Latest News

म अझै थाकेकी छैन : भद्रकुमारी घले

फाल्गुन २५, २०७३- बहुआयमिक प्रतिभा भएकी भद्रकुमारी घलेले अन्तर्राष्ट्रिय नारी दिवसको केही दिनअघि ८६ औं जन्मोत्सव मनाइन् । तर, उनको जोश र जाँगर यो उमेरको जस्तो पटक्कै लाग्दैन । आफ्नै जन्मदिनको अवसर पारेर यही फागुन फागुन १९ गते उनको २२ वटा पुस्तकको एक साथ लोकार्पण गरिन् । यो २२ वटा पुस्तकसमेत गनेर उनका कृतिको संख्या १ सय ४० पुगेको छ । त्यही रातपनि उनले दुई वटा कविता कोरिन् र एउटा डायरी लेखिन् । उनी भिन्छन्, ‘म अझै थाकेकी छैन ।’

वि.सं. १९८८ फागुन १९ गते काठमाडौंको मैतीदेवीमा नेपाली सेनाका जागिरे पिता कृष्णबहादुर घले र माता भक्तकुमारी घलेकी माइली छोरी भद्रकुमारी के हुन् भन्दा पनि के होइनन् भन्ने प्श्न उठ्छ । उनी लेखिका मात्र होइनन्, राजनीतिकर्मी थिइन्, उनी पाँच पटक त राष्ट्रिय पञ्चायतकै सदस्य वनिन् । सहायक मन्त्री बनिन् पछि पूर्व राजपरिषद् स्थायी समितिकी सदस्यसम्म भईन् । उनी चित्रकार पनि छिन् । केही बर्षअघिसम्म उनी हरेक नारी दिवसका दिन एकल चित्रकला प्रदर्शनी गर्थिन् ।

केटी मान्छेले पढ्न हुन्न भन्ने जमानामा उनले भारतको बनारसबाट शास्त्री गरिन् । तर, त्यसमा अडिएनन्, पाँच वर्षे विनिता, मिडवरी नर्स, जनरल नर्स पढिन् । तर, उनको बिशेष लगाव महिला सशक्तिकरण र समाज सेवामा नै रह्यो । ८६ बर्षको उमेरमा पनि उनी राजधानीको अनामनगरमा ‘भद्रकुमारी घले सेवा सदन’ चलाउछिन् । आफ्ना सबै सम्पति तिनै सदनको नाममा राखेकी छिन् । सदनभित्र वाचनालय, पुस्तकालय, संग्रहालय, आर्ट ग्यालरी, उपभोक्ता सहकारी संस्थाका साथै विद्यालय पनि सञ्चालन गरेकी छिन् । योग गर्ने ठाउँ, गुम्बा, जेष्ठ नागरिक समाजका निम्ति पनि सेवाहरु उपलब्ध छन् ।  त्यही सदनभित्र निम्न वर्गका २५ भन्दा बढी परिवारले आश्रयसमेत पाएका छन् । तिनको राजगारी, सी विकास र बालबालिकाको शिक्षादीक्षा त्यही सदनले नै गर्दै आएको छ । उनी आफैले पनि बिभिन्न खाले पुरस्कार कोष स्थापना गरेकी छिन्, अरु संघसंस्थामा पनि पुरस्कारहरुको लागि अक्षयकोष स्थापना गर्न सहयोग गरेकी छिन् । उनी दान दिइ रहन्छिन्, चावहिलमा पशुपति क्याम्पस रहेको जग्गा समेत उनैले दान गरेकी हुन् ।

