Latest News

नायिका रजनी गुरूङको व्यस्तता बढ्दै

तुलमान गुरूङ
नारायणगढ ।

चर्चित हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’मा ‘मंगली’को भूमिकामा देखिएपछि नायिका रजनी गुरूङको परिचय एकाएक चुलियो ।
‘मेरी बास्सैमा’ उनी बुद्धि तामाङ (हनुमाने)को श्रीमतीको रूपमा प्रस्तुत भएकी छिन् । स्याङ्जामा जन्मिएकी रजनी सानैबाट नाचगानमा निकै रूचि राख्थिन् । उनको प्रतिभा देख्नेहरू पनि कलाकारिता क्षेत्रमै जम्नसक्ने सम्भावना भएको व्यक्ति भन्थे । हुन पनि अहिले उनको परिचय कलाकारिता क्षेत्रबाटै फराकिलो बन्दै गएको छ ।
परिवारले पनि नाचगानलाई रूचाउने हुँदा उनलाई कलाकारिता क्षेत्रमा आउनको लागि खासै समस्या परेन । विगत सात वर्षदेखि कलाकारिता क्षेत्रमै भविष्य खोजिरहेकी रजनी हाल पोखरा बसेर यसैलाई निरन्तरता दिँदै आइरहेकी छिन् । अहिले उनी स्थापित भइसकेकी छिन् । ‘रजनी’भन्दा पनि ‘मंगली’ नामबाट बढी परिचित भएको उनको महसुुस छ ।
उनले अभियान फिल्मस्को ब्यानरमा निर्मित गुरूङ भाषाको चलचित्र धिँ अर्थात् घरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले लगातार प्ह्रेँस्यो (दुलही), भ्रँे (पाहुना), प्रे सोना (सँगै बाँचौँ), ‘सुराग’लगायतका दर्जनभन्दा बढी गुरूङ चलचित्रमा काम गर्ने अवसर पाइन् ।
बीचमा उनले ठूलो पर्दामा पनि काम गर्ने अवसर पाइन् । निश्चल बस्नेत निर्देशित नेपाली कथानक चलचित्र ‘टलकजंग भर्सेस टुल्के’मा पनि उनले काम गरिन् । केही समयअघि मात्रै चलचित्र ‘मट्टीमाला’को छायाँकन सकाएकी गुरूङ अहिले अर्को चलचित्र ‘साली कस्को भेनाको’को सुटिङमा व्यस्त छिन् ।
‘मट्टीमालाको रेकर्डिङ सकेर पनि प्रमोशनको लागि हिँडिरहेका छौँ,’ उनी भन्छिन्, ‘अहिले फेरि नयाँ फिल्म मट्टीमालाको सुटिङमा व्यस्त छु ।’ चलचित्र ‘मट्टीमाला’मा मेरी बास्सैमा सँगै देखिएका हनुमाने (हैट्) अर्थात् बुद्धि तामाङको जोडीको रूपमा देखिएकी रजनी ‘साली कस्को भेनाको’मा भने विल्सनविक्रम राईको जोडीको रूपमा काम गरिरहेकी छिन् ।
कलाकारिताको क्षेत्रमा प्रवेश गरेदेखि नै उनी निकै व्यस्त छिन् । यही बीचमा उनले एउटा जापनिज चलचित्र ‘द एभरेष्ट सबमिट अफ गड’मा समेत अभिनय गरेकी छिन् । उनले ‘दुक्ताङ गाउँ’, चारभञ्ज्याङ पर्वत (लोकदोहोरी), मोटर गयो घान्द्रुक गाउँ पाखैमा (लोकदोहोरी), झम्के फुली (देउडा)लगायत करिब दर्जनभन्दा बढी म्युजिक भिडियो पनि अभिनय गरिसकेकी छिन् ।
घरपरिवारको पनि राम्रो साथ पाएकै कारण नेपाली रंगमञ्चको क्षेत्रमा आफू सफल हुन पाएको उनको बुझाई छ । उनको लागि सानो पर्दा र ठूलो पर्दामा खासै फरक छैन । ‘सानो पर्दा र ठूलो पर्दामा काम गर्दाको अनुभव उस्तै हो,’ उनले भनिन्, ‘तर, म्युजिक भिडियोमा भने अलि फरक हुन्छ । किनकि म्युजिक भिडियोबाट छिटो प्रतिक्रिया आउँछ ।’
अहिले ‘साली कस्को भेनाको’ चलचित्रमा पुराना कलाकारहरूसँग काम गर्न पाएको भन्दै उनी थप्छिन्, ‘म त स्ट्रगल गर्दैछु ।
समयले साथ दिएसम्म म पनि यो फिल्डमै हुनेछु । हरेक फिल्ममा फरकफरक कलाकारहरूसँग काम गर्ने अवसर पाएकी छु । अहिलेको नयाँ फिल्ममा पनि आफूभन्दा सिनियर कलाकारहरूसँग काम गर्न पाएको छु । मलाई उहाँहरूबाट पनि धेरै कुराहरू सिक्ने मौका मिलेको छ ।’
रजनीले नृत्य र अभिनयको लागि कुनै पनि तालिम लिएकी छैनन् । तर, नृत्यमा जति पाृख्त छिन् अभिनयमा पनि उत्तिकै अब्बल छिन् । भन्छिन्, ‘म यो गर्छु र उ गर्छु भन्दिन, पाएसम्म सबै खालको अभिनय गर्न सक्छु भन्ने लाग्छ ।’
अभिनेता माओत्से गुरूङको नजरमा पनि रजनी गुरूङ एक सफल कलाकार हुन् । ‘मैले रजनीसँग चलचित्र ‘भ्रेँ’ र ‘सुराग’मा काम गर्ने मौका पाएको छु,’ उनले भने, ‘उनी राम्रो क्षमता भएको कलाकार हुन् ।’
कतिपय नायिकाहरू क्षणिक रमाइलो र रहर पूरा गर्नको लागि मात्रै कलाकारिता क्षेत्रमा आउने गरेको अवस्थामा नायिका रजनी फरक खालको कलाकार भएको उनले बताए । ‘रजनीको कलाकारिता धेरै राम्रो देखेको छु,’ उनी भन्छन्, ‘अन्य चलचित्रमा गरेको अभिनय हेर्दा पनि पनि लाग्छ यत्तिको ट्यालेन्ट कलाकार सजिलै भेट्टाउन मुस्किल छ । किनकि उनी एकै प्रकारको भूमिका मात्रै नभई सबै खालको चरित्र निर्वाह गर्न सक्ने नायिका हुन् ।’
अहिले रजानीले कलाकारिताकै माध्यमबाट देशविदेश घुमिरहेकी छिन् । बढी व्यस्त भएकोले पनि कतिपय गर्न मन लागेका चलचित्रमा काम गर्ने अवसर गुमेकोमा भने उनलाई पछुतो लाग्छ । ‘बढी व्यस्तताले गर्दा धेरै सफल मानिएका चलचित्रहरूमा काम गर्ने अवसर पनि गुमाएकी छु,’ उनी भन्छिन् । सबै कलाकारलाई उत्तिकै सम्मान गर्ने रजनीले अब भने दयाहाङ राई र सौगात मल्लसँग काम गर्ने इच्छा भएको बताइन् ।

साभार : चितवनपोष्ट डट्कम