Latest News

बुढयौलीमा जन्मदर्ता

आश गुरुङ, कोल्की (लमजुङ)

फाल्गुन १२, २०७३- इलमपोखरी ८, नमार्खुकी पानु गुरुङले ६६ वर्षको भएप्छि बल्ल नागरिकताको प्रमाणपत्र लिइन् ।

कोल्कीको भञ्ज्याङमा आयोजित घुम्ती शिविरमा बुढ्यौलीमा उनको जन्मदर्ता भयो । यसको केहीबेरमै उनले २००७ साउन १५ को जन्ममिति कायम गरी बुबा मंगले गुरुङको नामबाट वंशजका आधारमा नागरिकता पाइन् । ‘सानैमा भागेर विवाह भयो । सानैमा छुट्टियो । अहिले कोही छैन, केही पनि छैन । लिनुदिनु पनि छैन,’ उनले भनिन्, ‘बुढेसकालमा भत्ता पाउन पनि नागरिकता चाहिँदो रहेछ ।’

उनका भाइ खड्गबहादुर गुरुङका अनुसार बुबा नभएकाले आफूसहित गाउँलेको सनाखतका आधारमा दिदी (पानु) को नागरिकता बनेको हो । कोल्की ६, सिम्लेकी सन्तकुमारी कामीले शिविरमै जन्मदर्ता, विवाहदर्ता गरेर नागरिकता लिइन् । ०४६ भदौ २४ गते जन्म भएको दर्ता कायम गरेका उनले पति मेखबहादुर कामीसँग ०४६ माघ १२ मा विवाह भएको दर्ता गाविस सचिव विश्वबन्धु पौडेलबाट गराएर नागरिकता लिएकी हुन् ।

इलमपोखरी ९ की सन्तमाया तामाङले ०३७ वैशाख १५ गते जन्म र ०६२ फागुन १७ गते विवाह भएको दर्ता कायम गरी ३६ वर्षको उमेरमा नागरिकता लिइन् । इलमपोखरीका गाविस सचिव रमण बरालका अनुसार उनको यसअघि जन्म, विवाह दर्ता र नागरिकता थिएन । कोल्की २, तस्योकी प्रतिमा गुरुङले शिविरमै जन्मदर्ता र विवाह दर्ता गरी नागरिकता लिएको बताइन् । कोल्की ९ की मेलिना तामाङले पनि शिविरमै जन्मदर्ता र विवाह दर्ता गरी नागरिकता लिएको बताइन् । ‘नागरिकता बनाउन आएका अधिकांश महिलाको तत्कालै जन्म र विवाहदर्ता भयो । त्यही ठाउँबाट वडा मुचुल्का, अनुसूची भर्ने र सिफारिसको काम भयो,’ गौंडा गाविस सचिव माधवप्रसाद चापागाइँले भने, ‘गाउँलेमा अझै समयमै जन्म, विवाह, मृत्युदर्ता गर्नुपर्छ र कागजपत्र बनाउनुपर्छ भन्ने चेतनाको अभाव छ ।’

प्रजिअ मोहनबहादुर जीसीले ग्रामीण भेकका नागरिकका लागि पायक पर्ने ठाउँमा नभई गाउँगाउँमै पुगेर नागरिकता प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘गाउँ विकटमा छन् । नागरिकता लिन २/४ हजार खर्च गरेर आउन नसक्ने पनि छन्,’ उनले भने, ‘नागरिकप्रति उत्तरदायी र जवाफदेही हुन गाउँमै सेवा दिएका हौं ।’ उनले हरेक गाविसमै पुगेर सेवा दिने तयारी गरिएको बताए ।

सहायक प्रजिअ तीर्थबहादुर अधिकारीले घुम्ती शिविरबाट ६६ जनाले नयाँ नागरिकता लिएको र १८ जनाले प्रतिलिपि लिएको बताए । तर, नयाँ नागरिकता लिएकाहरू मतदाता नामावलीमा नाम लेखाउन छुटेको स्थानीय धनबहादुर गुरुङले बताए । ‘सरकारले सोमबार साँझ वैशाख ३१ मा चुनावको घोषणा गर्‍यो । फोटोसहितको मतदाता नामावली संकलनका लागि आएको निर्वाचन कार्यालयको टोली दर्ता गर्न नमिल्ने भनेर फर्कियो,’ उनले भने ।

शिविरमा ८२ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । महिला विकास निरीक्षक देवी शर्माले ९ जनालाई अपांगता परिचयपत्र वितरण गरेको बताइन् । उनका अनुसार शिविरमा नागरिकता लिएका अपांगता तथा ज्येष्ठ नागरिकले परिचयपत्र बनाएका थिए ।

यस्तै जिविसले गरेको सार्वजनिक सुनुवाइमा स्थानीयले खानेपानी, विद्युत्, सडकलगायतको समस्या रहेको गुनासो गरेका थिए । जिल्ला कृषि विकास कार्यालयले काँक्रो, घिरौंला, रामतोरिया, करेलोलगायत २ सय सेट तरकारीका बीउ वितरण गरेको बागबानी विकास अधिकृत रामचन्द्र सेढाईंले बताए । पशु सेवा कार्यालयले पशुको आकस्मिक ज्वरो घटाउने, परजीवीविरुद्ध प्रयोग गर्ने औषधिहरू, कमजोर तथा गर्भिणी जनावारलाई प्रयोग गरिने भिटामिन, बाहय परजीवीविरुद्ध प्रयोग गरिने विषादी, भौगोलिक रूपमा सञ्चालन गर्न सकिने फार्महरूका मोडल साथै पशुपक्षीपालक उपचारका प्राविधिक सल्लाह दिएको थियो ।

स्रोत = ई कान्तिपुर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*