उनै अविवाहीत भद्रकुमारी घले जीवन धेरैको लागि उदाहरणीय बन्न सक्छ । उनले हरेक क्षेत्रमा गरेका संघर्ष र सफलताले प्रेरणादिन सक्ने देखेर उनका अनुभूतीहरु उनकै शब्दमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यहाँ प्रस्तुत गरिएको छ ।
राजनीतिमा प्रवेश 
दिलबहादुर श्रेष्ठ अञ्चलाधीश भएर जनकपुर आएका थिए । मेरो आमाले भन्नुभयो, ‘नयाँ अञ्चलाधीश आएको छ । तँ त पढेलेकेको छस् मलाई भेटाउन लैजा न ।’ म त्यतिखेर बनारसमा शास्त्री पढ्दै थिएँ । म छुट्टीमा घर आएको थिएँ । त्यसअघि जनकपुरमा म नर्स हुँदाखेरी धेरैले मेरो काम मन पराएका रहेछन् । दिलबहादुर श्रेष्ठलाई चिनीहरुले महिला संगठनमा भद्रकुमारी घलेजस्तो चाहिन्छ । अरुलाई हुँदैन, भनेका रहेछन् ।
हामी आमा–छोरी अञ्चलाधीश कार्यालयमा गयौं । त्यहाँ पुगेर भक्तकुमारी र भद्रकुमारी घले भेट्न आएको कुरो भित्र पुग्यो । हामी अफिसभित्र लगेर राख्यो । ‘ए सुब्बा, जा एक रुपेको अबिर किनेर ले । अनि त्यो महिला संगठनको नियमावली पनि ले ’ अञ्चलाधीसले अह्राए ।
‘तपाई भक्तकुमारी घले हो ?’
‘हो, हजुर’ मेरो आमाले भन्नुभयो ।
‘तपाईकी छोरी भद्रकुमारी घले शास्त्री पढ्दैछ बनारसमा ?’
हो, हजुर भनेर नमस्कार गरें मैले ।
त्यसपछि मलाई टीका लगाइदिएर भने, ‘ल अब तपाई महिला संगठन जनकपुरको अञ्चल सभापति । लौ यो विधान र नियमावली लिऊ ।’ यो घटना २०१७ साल जाँदो र २०१८ साल लाग्दाको हो । त्यो बेला बनारसमा शास्त्रीको थेसिस लेख्नु पथ्र्यो । अन्तिम् बर्षको थेसिस लेख्दै थिएँ । बुझाउन बाँकी थियो ।
शास्त्री पढेर फाइनल थेसिस लेख्दै गरेको मान्छे परियो । त्यो नियमावली नबुझ्ने कुरै रहेन । त्यसमा प्रत्येक जिल्लामा ११ वटा गाउँ पञ्चायत कमिटी गठन गर्नुपर्ने रहेछ । त्यही कमिटीको मान्छे ल्याएर जिल्ला कमिटी गठन गर्नुपर्ने रहेछ । सर्लाहीमा मेरो आफन्त लोकबहादुर जर्साबको आमा हुनुहुन्थ्यो । उहाँलाई भेट्न गएँ । कमिटी गठन गरें । त्यसपछि महोत्तरी र धनुषामा पनि कमिटी गठन गरें । चार–पाँच दिनमै कमिटी गठनको रिपोर्ट बुझाएँ । छक्क पर्‍यो, अञ्चलाधिश दिलबहादुर श्रेष्ठ । त्यसपछि सिन्धुली मेरै जिल्ला भयो । दोलखा मेरो मावली जिल्ला, रामेछापमा गठन गर्न धेरै गाह्रो भएन । एक महिनाको छुट्टीमै महिला संगठन गर्न भ्याएँ । त्यसपछि बनारस थेसिस बुझाउन गएँ ।
बनारस पुग्न पाएको छैन यता अञ्चलाधीश कार्यालयबाट दिनको तीनवटा ट्रंकल आउन थाल्यो । छिटो आइज यहाँ माननीय लड्नुपर्छ भनेर । त्यतिबेला मलाई थाहा थिएन, माननीय भनेको । राष्ट्रिय पञ्चायतको माननीय भन्छ । मैले सम्झें अन्त राष्ट्र होला भनेर । अन्तराष्ट्रको प्रतिनिधि हो कि जस्तो लाग्यो ।

म नेपाल आएँ । जनकपुरमा सूर्यबहादुर श्रेष्ठ चुनाव आयोगको सेक्सन अफिसर भएर आएका थिए । नाम नोमिनेसन गर्न दुई सय रुपैयाँ चाहिन्छ भन्यो । विद्यार्थीसंग दुई सय रुपैयाँ हुने कुरै थिएन । फर्केर काठमाडौं आएँ । कहाँ जाऊँ, कसो गरौं भन्ने भयो । भुवनेश्वरी सत्याल मेरो साथी, उसको बाबु बद्रीप्रसाद थपलिया भक्तपुरमा कमिसनर रहेछन् । बेलुका बास बस्न गएँ । उहाँलाई बुवा भन्थें म । मलाई पाँच सय रुपैयाँ सापटी चाहियो भनें । त्यही सापटीबाट नाम नोमिनेसन गरें मैले माननीयमा । यो २०१८ सालको कुरो हो । पञ्चायती व्यवस्थाको पहिलो माननीयमा जितें मैले । मेरो राजनीतिमा प्रवेश यसरी अप्रत्यासित रुपमै भयो ।

