Latest News

यी हुन् भूकम्पपीडितको पीडामा मलमपट्टी लगाउने पत्रकार

दीपेन्द्र राई

गोरखा भूकम्प गएको दुई वर्ष बित्न लागेको छ । दुई वर्ष बित्न लागे पनि भूकम्प अति प्रभावित जिल्लाका भूकम्पपीडितको कथा÷व्यथा बीसको उन्नाइस भएको छैन । तर, सिन्धुलीको तीनकन्या गाउँ विकास समितिका भूकम्पपीडितको व्यथा बीसको दससम्म भएको छ । यो कसरी सम्भव भयो ? सोही गाविसका पत्रकार डण्ड गुरुङको साथसहयोग पाएपछि अन्य ठाउँका भन्दा तीनकन्याका भूकम्पपीडित भाग्यमानी हुन् ।

इच्छाशक्ति भयो भने एक व्यक्तिले समेत धेरै काम गर्न सक्दारहेछन् भनेर पत्रकार गुरुङको उदाहरणीय कामबाट पुष्टि भएको छ । एबीसी न्युज टेलिभिजन समाचार संयोजकसमेत रहेका उनले ‘रिपोर्टिङसँगै राहत’ अभियानमा मात्रै हिँडेनन्, भूकम्पपीडितलाई सहयोग गर्न चाहनेलाई साँच्चैका भूकम्पपीडितसम्म पुर्याउने पुलको काम गरे । उनी तीनकन्याका भूकम्पपीडितका लागि सच्चा समन्वयकर्ता हुन् ।
‘भूकम्पपीडितलाई सहयोग गर्न दोलखा पुगेको थिएँ,’ उनले सुनाए, ‘तमू बौद्ध सेवा समिति, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायत संस्थाले दोलखा पुगेर भूकम्पपीडितलाई पीडितकै हातमा पैसा दिए । त्यो कार्यक्रममा म पनि सहभागी थिएँ । भूकम्पपीडितले राहत पाएको समाचार दोलखाका एफएम रेडियोले प्रत्यक्ष प्रसारण गरेको थिए । मेरो बुवा तप्तबहादुर गुरुङले पनि समाचार सुनिरहनुभएको रहेछ । तुरुन्त फोन गरेर दोलखाका भूकम्पपीडितलाई गरेको सहयोगको सराहना गर्दै आफ्नै जिल्लाका भूकम्पपीडितलाई पनि केही गर्न सुझाउनुभयो ।’
बुवाले गाउँठाउँका भूकम्पपीडितलाई सहयोग गर्नुपर्छ भन्नुभए पनि उनीसँग स्रोत÷साधन थिएन । त्यही समय उनलाई कोरियाबाट मञ्जु गुरुङका श्रीमान् किम र किमका साथीको सहयोगमा कोरियाली व्यापारी र समाजसेवी नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने इच्छा भएको सुनाए । उनी कोरियाली सहयोगी लिएर तीनकन्या पुगे । उनीहरूले तीनकन्या–९ सिन्धुलीमा रहेको श्री वत्सला माध्यमिक विद्यालय किरातेका विद्यार्थीलाई स्टेसनरी र खेलकुद सामग्री वितरण गरे । सहयोग गर्न चाहनेलाई भूकम्पपीडितसम्म पुर्याउने कामले निरन्तरता पायो ।
सिन्धुली भूकम्प प्रभावित जिल्ला हो भन्ने उनलाई लागेकै थिएन । उनी भूकम्पपीडितलाई सहयोग गर्न चाहने व्यक्ति र संस्थासम्बद्ध प्रतिनिधिसँगै राहत वितरणका लागि धादिङ, गोरखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटसम्म पुगे । राहत वितरणसँगै समाचार लेखे । टेलिभिजनका लागि रिपोर्ट बनाए । प्रसारित समाचार तथा रिपोर्ट देखे÷पढेपछि सहयोग गर्न चाहनेले उनलाई सम्पर्क गर्थे । अनि पुनः सहयोगी लिएर भूकम्पपीडितसम्म पुग्थे ।
आठ हजारलाई त्रिपाल वितरण
