Latest News

नयाँ पुस्ताले बिरालो नबाँध्नु, नयाँ खुड्किला चढ्नु

फ्रान्सेली कम्पनी भिएसएलबाट मैले सन् २००९ मा ‘स्टोनकटर ब्रिज’ मा काम थालें। एकदिन तीन जना फुच्चे भाईहरु पिपिए (कन्स्ट्रक्सनमा काम गर्दा लगाइने पोशाक) मा ठाँट्टिएर आए। उनीहरूलाई मेरो अन्डरमा लेबर काम गर्न पठाइएको थियो। मैले तिनलाई सामुन्नेमा बोलाएँ र शुरुमै ‘तिमीहरु पढ्न छोडेर कन्स्ट्रक्सनमा के खान आएको’ भनेर हप्काएँ।

पछि बिस्तारै उनीहरुलाई कन्स्ट्रक्सनमा आफुले बिताएको एक दशक लामो तितो–मिठो अनुभव र त्यो समयकालमा महशुस गरेको शैक्षिक कमजोरीबारे सक्दो सम्झाउने प्रयास गरेँ। पढाई छाडेर कमाउन भन्दै त्यहाँ बेल्चा खेलाउन आइपुगेका तिनको निर्णय मलाई पटक्कै मन परेको थिएन। त्यसैले ति फुच्चे भाईहरुलाई देखेर मेरो पारा तातेको थियो।

नब्बेको दशकमा हङकङ आउने पुस्ताका सामुन्ने अदक्ष काम बाहेक अन्य बिकल्प थिएन। त्यसैले मेरो पुस्ता पुर्खाले हङकङमा गरेको सेक्यूरिटी जब र आफु स्वंयले नेपालमा गर्दै आइरहेको कामको प्रकृतिसँग मिल्ने कन्स्ट्रक्सन क्षेत्रमा छिरेको हो।

२०४६ सालमा अमरसिंह माविबाट एसएलसी सकेर पिएन क्याम्पस पोखराबाट जसोतसो ग्रयाजुएसन गरी पेट्रोल पम्पमा काम गरिरहेको म सन् १९९६ मा हङकङ आइपुगें। अरु झैं मपनि यहाँ आएर रणभूल्लमा परें। शुरुमा के गर्ने, कसो गर्ने केही भेउ पाउन सकिएन। किनकी त्यसबखत राम्रोसँग हङकङ बुझेका नेपाली यहाँ कोही थिएनन्। म भन्दा अगाडि आएका दाईहरुलाई फलो गर्दै म पनि कन्स्ट्रक्सनमा छिरेको हुँ। आज फर्किएर हेर्छु, हङकङको माटोसँग खेल्दाखेल्दै २१ वर्ष बितेछन्। हिजो आए जस्तो लाग्छ तर समय त घर्किसकेछ।

हङकङले विकासको द्रुत गति सन् १९९७ पछाडि समात्न थालेको हो। हाम्रो पुस्ता यो विकासको साक्षी मात्र होइन, त्यसका निम्ति सबैभन्दा बढी जोतिएका पनि हामी नै हौं। हङकङमा विश्वका नामी लगभग सबै प्रमुख कन्स्ट्रक्सन कम्पनीहरुले ठूलठूला प्रोजेक्टहरु सम्हाल्ने गरेका छन्। तिनले गर्ने निर्माण कार्यका सबैभन्दा सक्रिय श्रमिक नेपाली नै हुन् भन्न सकिन्छ।

हुन त हाम्रै नेपाली दाजुभाई पनि अहिले हङकङको कन्स्ट्रक्सन क्षेत्रमा इन्जिनियर वा अन्य ठूला पदमा नभएका चाहीँ होइनन्। तर त्यो संख्या एकदमै सानो छ अहिलेसम्म।

