Latest News

बहिराको हस्पिटालिटीमा चल्छ कास्कीको हिमालयन देउराली रिसोर्ट

????????????????????????????????????

जकसन डटकम
पोखरा, २८ भदौ
बोल्नसमेत नसक्ने बहिराहरुले रिसोर्टमा काम गर्छन् भन्ने सुन्दा अचम्म लाग्ला । तर अचम्म नमान्नुस्, कास्कीको हिमालयन देउराली रिसोर्टमा ८ जना बहिराहरुले ब्यबसायीक रुपमै जागिर खान थालेका छन् । बोल्नसमेत नसक्ने बहिराहरुले होटलको हस्पिटालिटीमा जागिर खान शुरु गरेका हुन् । सम्भवत यसरी होटल तथा रिसोर्टमा बहिराहरुले काम गरेको नेपालमै पहिलो घटना हो र बहिराहरुलाई हस्पिटालिटीमा जागिर दिने हिमालयन देउराली पहिलो नेपाली रिसोर्ट भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ देउरालीमा पर्ने यो रिसोर्टमा ८ जना बहिराहरुले काम गर्छन् । संघीय समाजवादी फोरम नेपालका नेता गणेशमान गुरुङले सञ्चालन गरेको यो रिसोर्टमा ५ पुरुष र ३ महिला बहिराहरुले काम गर्नेगरेका छन् । उनीहरुले वेटर, किचन, गार्डेनलगायतका क्षेत्रमा काम गर्नेगर्छन् ।

रिसोर्टमा यसरी बहिराहरुलाई जागिरको अवसर दिने रिसोर्टका सञ्चालक गुरुङ नभई उनकी धर्मपत्नी तथा रिसोर्टकी प्रबन्ध निर्देशक बिन्दा रायमाझी हुन् । एक वर्षअघी २ जनालाई ट्रायलको रुपमा जागिर दिएकी उनले अहिले ८ जना कर्मचारी बहिरा मात्रै पु¥याएकी छन् । शुरुमा ट्रायलको रुपमा राखेकी थिएँ–उनले भनिन्,‘उनीहरुको माया, आत्मियता र कामप्रतिको लगाव देखेर ८ जनासम्म पु¥याएकी हुँ ।’

कुल १८ जना स्टाफ रहेको रिसोर्टमा करीब आधाजस्तो कर्मचारी बहिरा भएपनि हस्पिटालिटी र सर्भिसमा कुनै समस्या नरहेको उनले दाबी गरिन् । प्लस टुसम्म अध्ययन सकेका उनीहरु तालिम बिनानै रिसोर्टमा काम गर्न आएका हुन् । सुन्न र बोल्न नसक्ने भएकाले उनीहरुलाई टे«निङसमेत नगराउने गरेको रायमाझीको भनाई छ । तालिम दिएर काममा लगाए पर्फमेन्स झनै राम्रो हुनसक्ने भन्दै रायमाझीले भनिन्,‘टाठा छन्, पढेका छन्, तर तालिम लिन पाएका छैनन्, तालिम नलिई त यति राम्रो काम गर्छन् भने तालिम लिए झन् कति राम्रो गर्थे होलान् ? सांकेतिक भाषा नबुझ्दा भने कहिलेकाहिं समस्या हुनेगरेको रायमाझीको बुझाई छ । यद्वपी आफूले धेरै हदसम्म उनीहरुको सांकेतिक भाषा बुझ्ने र फर्काउनसक्ने भएको उनले बताईन् । पर्यटक तथा ग्राहकलाई भने सांकेतिक भाषाका कारण कहिलेकाहिं कठिनाई हुनेगरेको उनले सुनाईन् ।

बहिरा कर्मचारी गुरुङ दम्पतीका लागि स्टाफ मात्र हैनन्, बरु परिवारकै सदस्य बनिसकेका छन् । उनले भनिन्,‘काम भन्दा पनि उनीहरुको आमित्यताका कारण पारिवारिक अट्याचमेन्ट छ, उनीहरु मलाई आमा भन्छन्, सम्मान र माया गर्छन् ।’काममा पनि सबलाङ्ग जत्तिकै बहिराहरुले पनि काम गर्ने उनको मूल्याङ्कन छ । काममा भिन्नता छैन–उनले भनिन्,‘बरु कहिलेकाहिं रिसाए भनेचाहिं फकाउन गाह्रो छ ।’

