Latest News

पोखरामा घाँटु सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

हुम तमु

पोखरा, २ असार

हिमाली साँस्कृतिक परिवार पोखरा र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले पोखरामा नेपाली लोक संस्कृति घाँटु सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि सँस्कृतिविद, प्राध्यापक डा.जगमान गुरुङले घाँटु यस क्षेत्रका गुरुङ लगायत आदिवासी जनजातिहरुले अप्नाउदै आए पनि मौलिक सँस्कृति घाँटु संरक्षणका लागि प्रदेश सरकारले योजना बनाउनुपर्ने बताउनुभयो।सँस्कृति राज्यको सम्पत्ति भएकाले संरक्षण र विकास गर्ने दायित्व राज्यकै रहने भन्नुहुदै प्रदेशका मुख्य मन्त्री आफै पनि घाँटु र मौलिक सँस्कृतिका जानकार भएकाले विशेष ध्यान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।उहाँले सँस्कृति संरक्षण र विकासका लागि प्रदेशमा विषयगत प्रज्ञा प्रतिष्ठान स्थापना गर्न सरकारको ध्यान पुगोस् भन्नुभयो।

डा.गुरुङले घाँटुका बारेमा विचार व्यक्त गर्नुहुदै घाँटुको गीत संगीतमा शक्ति भएको बताउनुभयो।उहाँले बाह्रमासे, सति र कुसुण्डा घाँटुका विविध पक्षको जानकारी गराउनुहुदै लोक सँस्कृति जातिय समुदायसँग नभई राष्ट्रिय सँस्कृतिको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले घाँटु सँस्कृति गुरुङ समुदायले मात्रै संरक्षण र विकास गरिरहन सक्दैन, सरकारले पहल गर्नुपर्ने बताउनुभयो। घाँटु लगायतको मौलिक नृत्यहरुको अभिलेखिकरण गरेर विद्यालयहरुमा पठन पाठनको गराउनुपर्नेमा जोड दिनुहुदै उहाँले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लागि बजेट अत्यन्तै न्युन रहेको गुनासो गर्नुभयो। अहिले रहेको तीन वटा प्रज्ञाप्रतिष्ठानहरु गाभेर एउटै बनाउने सरकारले प्रस्ताव गरेको जानकारी दिनुहुदै गाभिने होइन एकेडेमीहरु बृद्धि गर्दै विषयगत गर्नुपर्ने सुझाव दिनुभयो।

कार्यशाला गोष्ठीमा घाँटु गुरु गुरुआमाहरुले घाँटुका प्रकार, घाँटुको महत्व, घाँटु नृत्यको प्रकृया लगायत विविध पक्षमा आ—आफ्ना अनुभव सुनाउनुभएको थियो।

लमजुङ दुराडाडाकी घाँटु गुरुआमा १०३ वर्षिया सोमा दुराले घाँटुमा शक्ति एवं सत्यता भएको भन्नुहुदै सति घाँटुको गीत प्रस्तुत गर्नुभएको थियो।

यसरी नै लमजुङ कुम्लुङका घाँटु गुरु उमरबहादुर गुरुङले घाँटु गुरुङ जातिको सँस्कृति हो र होइन भन्नुभन्दा पनि लोक सँस्कृति नेपालीको हो भनि जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बाह्रमासे, सति घाँटुको बारेमा चर्चा गर्नुहुदै कुसुण्डा घाँटु घाँटुकै हाँगाको रुपमा रहेको बताउनुभयो।

लमजुङ डडुवा दुर्छाका घाँटु गुरु केमबहादुर गुरुङले बाह्रमासे घाँटुका बारेमा चर्चा गर्नुहुदै घाँटु लोप हुदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। बढ्दो आधुनिकता, पश्चिमा सँस्कृतिको अतिक्रमण र युवाहरु घाँटुप्रति आकर्षित नहुदा क्रमिक रुपले लोप हुदै गएको बताउनुभयो।