म पनि लगभग सबै बहुराष्ट्रिय कम्पनीमा आवद्ध भएर हङकङका चर्चित विमानस्थल, सुरुङ, पुल, पार्कहरुमा आफ्नो श्रम खर्चेको छु। कन्स्ट्रक्सन क्षेत्रमा हङकङका नेपालीहरुले विश्वका नामी कम्पनी र तिनका दक्ष इन्जिनियर तथा प्राविधिक र ब्यवस्थापकहरुसँग काम गरेको अनुभव संगालेका छन्। यो हाम्रो पूँजी हो। तर उच्च र सम्मानजनक जीवनस्तर भोग्न यति उपलब्धि पर्याप्त नहुँदो रहेछ।

कहिलेकाहीँ यसो घोत्लिएर २० वर्षको उपलब्धि गन्न थाल्छु। नेपालमा मसँग पढेका साथीसंगी दाजुभाई दिदी बहिनीहरुको प्रगतिको नापजोख गर्छु। उनीहरु त प्रगतिको लामो यात्रामा धेरै अगाडि पुगिसकेका पाउँछु। म चाहिँ हिजो जहाँ थिएँ आज पनि त्यहीँ पो रहेछु।

आर्थिक रुपले तिनले भन्दा राम्रो गरें कि भनेर चित्त बुझाउन त्यसको पनि लेखाजोखा गर्छु। अहँ होइन रहेछ। झट्ट हेर्दा हङकङ डलरलाई नेपाली रुपैयाँमा बदल्दा हामीले कमाउने पैसा धेरै देखिए तापनि हङकङको जीवनस्तरमा त्यो पैसा एक छेऊ पनि नहुँदो रहेछ। बरु हङकङमा बस्ने मभन्दा कयौं गुणा राम्रो जीवनस्तर तिनले नेपालमै सुखभोग गरिरहेका पाउँछु।

अरुलाई सुनाउँदा पत्याउँदैनन्। तर सत्य के हो भने मैले र श्रीमतीले कमाएको पैसाले हङकङमा पढाउन खर्च नपुग्ने भएर हामीले छोराछोरी पोखरामै पढाउने निर्णय गरेर त्यहाँ पठाएका छौं। अहिले हाम्रा दुई छोराछोरी पोखरामै अध्ययन गरिरहेका छन्। हुन त म स्वयं पनि स्याङ्जाको फेदीखोलामा हुर्किएर त्यहीँको सितला निमाविमै पढेको हुँ। तर दुःख के मा लाग्छ भने हामीले आफ्नो बच्चालाई सँगै राखेर गाइड गर्न सकिरहेका छैनौँ।

भारतीय सेनामा रहेका मेरो बुवाको म एक्लो छोरो हुँ। बुवा मलाई सधैं भन्ने गर्नुहुन्थ्यो– ‘तँ लाहुरे हुने होइन, सरकारी जागीरमा जानुपर्छ। सरकारी कर्मचारीले थोरै पैसा थाप्छन् तर त्यो पैसा भन्दा बढी वैभव र शक्ति तिनको हातमा हुन्छ। यो कुरा नभुलेस्।’

यस्तो गम्भीर कुरा बैंशले उन्मुक्त मैले कसरी बुझ्नु, बुझिनँ। बुवाले जे नगर भन्नु भो त्यहि गरेँ। हङकङको लाहुरे हुन आइपुगेँ। आज बल्ल बुवाले के भन्नुभएको थियो भन्ने दिमागले समातिरहेको छ। यति कुरा बुझ्न मलाई करिब २ दशक लाग्यो। हाम्रो चिन्तन कति पछाडि रहेछ यसबाट पनि बुझ्न सकिन्छ जस्तो लाग्छ।

केही मित्रहरु भन्नुहुन्छ, क्यान्टोनिज भाषा जाने हङकङमा मोज छ। म मज्जाले क्यान्टोनिज बोल्छु। चाइनीजमै गीत गाउन सक्छु। तर मैले बुझेको के हो भने भाषा जानेर मात्र नहुँदो रहेछ। हामी हङकङका चाइनीजहरुका अगाडि ‘केही नजान्ने, गरिब भएर पेट पाल्न हङकङ आएका आप्रवासी’ रहेछौं। हो, भाषामा पोख्त हुँदा मैले बेरोजगार बस्नु परेको छैन। तर बेरोजगार नहुनु र सम्मानपूर्वक उपल्लो पदमा पुग्नु बेग्लै कुरा हो जस्तो लाग्छ मलाई।