अन्य कर्मचारीहरुको जस्तै बहिराहरुको पनि समान ज्याला छ । मासिक ८ हजार तलब बुझ्छन् । खान बस्न रिसोर्टमै हुन्छ । ग्राहकले तिर्ने १० प्रतिशत सर्भिस चार्ज पनि उनीहरुलाई दामासाहीले बाँढेर दिनेगरेको प्रबन्ध निर्देशक रायमाझीले बताईन् । त्यसका अलावा पर्यटकले दिने टिप्स उनीहरु आफैले लिन्छन् ।

पोखरादेखी झण्डै २५ किलोमिटर पश्चिम पोखरा–बागलुङ हाइवे नजिकै पर्ने यो रिसोर्ट २०६७ सालदेखी सञ्चालनमा आएको हो । २०५५ सालमै निर्माण शुरु गरेपनि द्वन्द्वका कारण निर्माण रोकिएपछि झण्डै एक दशकपछि मात्रै सञ्चालनमा ल्याएको रिसोर्टका सञ्चालक गणेशमान गुरुङले बताए ।

गुरुङको ३ सय ३० रोपनी जग्गा मध्ये ७ रोपनी क्षेत्रफलमा रिसोर्ट निर्माण गरिएको छ । जग्गाबाहेक ६ करोड खर्चेर निर्माण गरिएको यो रिसोर्टमा ६ वटा भिल्लामा २४ वटा रुम रहेका छन् । ८ वटा सुपर डिलक्स र १६ वटा डिलक्स रुम रहेको गुरुङले जानकारी दिए । सबैमा गरेर हाल ५० जनासम्म अटाउने क्षमता रहेको यो रिसोर्ट बिस्तार गरेर ५० वटा रुम र एक सय जनासम्मको क्षमताको बनाउने योजनामा रहेको उनले बताए । सँगै किचन र रेष्टुरेण्ट छुट्टै छ ।

डिलक्स रुमको विदेशी पर्यटकका लागि सिंगललाई ७० डलर र जोडीलाई ९० डलर चार्ज लाग्ने प्रबन्ध निर्देशक रायमाझीले जानकारी दिईन् । तर नेपालीका लागि भने सिंगललाई ३ हजार र जोडीलाई ३ हजार ५ सय चार्ज लाग्ने उनले बताईन् । यसैगरी सुपर डिलक्समा बस्न चाहनेले १५० डलर तिर्नुपर्ने हुन्छ, जसमा लजिङ फुडिङ दुवै समावेश हुने उनले जानकारी दिईन् ।

रिसोर्ट रहेको ठाउँबाट ८ हजार मिटर माथिका अन्नपूर्ण, धौलागिरी र मनास्लु हिमाल देख्न सकिन्छ । त्यो मात्रै हैन रिसोर्टबाट माछापुच्छ्रे हिमाल केवल १० किलोमिटरमात्र नजिक रहेको रिसोर्टबाट हिमश्रृंखलासँगै प्राकृतिक छटापनि अवलोकन गर्न मिल्छ ।

टे«किङको जिरो प्वाइन्टको रुपमा समेत यो ठाउँलाई चिनिने सञ्चालक गुरुङले बताए । उनले भने,‘पहिले पहिले यहि ठाउँबाट टे«किङ यात्रा शुरु हुन्थ्यो र फर्कदा पनि ट्राञ्जिट प्वाईन्ट यहि हुन्थ्यो ।’विदेशी पर्यटकमा चाईनिज, जापनिज र जर्मन नागरिक प्राय गरी बस्न आउनेगरेको उनले बताए । अब नेपाली पर्यटक लक्षित गरेर रुम थप्ने योजना बनाएको उनले सुनाए ।

रिसोर्टमा आफैले उत्पादन गरेका अर्गानिक खानेकुरा आफूले पकाएर पर्यटकलाई खुवाउने गरेको सञ्चालक गुरुङको भनाई छ । उनका अनुसार दाल, चामल, तरकारीदेखी मासुजन्य बस्तुपनि आफैले उत्पादन गरेर किचन पाक्ने गर्दछ । लोकल कुखुरा, हाँस, लौकातलगायतका पन्छी तथा खसी, बोकासमेत आफैले उत्पादन गर्नेगरेको उनले बताए । उनले पानीसमेत मूलको भएको पर्यटकले मीठो मानेर पिउने गरेको अनुभव सुनाए ।

साभार : जक्सन डट्कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*