Latest News

पर्दामा नयाँ माझी

मंसिर १८, २०७३- गुरुङ सिनेमाका सेलिब्रेटी डाइरेक्टर तथा एक्टर हुन, माओत्से गुरुङ । गुरुङ संस्कार–संस्कृतिमा आधारित नेपाली तथा गुरुङ भाषाका आठ फिल्म निर्देशन र दुई दर्जन ज्यादा फिल्ममा अभिनय जो गरिसकेका छन् । आदिवासी जनजाति चलचित्र महोत्सवमा उनका फिल्महरूले अवार्ड जित्नु सामान्य भइसकेको छ । तर होचो कद र चिम्सा आँखाधारी माओत्सेको चिनारी अब भाषिक सिनेमामा मात्र सीमित रहेन, मूलधारका नेपाली फिल्मका दर्शकमाझ पनि प्रिय बनिरहेका छन्, पुरानो डुंगा मार्फत । अर्थात् पुरानो डुंगाले उनलाई नयाँ परिचय दिलाएको छ ।
रमाइलो त के भने एकातिर विषयवस्तुको गहनतालाई नपहिलाई मसला घोल्न मस्त भएको भन्दै निर्देशक रामबाबु गुरुङले चर्को आलोचना खेप्नुपरेको छ, अर्कातिर फिल्ममा दयाहाङ राई र प्रियंका कार्कीजस्ता गिनेचुनेका स्टार छन् । तर यही रापबीच माओत्से चर्चाको केन्द्रमा छन् । आखिर फिल्मको वजनदार पक्ष भनेकै उनको चरित्र र अभिनय नै हो । उसो त उनीप्रति प्रेम मात्र छैन, सहानुभूति पनि छ । किनभने यसको कथा उनी आफैंले लेखेका हुन् अनि फिल्म हेरेपछि सामान्य दर्शकले पनि पहिल्याउन सक्छ, मूलकथामाथि कसरी अन्याय भएको छ ।

माओत्से आफैंलाई आफ्नो कथा पर्दामा हेरेपछि कस्तो लाग्यो त ? काठमाडौंको प्रिमियरमा उपस्थित भएर पोखरा फर्किसकेका यी अभिनेताले फोनमा सुनाए, ‘आधुनिकता र माछा मार्न हुने/नहुनेजस्ता राज्यका विभिन्न नियमले ताल परवरका माझीहरू कसरी विस्थापित भइरहेका छन् भन्ने कथालाई मार्मिक शैलीमा उधिन्ने कन्सेप्ट थियो मेरो । रामबाबुलाई भेटेपछि मरमसला थप्ने कुरा भयो, खासगरी अलि व्यावसायिक बनाउने उद्देश्यले । त्यसले गर्दा मूल विषयमा केही तलमाथि भएको छ ।’ maotse-3

कथा र चरित्रप्रति माओत्से बढी नै संवेदनशील हुन्छन् । उनी निर्देशक भएर मात्र होइन, थिएटरबाट कलाकारिता सुरु गरेकाले पनि । जसले उनलाई कथामा विश्वसनीयता र अभिनयमा जीवन्तता खोज्न घच्घचाउँछ जहिल्यै । सिनेमामा पाइला राख्नु पहिल्यै रंगमञ्चको अब्बल अभिनेताका रूपमा स्थापित भइसकेका थिए उनी । अहिले सिनेमा जस्तै, त्यति बेला नाटकबाट उनको ख्यातिले पोखरा र आसपासको क्षेत्र ‘क्रस’ गरिसकेको थियो । यसको शृंखला सुरु हुन्छ, कास्कीको बेगनास तालबेसीबाट ।