पाँच पटक माननीय
कमल शाहजी महलिा संगठनको सभापति थिइन् । तपाई माननीय भएपनि केन्द्रीय सभापति भएपनि एउटा रोज्नोस् भनियो । उसले दुईटै चाहिन्छ भन्यो । यसलाई दुईटै चाहिने रहेछ । अब देखाउनु पर्छ भन्ने लाग्यो । मेरो हातमा १ सय १५ भोट थियो । मेरो अञ्चलको संगठन बलियो थियो । अरुको त्यस्तो संगठन व्यवस्थित थिएन । मैले राम्रो संगठन गरेको थिएँ । मैले भक्तपुरमा ल्याएर राखें । भोटरलाई आफ्नै घरको चामल, दाल, गुन्द्रुक ल्याएँ । सबै जनालाई भोटको दिन काठमाडौं ल्याएँ । महादेवको बराती जस्तो एक–एक जना बुन्द्रुङ बुन्द्रुङ गाउँका आइमाईहरू झर्दा सबै छक्क परे । मैले जसलाई भनें उसले जित्यो । बिमला मास्केलाई जिताएर कमल शाहलाई हराइयो । कमल शाह जुद्धशमशेरकी छोरी । उनको पक्षमा कीर्तिनिधि विष्ट, इन्द्रमणि, रामहरि शर्मा थिए । उनीहरुलाई पाकेट खर्च दिदोरहेछ, कमलले ।
मकललाई हराएपछि थुप्रै भए मेरो पछि लाग्ने चाकडीवाजहरु । तिनीहरुले कमल शाहलाई जसरी पनि ल्याउनु पर्छ  भन्थे । त्यसपछि म, कमल शाह र तरुलता रायमाझी हामी तीनजना महिला संगठनमा रह्यौं । म मनोनिततिर गइन । चाकडी, चाप्लुसी, चुक्ली हाल्यो भने हुने हो । म त्यतातिर लागिन । म चुनावै लडें पाँच चोटी । जनमत संग्रह (२०३६ साल) पछि वर्गीय संगठनको प्रतिनिधि हटेपछि आफ्नो क्षेत्र सिन्धुली गएँ । मैले तेरिमा मोरा हो, महिला भनेर हेप्ने ? मलाई डेलिगेसनमा नलैजाने । ल आइज, कसकसको सिङ छ लामो ? म सँग लड भनेको हराइदिएँ । क्षेत्रीय प्रतिनिधि भएँ, पाँच वर्षको लागि । त्यो नै अन्तिम थियो । पञ्चायती व्यवस्थामा म र मेरो आमाले सिन्धुलीको विकासमा सकेको जति गर्‍यौं  । त्यत्ति अरुले गरेनन्, त्यस बेला ।

बनारसमा पनि संघर्ष 
म बनारसमा पढ्दा जाँदा त्यहाँ लेडिज (महिला) ले पढ्दैनथे । को–एड एजुकेसनको पहिलो महिला विद्यार्थी हुँ म । ‘विनिता’ भन्ने शिक्षा पास गरेको, छ/सात क्लासको मात्र मान्यता दियो । अनि त्यहाँ गान्धी दर्शनको ठूलो सेमिनार भएको रहेछ । त्यहाँ गएर टेबल ठोकें । यो के पढाएको हँ ? अब यो बुढेसकालमा छ–सात कक्षामा गएर पढ्ने? भनेपछि ती दादाधर्माधिकारी, काका कल्याणकरहरुसंगै काशी विद्यापीठको प्रिन्सिपलकोमा डेलिगेसन आइयो । अनि मागअनुसार विनितालाई म्याट्रिक सो सरहको मान्यता दिइयो । त्यसपछि सय–डेढ सय महिला विद्यार्थी भर्ना हुन आए । पहिलो विद्यार्थी म । प्रिन्सिपल साहेब, प्रोफेसर साहेब, लेक्चरर साहेब सबैको भद्रा दिदी म । जहाँ जाँदा पनि भद्रा दिदी लैजानु पर्ने । अनि केटाहरु त टाउको उठाएर हेर्नै सक्दैनथे । केको भद्रा दिदीलाई बोलाउथे । प्रिन्सिपल साहेब भद्रादिदीलाई बोलाऊ, केटीहरुलाई फलाना ठाउँ लैजानु छ भनेर नेतृत्वका जिम्मेवारी दिन्थे । खेलकुद, पिकनिक, भ्रमण सबैतिर भद्रा दिदीको नेतृत्वमा पठाउथे ।

