, याङ्जाकोटजस्ता गाउँहरु यहीं पर्छन्।

अहिले पनि लाखौं रुपैयाँको जडिबुटी यही क्षेत्रबाट चोरी निकासी भएको आँकलन छ। जडीबुडीको खोज अनुसन्धान गरेर पहिचान गरी संकलन र निर्यात गर्ने हो भने ठूलो रकम गाउँपालिकामा आउने छ। व्यावसायिक तथा अर्गानिक कृषिमार्फत आत्मनिर्भर बनाउने, घरघरमा स्वच्छ खानेपानी, हाइड्रोको राम्रो सम्भावना भएकाले २४ सै घन्टा बिजुली, ठूलो उद्योगी तथा लगानीकर्ता भित्र्याएर स्वरोजगार बनाउने, गाउँपालिकाभन्दा बाहिर रहेका व्यक्तिहरुलाई त्यहाँ भन्ने विकास आयोजनामा लगानी गर्न अभिप्ररित गर्ने र गाउँपालिकालाई समृद्ध बनाउँदै नागरिकलाई सुखी र खुसी बनाउने हाम्रो सपना छ।

जब ठूला उद्योगहरु खुल्छन्, तब त्यहाँको विकास र गाउँपालिकाको आम्दानीमात्रै बढाउँदैन त्यसले गाउँलाई नै आर्थिक रुपमा चलायमान बनाउँछ। त्यस्ता ठूला उद्योग खोल्न र लगानीकर्ताहरु कसरी भित्र्याउने योजना कसरी बनाउनुभएको छ?

केबलकार, विद्युत, जडिबुटी हामीले जति पनि ठूला आयोजनाको कुरा गरेका छौँ, त्यो ठूला विकासका आयोजनामा गाउँपालिका आफैंले लगानी गर्न सक्दैन। त्यसका लागि हामीले वातावरण बनाउने र लगानीकर्ता ल्याउने नै हो। तर ठूला लगानी भित्र्याउने र त्यसमा स्थानीयको सहभागिता होस् भन्ने मरो चाहना छ। त्यहाँका थुप्रै दाजुभाइ अवसरको खोजीमा हङकङ, युके लगायत थुप्रै देशमा पुगेका छन्। पोखरामा समेत केन्द्रित भएका छन्। जो अहिले देशविदेशमा कार्यरत छन्, तिनै दाजुभाइलाई गाउँमा लगानी गर्न वातावरण बनाउने हो। थुप्रै होटलहरु तिनै दाजुभाइले चलाउन सक्छन्। हाइड्रोमा तिनै पुँजीपति दाजुभाइले लगानी गर्न सक्छन्। मादी गाउँपालिका थुप्रै विज्ञहरु देशका विभिन्न प्राज्ञिक ठाउँमा हुनुहुन्छ। उहाँहरुको समेत सुझाव र सल्लाह लिएर गाउँपालिकाको विकास गर्नेछौँ।

नीति नियम आफैँ बनाऊ, आफ्नो स्रोत आफैं जुटाऊ भनेको छ। हामी निश्चित अनुदान दिन्छौँ बाँकी आफैँ व्यवस्था गर भनिएको छ। कसरी आन्तरिक स्रोत जुटाउँदै हुनुहुन्छ?

सडक, पर्यटन, कृषि, जडिबुटीको विकास हुनेबित्तिकै आन्तरिक स्रोतको वृद्धि स्वतः हुनेछ। सरकारले तोकेका विभिन्न कर, स्थानीयस्तरमा विभिन्न आन्तरिक रुपमा वैज्ञानिक कर संकलन हुन थालेपछि आन्तरिक स्रोत बढ्छ। जब विभिन्न स्तरका होटल, उद्योग, विद्युतलगायत निर्माण हुन्छ, त्यसबाट पनि गाउँपालिकाको आन्तरिक स्रोत बढ्छ। ढुंगा, गिटी, बालुवा, जुडिबुटी, स्थानीय उत्पादन थुप्रै कुरा निर्यात गर्न सकिन्छ। आन्तरिक स्रोत बढाउन वैज्ञानिक ढंगले कर लगाउने र संकलन गर्ने प्रणाली अपनाउने छौँ। जति हामीले आर्थिक गतिविधि बढाउँछौं त्यति नै अर्थोपार्जन हुन्छ। नीति बनाएर मात्रै भएन उचित वातावरण पनि बनाउनुपर्‍यो त्यसैमा हामी केन्द्रित छौं।

आफैं स्थानीय सरकार हौँ भन्ने तर सुविधा र अधिकार नदिने गरियो भन्ने गुनासो पनि सुनिन्छ। खास केमा हो समस्या?