कास्कीकै हंसपुर गाविस–७ मा जन्मिएका माओत्सेको बाल्यकाल तालबेसीमा बित्यो । परिवार गुरुङ भए पनि समाज मिश्रित थियो, बाहुन, क्षत्री, दलित, मगर सबै बसोबास गर्थे । उनी हुर्कंदै गर्दा रोधी, घाटु र सोरठी तालबेसीबाट लोप भइसकेको थियो । गुरुङको जात्रा, पर्व, नाचलाई नजिकबाट नियाल्ने मौका जुरेन तर उनी स्कुल पढ्दै गर्दा पोखराबाट ओमप्रकाश गुरुङ चाडबाड र बिदाको बेला तालबेसी पुग्थे, नाटक र नाच सिकाउँथे । जब नाटकका लागि कलाकार आवश्यक पथ्र्यो, माओत्से पहिलो रोजाइमा पर्थे । फुच्चे भए पनि पात्रमा आफूलाई ढाल्ने प्रयास गर्थे । अनि त जति नाटक खेले, सबैबाट वाहवाही । माओत्से सम्झन्छन्, ‘अहिले लाग्छ, त्यति बेलै ममा नाटक र अभिनयको भूत सवार भएको थियो । अनि चरित्र र वास्तविकताबीचको अन्तर थेरधोर भेउ पाएँ ।’

एसएलसी पास गरेपछि जब पोखरा हानिए, पहिले क्याम्पस होइन, अभिनय सिक्ने थलो खोज्न भौतारिए । पूरा पोखरा छापा मारेपछि फेला पर्‍यो, त्रिवेणी कल्चर सेन्टर । कालिका क्याम्पसमा भर्ना हुँदा भन्दा त्रिवेणीमा छिर्न पाउँदा दंग परे । ०५० तिरको प्रसंग हो यो । जति बेला भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) पढेको एक तन्नेरी अभिनय सिकाउन पोखरा फर्किएको विषय ‘हटकेक’ बनिरहेको थियो । उनले त्रिवेणीमा पनि अभिनय सिकाउने भएपछि त माओत्सेको मन चंगाझैं उडिहाल्यो । पोखरेली रंगमञ्च तताउने अरू कोही नभएर अनुप बराल थिए ।

कतिसम्म भने अनुपलाई पहिलो पटक भेट्दा माओत्से पूरै ‘नर्भस’ । आँखा जुधाएर कुरा गर्नु त परको कुरा, हात पसिनाले निर्थुक्कै । ‘त्यसअगाडि हामीलाई अभिनयको नाममा कसरी रुने, कराउने, हाँस्ने, चिच्याउने मात्र सिकाइएको थियो । तर अनुप सरले पात्रमै बाँच्न प्रेरित गर्नुभयो,’ माओत्से भन्छन्, ‘चरित्र निर्माण, पात्रको भित्री र बाहिरी स्वरूप सिकाउनुभयो । आज पनि म आफ्नो ठाउँबाट त्यही सिकाइ प्रयोग गर्छु ।’

अनुपको प्रशिक्षणसँगै माओत्सेको अभिनय यात्राले रफ्तार लियो । क्याम्पसभन्दा नाटकमा बढी रमाउन थाले । त्यही सिलसिलामा पहिलो स्टेज नाटक गरे, परित्याग । दीपकमान निर्देशित यस नाटकमा उनी नकारात्मक भूमिकामा थिए । त्यसलगत्तै पोखरेली तन्नेरीसँग मिलेर दीर्घजीवी नाट्य समूह खोले ।

दुई दर्जन नाटक खेले भटाभट । अनुप निर्देशित मलामी नाटकले उनलाई ०५६ सालमा उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड नै दिलायो । त्यति बेला काठमाडौंमा सम्भावनाका ढोकाहरू प्रशस्त थिए तर पोखरा छोडेनन् कहिल्यै । माओत्सेप्रतिको सम्मान अग्लो हुनुको कारण यही हो, उनी ठूलो भाग खोज्दै राजधानी छिरेनन् । आफ्नै समुदायमा रहेर आफ्नै कथा भनिरहे, अच्चमै भो, भ्रे (पाहुना), सुराग, जुनीजुनी, नरे आदि–आदि फिल्म बनाए, जुन यात्रा आज पनि जारी छ ।

त्यसो त काठमाडौंसँग कुनै कनेक्सन नभएकै भने होइन, नवीन सुब्बाको ‘दलन’ टेलिफिल्ममा देखिए, सदमान पात्रका रूपमा । टेलिफिल्म सकिएको दशक बित्न लागिसक्यो तर अझ कतिले उनलाई सदमान भनेरै जिस्काउँछन् । अघिल्लो वर्ष प्रदर्शित ‘कबड्डी कबड्डी’ उनको पहिलो फिचर फिल्म हो, जसमा उनी जो गाउँको स्वच्छ छविको नेताको चरित्रमा देखिएका छन् । त्यही फिल्ममा काम गर्दा–गर्दै रामबाबु एन्ड टिमसँग जोडिए र पुरानो डुंगालाई खियाउन थाले । maotse-2