कतिपय बेला मलाई लाग्छ, यदि मैले समयमा राम्ररी पढ्न सकेको भए अहिले मैले गरिरहेकै काममा उपल्लो तहमा पुग्न सक्थें हुँला। तर अहिले आएर पछुताएर के गर्ने? त्यसैले मलाई हाम्रो नयाँ पुस्ताले पढाई छाडेर कन्स्ट्रक्सनमा छिरेको देख्दा भित्रैदेखि नमज्जा लाग्छ। त्यसरी मसँग ठोक्किन आउने सबैलाई म एउटै कुरा दोहोर्याउने गर्छु, ‘हिजो तिम्रा आमा–बुवाले र दाजुभाईले जे गरे तिमीले पनि त्यही नदोहोर्याऊ। त्यसले तिमीलाई भोलि पछुताउने बाहेक केहि गराउने छैन।’

हामीले सुन्दै आएको लोककथा झैं ‘बाउले खानेबेला बिरालो बाँधेको देखेर बाउ मरेपछि उसको छोराले पनि खाने बेला गाँउगाँउबाट खोजेर ल्याई बिरालो बाँधे’ झैं गर्नु भएन। खानेबेला दुःख दियो भनेर बाउले बिरालो बाँधेको नबुझ्ने छोरो झैं हङकङका नयाँ पुस्ताले परम्परा पछ्याउँदा हङकङका नेपालीले आफुलाई माथि लैजान सकिरहेका छैनन्। हिजो पो हामीलाई गाइड गर्ने कोही थिएनन्। बेलायती लाहुरे मामाहरुपछि हामी नै हङकङ आइपुगेका थियौं। हामीलाई हङकङको निती–नियम, संस्कार संस्कृति र चालचलन थाहा थिएन। तर अहिलेको अवस्था त्यस्तो होइन।

अहिले हामीसँग २१ वर्षको हङकङ बसाईको अनुभव छ। कडा संघर्षले खारिएको समाज छ। सरकारको नीति नियम बुझ्न थालेका छौं। हामी मध्येबाटै सम्भावनाका बाटा पहिल्याएका उदाहरणहरु बढ्न थालेका छन्।

हामीले स्थानीय भाषा, संस्कार संस्कृति र तिनको मानसिकता बुझ्न खोजिरहका छौं। कहाँ, कसरी सफलताको सिंढी चढ्ने हो बुझ्ने प्रयास गरिरहेका छौं। यो पूँजी नयाँ पुस्ताका लागि पर्याप्त नभएपनि धेरै ठूलो खुड्किलो हो। नयाँ पुस्ता यो खुड्किलो चढ्न डराउनु हुँदैन। अथक मेहनत गर्नुपर्छ। कन्स्ट्रक्सनमा नजाने होइन तर लेबर मात्र नभएर इन्जिनियर र दक्ष हाकिमका रुपमा पनि जानुपर्छ। नेतृत्व सम्हाल्नु पर्छ। अभिभावकले पनि पैसाकै लागि आफ्ना बच्चालाई लेबर बनाएर कन्स्ट्रक्सनमा छिराउन बल गर्ने या बच्चा जान खोज्दा मौन बसिदिने गर्नु भएन।

मसँग काम गर्न आएका फुच्चेहरुलाई मैले यही कुरा सुनाएको थिएँ। मलाई विश्वास थिएन, ती कलिला केटाहरुलाई मेरो कुराले केहि प्रभाव पार्नेछ। तर अचम्म भो। मेरो प्रवचन चलेको भोलिपल्ट एकजना केटा गयल भयो। त्यसपछि ऊ फेरि कहिल्यै काममा फर्किएन।

उसका दुईजना साथीबाट पछि थाहा भो, ऊ त पढ्न नेपाल पो फर्किएछ। उसलाई मेरा शब्दले छोएछ। थाहा छैन, ऊ अहिले कहाँ छ तर जहाँ भएपनि उसले आफ्ना दुईजना साथीभन्दा पक्कै राम्रो गरिरहेको होला।

साभार : नेपालखबर डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*