म टीका चुरा केही लाउँदिन । सेतो लुगा विधवाले बर्खी बारेजस्तो धारण गर्छु । जसका कारण कुनै कुपुरुषको आँखा ममा नपरोस् । म गान्धीबाट साह्रै प्रभावित भएर ममा सन्त प्रकृति आएको हो । साह्रै कडा व्रतको पालना गर्ने गरेको थिएँ । कुनै प्रकारको शृंगार नगर्ने र एक्लो लोग्नेमान्छे भएको कोठाभित्र पस्दै पस्दिन थिएँ । लोग्ने मान्छेहरुले आँखा उठाएर मेरातर्फ हेर्न हिम्मत गर्दैनथे । मैले आफूलाई साह्रै व्यस्त राखें । त्यसैले होला वासनामय भावनाले मलाई कहिल्यै छुन सकेन र ग्रसित पार्न पनि सकेन । जे पनि आदत र बानी हो । खुर्सानी खाइरहेमा खुर्सानी खाने बानी बस्छ । रक्सी खाइरहेमा रक्सी खाने बानी बस्छ । जसले छुँदै छुएन भने कसरी त्यसको बानी बस्ने ? त्यसैले मेरो जीवनमा तरुनाई कहिले चढ्यो, कहिले झर्‍यो त्यो मैले पत्तै पाइनँ । मेरो संगतका साथीहमा पनि यस्ता खाने लाउने वासनामय कुरोलाई कहिल्यै भएन । म यो सत्य भनिरहेकी छु ।
साहित्य सिर्जना
म केटाहरु जत्तिकै भेराटी सो, गीत, नाटक लेख्नेमा पनि च्याम्पियन थिएँ । काशी विद्यापीठमा भएका आइमाई र केटाहरुको ठूलठूलो समारोहमा नाटक देखाउने, गीत गाउने गराइदिन्थें । प्रोफेसर, प्रिन्सिपलहरु सबैजना दङ्ग पर्थे । त्यसअघि त्यस्ता सांस्कृतिक कार्यक्रमहरु गरेको रहेनछ । त्यसरी म प्रभावशाली भएर रहें । २००४ सालमा बनारस गएको थिएँ । त्यसअघि २००३ सालमा पद्मकन्या डिल्लीबजारमा ३ कक्षा पढेको थिएँ । मेरो बाजेले बबर शमशेरको छोरा अमीरहजुरसित चाकडी गरेर छात्रवृत्तिमा ‘विनिता’ पढ्ने मौका पाएँ । मेरो साथी भुवनेश्वरी सत्याल र मैले अवसर पायौं । हामी गान्धीआश्रम महाराष्ट्र गयौं । त्यहाँ विद्यार्थी आफैं–आफैंले नाटक देखाउनु पर्ने, गीत गाउनु पर्ने रहेछ । सबै समूहले जाहेर गरे । लौ नेपालीले पनि गर्नुपर्‍यो भने । यसो हेरेको आफैंले लेख्दा रहेछन् । गाउँदा रहेछन् । यसरी पो रहेछ भन्ने बुझें । मैले पनि लेखें:
हामी नेपाली, हाम्रो नेपाल
चिसो हावा, चिसो पानी
चिसो छाँगाको कलकल ध्वनि
मिठो मिठो मिठो पानी हाम्रो नेपालको….
यही मेरो पहिलो रचना थियो । गीत गाएर त्यसैमा समूह नाच प्रदर्शन गर्‍यौं । पछि त्यो गीत अभिनयसहित नाटकमै प्रस्तुत भयो । सबैले मनपराए । माननीय छँदा मैले मुमा बडामहारानीको हीरक जयन्तीमा आफैंले रचेर स्वागत गीत गाएँ । मलाई थाहा थिएन कि माननीयको स्टान्डर्ड केहो भन्ने । मजाले गाएँ, दनदनाएर ।
चित्रकलामा भद्रदिदी

