Latest News

नयाँ सन्देश बोकेको चलचित्र ‘मैंरिमो’

पूर्ण गुरुङ –

संसारमा भएको नयाँ–नयाँ प्रविधिको विकास सँगसँगै चलचित्रको विकास पनि दिन दुईगुना र रात चौगुनाको हिसाबको विकास भइरहेको अवस्थामा नेपाली चलचित्रको विकासमा पनि नयाँ आयाम थपिएको छ । नेपाली चलचित्रको विकास सँगसँगै नेपालका विभिन्न भाषाभाषीका चलचित्रहरु बामे सर्न लागेको छ भन्न उपयुक्त नै होला । त्यसमा पनि पछिल्लो समय अरु भाषाभाषीका चलचित्रहरुमध्ये गुरुङ अर्थात् तमु चलचित्रको निर्माणले अलि गति लिएको आभास हुन्छ ।आदिवासी जनजातिहरुमध्येको एक गुरुङ जाति पनि परापूर्वकालदेखि नै रहरले वा बाध्यताले विदेशिएका छन् ।

गाउँ छाडेर सहर बजार झर्ने संस्कारले अरु जातिहरुको जस्तै गुरुङहरुको भाषा, कला र संस्कृति पनि ओझेलमा पर्दै आएकोमा दुईमत छैन । आधुनिकता सँगसँगै ओझेलमा पर्दै आएको गुरुङहरुको भाषा, कला र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने, गुरुङहरुको इतिहास, वर्तमान अवस्थालाई चित्रण गर्ने र विशेष गरेर गाउँले परिवेशलाई प्राथमिकतामा राखेर करिब सयभन्दा बढी गुरुङ चलचित्रहरु निर्माण भइसकेका छन् ।

आपूm पनि गुरुङ त्यसमा पनि १२ वर्षको उमेरमा बसाइँसराईको क्रममा तराईमा बसोबास गर्न पुगेकोले पनि पछिल्लो समय गुरुङहरुको भाषा, कला र संस्कृतिप्रति मेरो चासो अलिक बढी नै छ । त्यसैले पनि समयले साथदिएसम्म प्रायः गुरुङ चलचित्र हेर्ने गर्छु । गत हप्ता ‘मैंरिमो’ (मिस–यु) अर्थात् सम्झिरहेको छु भन्ने गुरुङ चलचित्र हेर्ने मौका मिल्यो । गुरुङ भाषामा बनेको चलचित्रले परापूर्वकालदेखि चल्दै आएको वैदेशिक रोजगारलाई जोडदारले प्रस्तुत् गर्न खोजिएको छ । गाउँले परिवेश, गाउँप्रतिको माया, विदेशिने संस्कारलाई देखाउन खोजिएको चलचित्रमा मायाप्रेम, सत्कार, आदार आदि कथामा देख्न सकिन्छ । दुईभाइ टुहुराको कथामा बनेको सो चलचित्रमा भाइलाई शिक्षित बनाउन दाइले खेलेको भूमिका, विदेशिने संस्कारले रिक्तिएको गाउँ, खाडीमुलुकको यात्रा, देवर–भाउज्यूको सम्बन्ध, गाउँले परिवेशलगायत विषयलाई निर्देशक भोजबहादुर गुरुङले राम्रोसँग पस्कन खोजेको छ ।

प्रेम गुरुङ र सपना गुरुङले निर्माण गरेको चलचित्रमा छोटो समयमा नै दर्शक तथा श्रोताको मन जित्न सफल ‘ऐ ङोल्स्यो, ए ङोल्स्यो’ बोलको गीतले चलचित्रको आकर्षण थपेको छ । गुरुङ भाषामा निर्माण गरिएको चलचित्र भए तापनि सो चलचित्र गुरुङ जातिहरुको कथावस्तुलाई मात्र होइन समग्र नेपालीको कथालाई समेट्नु चलचित्रको सवल पक्ष मान्न सकिन्छ ।

अत्यन्त सरल कथा र मनैछुने संवाद भए तापनि चलचित्रको प्राविधिक पक्ष भने त्यति चित्त बुझेन तर कलाकारहरुको जीवन्त अभिनय, हुनसक्ने वास्तविक कथा र रमणीय दृश्यका कारण सबैले एकपटक चलचित्र हेर्नै पर्ने देखिन्छ । चलचित्र हेर्दा अहिलेसम्म बनेका गुरुङ चलचित्रहरु भन्दा अलिक फरक कथा र शैलीमा बनेको देखिन्छ । साथै, सो चलचित्रमा अनावश्यक र झ्याऊ लाग्ने दृश्य कहींकतै भेटिँदैन । छोटोमा भन्नु पर्दा चलचित्रले अलिकति भएपनि धार परिवर्तन गर्न सफल भएको छ अर्थात् केही नयाँ सन्देश बोकेको अनुभूति हुन्छ । सो चलचित्र युनिटले छिट्टै बेलायतमा पनि प्रदर्शनको तयारी गरिरहेको सुन्नामा आएकोले एकपटक सबैले हेर्न मौका नगुमाउन हुन सल्लाह दिन चाहन्छु ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*