बुवाले सुझाएपछि उनले आफ्नै गाउँठाउँका भूकम्पपीडितलाई राहत वितरण थाले । गाउँठाउँका अति प्रभावित भूकम्पपीडितलाई प्राथमिकतामा राखे । भूकम्पपीडित पहिचान गर्दै जाँदा धेरैले घामपानीबाट ओतिने त्रिपालसमेत नपाएको थाहा लाग्यो । कारितास नेपाललगायतको सहयोगमा करिब पत्रकार डण्ड गुरुङ आबद्ध रिलिभ नेपाल नामक गैरसरकारी संस्थाले सिन्धुलीका विभिन्न गाविसका भूकम्पपीडितलाई करिब आठ हजार त्रिपाल वितरण गर्न सफल भए । पहिल्यै पाएकाको त्रिपालसमेत घामपानीबाट ओतिन गाह्रो थियो । भूकम्पपीडितलाई जस्तापाता दिन पाए टहरासम्म बनाउन सक्थे भनेर मनमनै योजना बनाए । सहयोग गर्न चाहने सम्पर्कमा आइरहन्थे ।
सबैभन्दा पहिले बन्यो २० घर
पत्रकार गुरुङले मनमनै बनाएको योजनाले मूर्त रूप लियो । किरात याक्थुङ चुम्लुङ हङकङले तीनकन्याका भूकम्पपीडितलाई २० घर बनाइदिने प्रतिबद्धता जनायो । उसले प्रत्येक घरलाई दुई बन्डल जस्तापाता, तीन हजार रुपैयाँ र घर रंगरोगन गरिदिने जिम्मा लियो ।
उनीसँगै सहसम्पादकका रूपमा टेलिभिजनमा कार्यरत मिलन लिम्बूको समन्वयमा भएको त्यो अभियानमा उनैले जस्तापाता किनेर तीनकन्याका चार वडा पुर्याए । छनोटमा परेको परिवारले तत्काल घर बनाए । उनीहरूले यति छिटो घर बनाए कि सबै तीनछक परे । आवश्यकताले गर्दा भूकम्पपीडितले त्यति चाँडो घर बनाएका थिए । घर बन्यो । तीनकन्याको ६, ७, ८ र ९ नम्बर वडामा २० घर बनेको हो । अस्थायी भनिए पनि त्यही घरमा अहिले पनि भूकम्पपीडित बसिरहेकै छन् ।
‘बनेको घर सोसल मिडियामा राखें,’ उनले खुसी व्यक्त गरे, ‘पढेर धेरैले सहयोग गर्न थाले । नेपाल माउन्टेरिङ एसोसिएसन पूर्वअध्यक्ष जिङ्बा जाङ्बु शेर्पा, गुरुङ पर्यटन व्यवसायी संघ, सत्य साई केन्द्र युकेका सुष्मा गुरुङले सपोर्ट गर्नुभयो । एनजेएसआई नामक संस्था पनि हामीसँग जोडियो । त्यतिबेला प्रशासनिक झन्झटमुक्त रहन सहयोग गर्न चाहनेले पत्रकारको सहयोग लिन खोज्थे ।’
तीनकन्यामा मात्रै ३०० घरलाई जस्तापाता
एकपछि अर्को गर्दै मनकारी सहयोगदाता भेटिँदै गए । त्यसो भएकाले तीनकन्या गाविसमा मात्रै ३०० घरका लागि प्रतिघर दुई बन्डलका दरले जस्तापाता वितरण गर्न सहज भयो । जस्तापाता पाउनेले टहरा बनाउन सके । टहरामै भए पनि भूकम्पपीडित घामपानीबाट ओतिएको देख्दा डण्ड गुरुङ कम्ती खुसी छैनन् ।
विद्यालय भवन बनाउँदै
‘पब्लिक रिलेसन’ विनाका मानिसले केही गर्न खोजे पनि सफल हुन सम्भव छैन । ‘पब्लिक रिलेसन’ का धनी पत्रकार गुरुङले गाउँठाउँलाई गर्नसम्म सहयोग गरेका छन् । गोरखा भूकम्पपछि उनकै पहलमा तीनकन्यामा दुई विद्यालय भवन बनिसकेका छन् भने एउटा बन्दै छ । त्यसो त भुवनेश्वरीमा पनि अर्को भवन बन्दै छ । तीनकन्यामै मावि तहको भवन बनाइने भएकाले प्राधिकरणबाट स्वीकृति लिने प्रयासमा छन् । त्यो भवन चाँडै बन्नेछ ।
यसैगरी, बितिजोर, हतपतेलगायतका गाविसमा पनि दर्जन विद्यालय भवन बन्नेक्रममा छन् । पछिल्लो समय तीनकन्यामै सामुदायिक भवन बनाउने प्रयास भइरहेको छ । त्यहाँ दैवीप्रकोपको बेला बस्न मिल्ने ‘क्लास रुमजत्रो’ दुईकोठे भवन बन्नेछ । त्यहाँ सानातिना कार्यक्रम गर्न सकिनेछ । जहाँ बालकक्षा चलाउन पनि मिल्नेछ ।
