Latest News

मौलिक शैली जोगाउन घुमाउने घर

भाद्र २०, २०७३- पुराना शैलीका घर दिनदिनै घटेका छन्। सहरिया शैली गाउँमा भित्रिरहेका बेला यहाँ भने परम्परागत शैली जोगाउन ‘घुमाउने घर’ निर्माण गरिएको छ।

घुमाउने घर बनाउने चलन हराएपछि स्थानीयले सामूहिक घर निर्माण गरेका हुन्। १ देखि ६ नम्बर वडाका स्थानीयले गाउँमाथिको थुम्काडाँडामा घुमाउने घर बनाएका हुन्। ‘पुरानो जमानामा यस्ता घर पनि थिए भनेर देखाउन एउटा भए पनि बनाएका हौं,’ निर्माण समिति अध्यक्ष कृष्णबहादुर गुरुङले भने। उक्त घर निर्माण गर्न गाउँका करिब दुई सय घरबाट प्रतिधुरी एक हजार रुपैयाँका दरले चन्दा संकलन गरिएको उनले बताए। ‘आमा समूह, युवा क्लब, विदेशमा रहेका आफन्त सबैबाट सहयोग जुटायौं,’ उनले भने, ‘बाउबाजेको सीप हराउन थाल्यो। उनीहरूले बनाएका संरचना हराउन थाले। यसबारे सबैको चासो कम हुँदै गयो। यो चिनो हो।’
ढुंगाको छपनीले छाइएका घरमा ढुंगामाटोको गारो लगाइएको छ। काठका झ्यालढोका छन्। चिम्ट्याइलो रातोमाटो र सेतो कमेरोले घर पोतिएको छ। आँगनमा ढुंगा बिच्छ्याइएको छ। ‘भित्र अगेनो, अगेनोमाथि भार, खोपाहरू, पानीका गाग्री राख्ने गग्रेटो र तला चढ्ने भर्‍याङ पनि छ,’ उनले भने, ‘बाहिरीको पिँढीमा ढिकी र जाँतो पनि छ।’ यसलाई संग्रहालयका रूपमा विकसित गरिने उनले बताए। गिलुङ गाविसमा ३ सय ४१ घरधुरी छन्। आमा समूहकी अध्यक्ष शोभा गुरुङका अनुसार यहाँका गाउँ–गाउँमा पहिले थुप्रै घुमाउने घरहरू थिए। ती पुराना घर अहिले भत्किसकेका छन्। घुमाउने घर निर्माण भएपछि गाउँमा आउने पर्यटक–पाहुना, कर्मचारी तथा स्थानीयले आएर हेर्ने गरेका छन्। स्थानीय अगुवा इन्द्रबहादुर गुरुङका अनुसार परापूर्वकालमा गाउँ स्थापना हुँदा लाम्छाने थरका गुरुङका पितृलाई भुजुङबाट ल्याउने क्रममा बीच बाटोमै बिरामी परेर मृत्यु भएको थियो। तिनै पितृ दिवंगत भएको ठाउँको ढुंगा ल्याएर उनको स्मरणमा घर बनाइएको हो। ‘यसले एकातिर गिलुङको इतिहास झल्काएको छ भने अर्कातिर पितृप्रतिको समर्पणलाई उजागर गर्न खोजिएको छ,’ उनले भने।
उनका अनुसार डाँडाको थुम्कामा घुमाउने घरसँगै क्वेंच्हो देवीस्थान (मन्दिर) पनि छ। यहाँ समय–समयमा पूजा हुन्छ। वरिपरि विभिन्न प्रजातिका फूल र अन्य वृक्षरोपणसमेत गरेर उक्त क्षेत्रलाई आकर्षक बनाइएको उनले बताए।
आमा समूहकी सचिव दौपती गुरुङका अनुसार अग्लो स्थानमा भएकाले उक्त ठाउँबाट सूर्योदय र सूर्यास्तको दृश्य देख्न सकिन्छ। लमजुङ, तनहुँ, कास्की, स्याङ्जा लगायतका भू–भागका साथै माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ लगायत दर्जनभन्दा बढी हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने गिलुङ कास्कीसँग सिमाना जोडिएको छ। पोखराबाट लेखनाथ हुँदै बेगनासबाट लमजुङको रामबजार हुँदै गिलुङ पुग्न सकिन्छ। यस्तै, सदरमुकाम बेंसीसहरबाट भोर्लेटार हुँदै वा तनहुँको दमौलीबाट भोर्लेटार हुँदै करापुटार–रामबजार भएर गिलुङ पुग्न सकिन्छ। गिलुङसम्म बस सेवा सञ्चालनमा छ।

सभार : इकन्तिपुर डट् कम्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*