Latest News

‘मनको बाबरी’ले जित्यो मन

असार ११, २०७४- माओत्से गुरुङद्वारा निर्देशित फिल्म ‘मनको बाबरी’ लाई पोखरेली दर्शकले रुचाएका छन् । अन्धविश्वास र रूढिवादी संस्कारविरुद्धमा उभिएको ‘मनको बाबरी’ हेर्न पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार दशर्कको घुइँचो लाग्यो ।

दुई सो देखाइएको उक्त फिल्म हाउसफुल भएको थियो । पोखराको बिरौटाबाट फिल्म हेर्न पुगेकी लक्ष्मी गुरुङले आँसु थाम्न सकिनन् । अन्धविश्वासकै कारण फिल्ममा नायक र नायिकाबीचमा उत्पन्न दरारले मन छोएको उनले बताइन् ।

फिल्म हेरर निस्किएका मुस्ताङ चोकका दलबहादुर गुरुङले समाजमा रहेका कुसंस्कारलाई न्यूनीकरण गर्न ‘मनको बाबरी’ ले भूमिका खेल्ने बताए । उनले फिल्मले स्थानीय भूगोल र संस्कृतिलाई टपक्कै टिपेको प्रतिक्रिया दिए ।

माओत्से गुरुङ फिल्म्सको ब्यानर र एन्सर्ज गुरुङको प्रस्तुति रहेको फिल्मको निर्माण एन्सर्ज र हेमन्त गुरुङले संयुक्त रूपमा गरेका हुन् । माओत्से गुरुङकै लेखनमा तयार भएको फिल्मले औंसिया परेकाको बिहे नहुने र बिहे भइहाले पनि अनिष्ट हुने अन्धविश्वास तोडिनुपर्ने सामाजिक सन्देश बोकेको छ । निर्मातासमेत रहेकी नायिका एन्सर्ज गुरुङले फिल्ममा ‘बाबरी’ को भूमिका निभाएकी छन् । औंसिया परेकै कारण उनी र नायक गमन घले (विमल) बीचको प्रेममा उत्पन्न हुने बाधाअड्चनलाई फिल्ममा देखाइएको छ । स्याङ्जाको पेल्काचौरमा छायांकन गरिएको फिल्मले लाहुरे संस्कृति, गुरुङ रहनसहन, ग्रामीण परिवेशलाई पनि समेटेको छ । बाबरीको भेनाको भूमिका निभाएका धनबहादुर गुरुङ (डीबी), पण्डितको भूमिकामा देखिएका केदारनाथ पौडेल र सूचीकारको भूमिकामा देखिएका राजेन्द्र थापाको अभिनयले पनि दर्शकको मन जितेको थियो । तीनै जनाको हास्य अभिनयले दर्शकलाई मनोरञ्जन दिलाएको थियो ।

निर्देशक माओत्से गुरुङले फिल्म युनिटले सोचेअनुरूप नै दर्शकको प्रतिक्रिया पाएको बताए । ‘अन्धविश्वासको कुरालाई मात्रै देखाउँदा फिल्म धेरै गम्भीर बन्न सक्छ,’ उनले भने, ‘त्यसैलाई व्यंग्यात्मक र चोटिलो तरिकाले देखाउन सक्यौं भने दर्शकले मनोरञ्जन पनि लिन्छन् ।’ मनोरञ्जन र सन्देशलाई सँगसँगै लैजान फिल्ममा हास्य रसको मिश्रण गरेको उनले जनाए । नायक गमन घलेले फरक कथावस्तुमा बनेको फिल्मा अभिनय गर्न पाउनु आफ्नो लागि सुखद भएको बताए । गुरुङ फिल्ममा एकलौटीजस्तै कब्जा जमाएका यी नायकले अहिलेसम्म खेलेमध्येकै राम्रो प्रतिक्रिया ‘मनको बाबरी’ बाट पाएको सुनाए । निर्माता एवं नायिका एन्सर्ज गुरुङले फिल्ममा ४० लाख रुपैयाँ लगानी भएको बताइन् । विभिन्न स्थानमा हुने च्यारिटी सोबाट लगानी सुरक्षित हुने आशा उनले व्यक्त गरिन् । ‘असार २३ गते राष्ट्रिय नाचघरमा देखाउँदै छौं,’ उनले भनिन्, ‘युके, हङकङ, दक्षिण कोरिया, अमेरिका र जापानमा पनि प्रदर्शन हुँदै छ ।’

फिल्ममा गमन घले, एन्सर्ज गुरुङ, राजु गुरुङ, डीबी गुरुङ, सूर्य सुनुवार, राजेन्द्र थापा, एनबी गुरुङ, सीता गुरुङ, सोम गुरुङ, केदारनाथ पौडेल, विनु गुरुङ, इशु गुरुङ, यामकुमारी क्षेत्रीलगायतको अभिनय छ ।

हरि लामा घलेको छायांकन रहेको फिल्मको सम्पादन राजेन्द्र खड्काले गरेका हुन् । तमु सहयोग समिति पार्दीको भवन मर्मत सहयोगार्थ शनिबार फिल्म प्रदर्शन गरिएको थियो ।

साभार ;ई कान्तिपुर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*