यस्तै गरी तनहु क्यामिन सामलीका घाँटु गुरुआमा तुलसा गुरुङले सति घाँटुको विभिन्न चरणका बारेमा प्रष्ट पार्नुभएको थियो। लोक सँस्कृति संरक्षणका लागि आफुहरुले सामलीमा घाँटु संरक्षण गरिराखेको बताउनुहुदै साँस्कृतिक सम्पत्तिको महत्व बुझ्नुपर्ने बताउनुभयो।

वरिष्ठ सँस्कृतिकर्मी चेतन कार्कीले लोक सँस्कृतिको महत्व शासकहरुले नबुझेको भन्दै धिक्कार्नुभयो।हिमाली साँस्कृतिक परिवारका प्रमुख संरक्षक कार्कीले लोक सँस्कृतिको धनी पश्चिमाञ्चललाई सिंगार्न घाँटुको महत्वपुर्ण भुमिका रहेको भन्नुहुदै कलाकारलाई सजाउने गहनाको रुपमा मात्रै हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ भन्नुभयो। उहाँले सँस्कृतिको महत्व नबुझ्दासम्म प्रज्ञा प्रतिष्ठानहरु कागलाई हर्ष न विस्मात हुने बताउनुभयो।

प्रदेश नं. ४ सभा सदस्य कृष्ण थापाले सँस्कृति संरक्षण र विकासका लागि आवाश्यक कानुन बनाउन आफुहरु तयार रहेको बताउनुभयो। सँस्कृतिले बैभव मुलुक समृद्ध हुनुपर्नेमा त्यसो हुन नसकेकाले गाँउ गाँउमा सरकार पुगेकोछ, साँस्कृतिक अधिकार सुनिश्चित गर्न सँस्कृतिकर्मीहरु विशेष पहल हुनुपर्ने उहाँको भनाई थियो। प्रदेश सरकारले ३ सय होमस्टेको योजना प्रस्तुत गरेको छ ती होमस्टेलाई घाँटु लगायतका सँस्कृतिले सिगार्नुपर्ने सुझाव दिनुहुदै सँस्कृति विकासका लागि आवाश्यकता अनुसार एकेडेमी स्थापना गर्न पहल गरिने बताउनुभयो।

नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले सँस्कृति पुस्ताहस्तान्तरण गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा रहेका तीन वटा प्रज्ञा प्रतिष्ठान गाभेर सकारले एउटै बनाउन खोज्नु कला, गीत,संगीत, सँस्कृतिलाई संकुचित बनाउन खोल्नु भन्दै उहाँले प्रदेश नंं ४ मा तीवन वटै प्रज्ञा प्रतिष्ठान स्थापना गर्नुपर्ने माग गर्नुभयो।हिमाली सास्कृतिक परिवारको लोक सँस्कृति जोगाउने अभियानहरुको प्रसंसा गर्दै नेवा खल पनि नेवारी मौलिक सँस्कृति संरक्षणमा जुटेको बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले घाँटु कार्यशाला गोष्ठीहरुले पोखरामा बनाउने योजना रहेको साँस्कृतिक ग्रामलाई सार्थक बनाउन टेवा पुग्ने बताउनुभयो। प्रदेश सरकारले प्रस्तुत गरेको साँस्कृतिक ग्रामको योजनालाई साथ दिन आग्रह गर्नुहुदै लोक सँस्कृतिलाई विश्वव्यापीकरण गर्नका लागि सोेच्नुपर्ने बताउनुभयो।

कार्यशाला गोष्ठीमा घाँटुका विषयमा प्रमुख संरक्षक चेतन कार्की, साहित्यकार पदमराज ढकाल, सँस्कृतिकर्मी बुद्धिमान दुरा, नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ, परिवारका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा लगायतले प्रमुख अतिथि सँस्कृतिविद डा.जगमान गुरुङलाई जिज्ञासा राख्नुभएको थियो। उक्त कार्यक्रममा पोंचोकों तमु समाजका कलाकारहरुले घाँटु प्रस्तुत गरेका थिए।

हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागतका साथै कार्यक्रमको उद्धेश्यबारे जानकारी गराउनुभएको थियो भने सचिव श्रीजंग गुरुङले कार्यक्रम संचालन गर्नुभएके थियो।