स्थानीय तह सञ्चालन कानुन आइसकेको छैन। जब प्रदेश र संघको पनि चुनाव सम्पन्न हुन्छ तब बल्ल सहज होला। सरकार र अधिकार आयो भन्दाभन्दै धेरै कुरा आएका छैनन्, कार्यादेशको भरमा चल्नु परेको छ। कर्मचारी समायोजन होस् या स्रोत साधन परिचालनको कुरा होस्, धेरै केन्द्रीय अंकुश लागेको छ। यो अवस्था धेरै लामो समय रहनु हुँदैन। लामो समय रह्यो भने संघीयता नै असफल हुन सक्छ। संक्रमणकालीन अवस्था छिटो हट्नुपर्छ। एक वर्ष त यसै अलमल हुने अवस्था छ। हामी स्वायत्त हुन सकेका छैनौं।

हामीसँग काम गर्न सक्छौँ भन्ने उत्साह छ तर संविधानले निर्दिष्ट गरेका कुरा उपयोग गर्न पाउनुपर्छ। जनताको सेवा गर्छौँ भनेर जनताको अभिमत लिएर आएका छौँ। प्रभावकारी ढंगले स्रोत र साधन परिचालन गर्नुपर्ने, आम्दानी बढाउनुपर्ने छ तर हातखुट्टा बाँधेर काम गर भन्न मिल्दैन। हामीले विलासी सुविधा मागेका होइनौँ। सेवा प्रवाह गर्न सामान्य आवश्यक सुविधा दिनुपर्छ भनेका हौँ। पूरै समय दिएर गाउँपालिकाकै लागि भनेर हिँड्छ भने उसले सुविधा पाउनुपर्छ। सबैलाई बराबर अधिकार हो भन्ने अनि विभेद गर्ने काम भइरहेको छ, त्यो गलत हो। सबैको हैसियत एउटै हुँदैन, न्यूनतम सेवा सुविधा पाउनुपर्छ। नत्र जनप्रतिनिधिलाई भ्रष्टाचारले गाँज्न सक्ने सम्भावना देखिन्छ।

लामो समय जनप्रतिनिधिको काम कर्मचारीले गरे। उनीहरुले कसरी काम गरेका रहेछन्, तपाईंहरुलाई कतिको सजिलो भइरहेको छ?

संक्रमणकालीन अवस्थालाई कर्मचारीले गुजारे। कति गर्न सके, कति गर्न सकेनन्, त्यो आफ्नो ठाउँमा छ। तर त्यो जटिल अवस्थालाई उनीहरुले सामना गरेकै हुन्। कर्मचारी र सेवाग्राहीका धेरै बानी बिग्रिएर एउटा मनोविज्ञानको विकास भयो। जति बजेट आउँछ त्यसलाई टोलटोलमा बाँड्ने काम भयो। कर्मचारी पनि बढी जागिरप्रति उत्तरदायी हुने थिए। भ्रष्टाचार पनि मौलायो कति ठाउँमा। ती सबै ठाउँमा नागरिकलाई अनुभूति गराउने र जुन खालको मनोविज्ञान थियो त्यसलाई परिवर्तन गर्नपर्ने र हिजोकै रुपमा अहिले पनि रह्यो भने विकासले गति लिँदैन। त्यसलाई सच्याएर विकास निर्माणलाई गति दिनु छ। राम्रो काम गर्न जहाँ, जसलाई पनि अफ्ठ्यारै छ तर त्यो इच्छाशक्ति र सामूहिक बलले हुने कुरा हो।

साभार : नेपाल खबर डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*