मलाई तीनचोटि टीबीले आक्रमण गर्‍यो । काशी विद्यापीठमा पढ्दा नागपुर टीबी सेन्टरमा इलाज गराउन पुगें । डाक्टरले इलाज गर्न छ महिना बसेर कोर्स गर्नुपर्छ भन्यो । टीबी सर्ने खालको होइन भन्यो । खोकी, कफ, रगतमा कीटाणु नभएको रहेछ । मैले गान्धी आश्रममा गएर बस्न पाउ भनेर अनुरोध गरें । मलाई कोठा दिए । समय गुजार्न केही नयाँ काम गर्नैपर्‍यो । त्यहाँ चित्रकलाको मास्टर हुनुहुन्थ्यो, उषा देव भन्ने । उहाँसित केही सिकें । मैले महँगो रंग किनेर आर्ट गर्न सक्दिन भनें । उहाँले चिन्ता गर्नुपर्दैन ‘तुम इससे बनाओ’ भनेर रातो माटो, बेसार, नीर, काजल प्रयोग गर्न सिकाउनु भयो । मट्टितेलको दिपी बालेर माथिबाट कचौराले छोप्ने अनि त्यही मोसो बटुलेर चित्र कोर्ने । भारतीय नेता जति छन्, उनीहरुको चित्र बनाउन सिकें । कागज किनेर ल्याउँथें । अनि त्यसैमा मोसो घसीघसी चित्र बनाउँदा बनाउँदा हात बस्यो ।
पछि नेपाल फर्केपछि अन्तर्राष्ट्रिय नारी दिवसका दिनमा जहिल्यै मेरो चित्रकलाको ‘वान म्यान शो’ (एकल प्रदर्शनी) गराउँथें । सबभन्दा पहिले भृकुटीमण्डपमा राजा महेन्द्रबाट मेरा एकल चित्रकलाको उद्घाटन गराएको थिएँ । त्यसपछि राजा बीरेन्द्रले क्षेत्रीय भ्रमण हुँदा हेटौडामा मेरै चित्रकलाको उद्घाटन गर्नुभयो । त्यसपछि बडामहारानीहरुबाट नारी दिवसको दिनमा उद्घाटन गराउने मौका पाएँ । सालभरिको चित्रकला प्रदर्शनीमा राख्थें । यसरी राजधानीको भृकुटीमण्डपदेखि दार्जिलिङसम्म एक प्रदर्शनी गर्न पुगेको थिएँ ।

नारी सशक्तिकरणको प्रयास
पहिलो पटक माननीयमा नाम मनोनयन गर्न जाँदा दुई सय रुपैयाँ अर्कासँग सापटी लिएर नोमिनेसन गरेकी थिएँ । बिमला मास्केलाई महिला संगठनको केन्द्रीय अध्यक्ष जिताएपछि हामी माननीय भएर महिला उत्थानका सशक्त पहल थाल्यौं । हामीले इण्डियन दुतावासमा गएर ‘जुली’ पिक्चर (फिल्म) लिएर त्यसको च्यारिटी शो गर्‍यौं । त्यसबाट सबै खर्च कटाएर मोरङ, जनकपुर र काठमाडौं महिला संगठनले १६–१६ हजार रुपैयाँ बचाएर बाँड्यौं । अरु संगठनले के गरे थाहा छैन । मैले चाहिं १६ हजारको तुलसी मेहरकोमा बुनेको ठूलठूलो खास्टो किनें । त्यो खास्टो पुस–माघको जाडोमा सिन्धुलीको दनुवार गाउँमा लिएर गएँ । एउटा खास्टो एकमुरी धान मूल्य तोकेर दिएँ । त्यो सोह्र हजारको दुईसय थान खास्टो आएको रहेछ । त्यसवापत उठेको दुईसय मुरी धान सुकाइ, पकाइ गरेर एक सय मुरी बेचें । त्यो पैसाबाट घरेलु लुगा लगेर सदरमुकाममा घरेलु दुकान खोलें । हाम्रो साधारणसभामा प्रत्येक कर्मचारी र सभासदहरुले घरेलु लुगा लगाउनु पर्ने, हाम्रो महिला सिलाई बुनाईमा सिउनु पर्ने प्रस्ताव राख्यौं । घरेलुको चोलो, फरिया लाउनु पर्ने, पछ्यौरा ओढ्नु पर्ने, प्रत्येक कर्मचारीले एक–एक जोर दौरा, सुरुवाल र टोपी लाउनु पर्ने निर्णय गर्‍यौं । त्यसरी सबै लुगाहरु बिक्री गरायौं । हामीले घरेलुबाटै सिलाई मास्टर लिएर गएका थियौं । त्यसपछि सबै दिदीबहिनीहरुलाई तालिम दिलायौं ।