भूकम्पपीडितलाई ‘अनमी’
साँच्चैका भूकम्पपीडितसम्म सरकार पुग्नै सकेको थिएन । भूकम्पपछि गाउँगाउँ डुल्दा उनले सर्मिला गुरुङलाई भेटे । सर्मिलाको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । पत्रकार गुरुङले खानसम्म नपुग्ने गुरुङ परिवारको समाचार लेखे । लेखेको समाचार सामाजिक सञ्जाल फेसबुकमा समेत राखे ।
फेसबुकमा समाचार राखेको १० मिनेटपछि साउदी अरबमा रहेका समाजसेवी, राजनीतिक अभियन्ता होम सुनारीमगरले सर्मिला गुरुङलाई अनमी पढाउने जिम्मा लिए । चरिकोट प्राविधिक शिक्षालय दोलखामा अध्ययनरत गुरुङको ‘अनमी कोर्स’ पूरा हुन लागेको छ ।
पाँच सय विद्यार्थीलाई न्यानो कपडा
स्टेसनरी, ब्याग त पाएकै थिए । तीनकन्याका पाँच विद्यालयका पाँच सय विद्यार्थीले न्यानो कपडासमेत पाए । पत्रकार गुरुङले थालेको ‘न्यानो अभियान’ ले भूकम्पपीडित विद्यार्थीका आङमा न्यानो लुगा परेको थियो । यो अभियानका लागि नेपाल जेसुइत सामाजिक संस्था, रिलिफ नेपाल र अनिता गुरुङको योगदानलाई उनी भुल्न सक्दैनन् ।
नौ सय घरलाई कम्बल
त्यतिबेला भूकम्पपीडितलाई राहत वितरण गर्न प्रशासनिक झन्झट थियो । झन्झट बेहोर्न नपरोस् भनेरै उनले आफ्नै गाउँठाउँमा सहयोग केन्द्रित गरे । तीनकन्या गाविसमा नौ सय घरधुरी छन् । अमेरिकामा रहेका दिदीहरूको सहयोगमा उनले तीनकन्याका नौ सय घरधुरीलाई नौ सय कम्बल वितरण गरेका थिए ।
तीन सय घरपरिवारलाई खाद्यान्न/ब्ल्याङ्केट
तीनकन्याका भूकम्प अति प्रभावितको पहिचान गरी तीन सय घरपरिवारले खाद्यान्न र ब्ल्याङ्केट पाए । उल्लिखित सहयोग पनि पत्रकार डण्ड गुरुङकै पहलमा सम्भव भएको थियो । सिंगापुरबाट आएका लामा गुरु र समाजसेवी लक्ष्मी गुरुङको सहयोगबाट उपलब्ध खाद्यान्न र ब्ल्याङ्केट वितरण गरिएको हो । भूकम्पपीडितले ब्ल्याङ्केटसहित खाद्यान्न, दाल र नुनसमेत पाएका थिए ।
४५ घरका अग्निपीडितलाई चार÷चार बन्डल जस्तापाता
सिन्धुलीको भुवनेश्वरीमा २०७२ चैत २६ देखि २८ गतेसम्म आगलागी भयो । ४५ घर जले । ९८ दलित परिवार प्रभावित भए । भूकम्पले घर भत्काउँदा काठपात काम लाग्छ तर आगलागी हुँदा सबै खरानी हुन्छ ।
दलित परिवारको पीडाले पत्रकार गुरुङलाई नछुने कुरै भएन । नयाँ वर्षको पूर्वसन्ध्यामा उनले फेसबुकमा लेखे, ‘अग्निपीडितका लागि एउटा जस्तापाता दिएर नयाँ वर्ष मनाऊँ ।’
एनजेएसआई नामक सामाजिक संस्थाले उनले थालेको अभियान मन परायो । सो संस्थाले प्रतिघर चार÷चार बन्डल जस्तापाता उपलब्ध गरायो । आगलागीमा विद्यालय पनि परेको थियो । सोही संस्थाको सहयोगमा त्यहाँ विद्यालय भवन बन्दै छ । जस्तापाता पुर्याउनका लागि भने सिन्धुलीकै उज्ज्वलविक्रम थापा र विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीले सघाउनुभएको थियो ।