तर पुरानो डुंगाको इहलीला त्यहींबाट सुरु भएको चाहिँ होइन । कर्णदासको एउटा चर्चित गीत छ, ‘पुरानो ढुंगा, पानीको छाल… ।’ यो गीतको भिडियोमा तालमा डुंगा चलाएर जीविका चलाउने माझी माओत्से नै हुन् । भन्छन्, ‘तर पाँच मिनेटको भिडियोमा माझीको कथा भन्न सम्भव थिएन । त्यसैले ताल वरपरका सामान्य व्यक्तिको कथा, सपना, जिन्दगीलाई फराकिलो र बृहत् रूपमा भन्नुपर्छ भनेर त्यही बेला क्लिक भएको थियो । कथा बुन्दै गर्दा दशक बितेछ ।’ तर उनको डुंगाप्रेम त्यहाँबाट सुरु भएको होइन । खासमा उनी डुंगा, ताल, जाल र माछासँगै हुर्किएका हुन् । उनी बच्चै हुँदा रूपा तालको ‘क्रेज’ मा उनका बुबाले माछा पालेका थिए । त्यहाँसम्म पुग्न डुंगा चलाउनुपथ्र्यो । डुंगा खियाउन मात्र होइन, घोप्टाउन र पौडी खेल्न त्यहींबाट सिके ।

स्टोरी तयार पारेपछि उनलाई आफैं निर्देशन गर्छु भन्ने थियो । तर पछि दाइ भक्तेको भूमिकामा गर्नुपर्ने भयो । डुंगा खियाउन, जाल बुन्न र हान्न त उस्ताद भइहाले तर समस्या थियो मोटो ज्यानको । माझीको ज्यान मोटो हुँदा पात्रले जीवन्तता पाउँदैन भनेर निर्देशकले ज्यान घटाउन आदेश दिएका थिए । उनले हाँस्दै सुनाए, ‘निर्देशकले १० किलो घटाउनुपर्छ भन्नुभएको थियो । तीन महिना खानामा कन्ट्रोल गरें, नियमित अभ्यास गरें तर जम्मा एक किलो घटेछु ।’

ज्यान नघटे पनि मनले पात्रलाई आत्मसात् गरेपछि के चाहियो र, पर्दामा उनी हुबहु माझी लाग्छन् । त्योभन्दा खुसीचाहिँ, नेपाली हिरोको परम्परागत मानकमा पटक्कै नअटाए पनि केन्द्रीय भूमिकामा देखिए, तैपनि दर्शकले स्विकारेका छन् । यसलाई उनी सिनेमाप्रति दर्शकको मनोविज्ञानमा आएको परिवर्तनको परिणाम मान्छन् । भन्छन्, ‘जुन समुदाय, जाति, वर्ग, लिंग, स्थान, धर्मको कथा भए पनि मन छुने शैलीमा भन्दा दर्शकले मन पराउँछन् भन्ने प्रमाणित भएको छ । नयाँ कथासँगै हामीले पनि मुख्य भूमिका पाएका छौं ।’

शंकै छैन, पुरानो डुंगापछि माओत्सेलाई काठमाडौं र मूलधारको फिल्मले स्वागत गर्ने माहोल सिर्जना भएको छ । तैपनि यतातिर उनको रत्तिभर मन छैन । किन ? भन्छन्, ‘भाषिक सिनेमामा मैले चाहेको कथा मेरै शैलीमा भन्न पाउँछु तर नेपाली सिनेमामा त्यस्तो सम्भावना रहेनछ । फेरि यतैबाट कमाइ घरपरिवार चलेकै छ । अनि किन अन्त मन डुलाउनु ?’

यस्तो लाग्छ, पुरानो डुंगाबाट माओत्सेले सिकेको पाठ हो यो ।

source : ekantipur.com

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*