म २०१३–१४ सालमा जनकपुर अञ्चल अस्पताल सुरु गर्दाको नर्स हुँ । संस्थापक नर्स भएको हुनाले गाउँ घुम्दाखेरी पिसाब अड्किएको, टट्टी अड्किएर हुने समस्या बुझेको थिएँ । मैले त्यो बाँकी एक सय मुरी धानले सिन्धुलीको १८ गाउँ पञ्चायतको १८ जना आईमाईहरुलाई गाउँ सेविकाको तालिम दिलाएँ । सरकारसँग कुनै बजेट मागिन । कसैको पछि लागिन । आफ्नै पौरख, आफ्नै मिहिनेत, पसिनाले १८ जना केटीहरुलाई सदरमुकाममा राखेर तालिममा बसाएँ । सदरमुकामको अस्पतालका डाक्टरले कसरी क्याथेटर पास गर्ने, कसरी इनेमा दिने, हात–खुट्टा भाँचिए के गर्ने ? जस्ता स्वास्थ्य सेवाको तालिम दिए । त्यसैगरी सदरमुकामका कृषिका हाकिमले कसरी तरकारी खेती गर्नेबारे तालिम दिने व्यवस्था गरें । सिलाई बुनाईमा एकजना मास्टर्नी राखिएको थियो । उसले सरर लेख्न, खरर पढ्न सिकाउन लगाइयो । त्यसरी ज्ञान सिप लिएकी ग्राम सेविकाले प्रौढ कक्षा सञ्चालन गर्न सकोस् भन्ने धारणा राखेर एक वर्ष सदरमुकाममा तालिम दियौं । त्यसपछि १८ वटै गाउँ पञ्चायतबाट ती सबै ग्राम सेविकालाई प्रत्येक घरधुरीबाट वर्षको एक पाथी धान दिनुपर्ने प्रस्ताव पारित गराएँ ।

ती ग्राम सेविकाले कसैले नानी पाउन लागेको छ भने सेवा गर्न जानुपर्ने, दिउँसोको ड्युटी पर्‍यो भने दश रुपैयाँ र रातिको परे पन्ध्र रुपैयाँ दिनु पर्ने अनि खान र बस्न दिनु पर्ने नियम बनाइयो । त्यसरी १८ गाउँ पञ्चायतमा १८ ग्राम सेविकाको व्यवस्था गरें । सर्लाही, महोत्तरी, जनकपुर, सिन्धुली, दोलखा, रामेछाप सदरमुकाममा आईमाईहरुलाई सिलाई बुनाईको तालिम दियौं । दोलखामा त घरेलु तालिमै दिइयो । सिन्धुली सदरमुकाममा शिक्षार्थी नपाएर गाउँघरको कुनाकुनामा पुगेर खोजेर तालिम दियौं । त्यसरी महिलाहरुलाई सक्षम बनाउनु पर्छ । गाउँलाई सेवा दिन सक्नुपर्छ ।

त्यतिमात्र होइन, हामीले धर्मभकारी सञ्चालन गर्‍यौं । विघटी लगाएर, एक बिघा खेत हुनेले यति धान दिने भनेर लागु गर्‍यौं । त्यो उठेको धान बिक्री गर्‍यौं । त्यो पैसाले बर्खामासमा चाहिने नुन, चिनी, तेल, मट्टितेल, कात्रोको लुगा, रुद्रीपूजा गर्दा चाहिने सामानहरु ल्याएर व्यवस्था गर्‍यौं । त्यसो गर्दा एक–दुई जना मान्छेले काम पनि पायो । आवश्यक पर्नेले किन्ने वा उधारो चाहन्छ भने पछि ब्याजसहित तिर्नेगरी दिने गर्‍यौं । त्यसरी धर्मभकारीले राम्रो काम गरेको थियो ।

राम्रो काम नगरेको भएदेखिन मेरी आमा भक्तकुमारी घलेको पञ्चायत अम्बोटे पञ्चायतमा प्रधानपञ्च महिला, उपप्रधानपञ्च पनि महिला, नवै वडाका अध्यक्ष पनि महिला, ४५ जना गासस पनि महिला जित्न सफल हुने थिएन । हामीले जनताको विश्वास त्यसरी जित्यौं । मेरो आमाले सहाराविहीन धेरै महिलालाई आधार दिनुभयो । कन्यादान गर्नुभयो । मैले पनि त्यही सिको गरेर माननीय हुँदा, मन्त्री हुँदा र त्यसपछि अहिलेसम्म धेरैजनालाई सहारा दिएको छु । कन्यादान गरेको छु ।

स्रोत-ई कान्तिपुर डटकम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*