पत्रकारलाई सहयोग
गोरखा भूकम्प गएलगत्तै डण्ड गुरुङलाई आफू पत्रकार भएकाले पत्रकारसँग भेटघाट गरेर केही न केही सहयोग गर्नुपर्छ भन्ने लागेको थियो । पत्रकारलाई अति आवश्यकीय मोबाइलको ब्याट्री, ल्यापटप, पेनड्राइभ, क्यामेरा चाहिन्थ्यो । उल्लिखित वस्तु दिन नसके पनि कम्तीमा मोबाइल चार्जर र पेनड्राइभ दिन सकिएला कि भनेर योजना बनाए । त्यत्तिका लागि पनि स्रोत थिएन । उनले जानकारी गराए, ‘भूकम्प जाँदा दिदी अनिता गुरुङ अमेरिका हुनुहुन्थ्यो । उहाँले २० हजार रुपैयाँबराबरको मोबाइल चार्ज गर्ने पावर बैंक र पेनड्राइभ किनिदिनुभयो ।’
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्षसमेत रहेका डण्ड गुरुङलगायत प्रतिनिधि अभियानमा निस्के । अभियानमा निस्केको थाहा पाएपछि अस्ट्रेलियाबाट रोशन घले र डा. राजन घले, जनजाति महिला महासंघ बेलायत, भूपू सैनिक संघ हङकङ र तमू बौद्ध सेवा समिति नेपाल अध्यक्ष रूपबहादुर गुरुङ, महासचिव टेकबहादुर गुरुङलगायतले सहयोगका लागि साथ दिए । भारतबाट आएका पत्रकारले समेत पावरबैंक र पेनड्राइभ सहयोग गरे ।
फोनिजले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र गोरखाका दुई सय बढी जनजाति पत्रकारलाई मोबाइल चार्जर र पेनड्राइभ बाँड्दै सहानुभूति दियो ।
त्यसो त भूकम्पमा परी ज्यान गुमाएका सुमन भोम्जनका परिवारलाई फोनिज र फोनिज केन्द्रीय सदस्य इन्द्रजित मुखियाको पहलमा करिब एक लाख रुपैयाँ सहयोग पनि गरे । फोनिजकै अभियानअन्तर्गत हेटौँडास्थित सुमनको घरमा पुगेर सहयोग हस्तान्तरण गर्दैगर्दा पत्रकार गुरुङ भक्कानिए । ‘सुमनको आमा रोएको देखेपछि आफूलाई सम्हाल्नै सकिनँ,’ उनले दुःख व्यक्त गरे, ‘आमाको मन सबैको उस्तै हो, त्यतिबेला मेरी आमालाई सम्झेँ ।’
चार सय शौचालय बन्दै
संवत् ०६५ मा रिलिफ नेपाल नामक सामाजिक संस्था स्थापना भएको थियो । सो संस्थामा पत्रकार गुरुङसमेत सम्बद्ध छन् । भूकम्पपीडितका लागि चार सय शौचालय बनाउने लागेको रिलिफ नेपालले १० देखि १५ विद्यालय भवन बनाउने योजना बनाएको छ । उसले खानेपानीसम्बन्धी काम पनि गरेको छ ।
त्यतिमात्रै होइन, सो संस्थाले हेल्थपोस्टका लागि भवन बनाउन सहयोग गर्दै छ । टीडीएच जर्मन संथाको सहयोगमा निर्माणाधीन हेल्थपोस्थका लागि बर्थिङ सेन्टर बन्दै छ । यो कामका लागि सिन्धुलीमा दुर्गाराज पौडेल (रिलिफ नेपाल अध्यक्ष), खुसराज पौडेल (रिलिफ नेपाल कार्यकारी निर्देशक), इन्जिनियर उपेन्द्र गुप्तालगायतका साथीहरू खटिरहेका छन् ।
सिन्धुलीका गाउँगाउँमा दुई दर्जनभन्दा बढी सहयोगी साथीहरूको साथबाट पत्रकार गुरुङले अभियान सञ्चालन गरिरहेकै छन् ।
पत्रकारले गर्न हुन्छ कि हुँदैन ?
पत्रकारले सामाजिक काम गर्न हुन्छ कि हुँदैन ? बहसको विषय हुन सक्छ । भूकम्पपीडितलाई सहयोग गर्न थालेको सहयोग अभियानको जस लिन उनी तयार छैनन् । तर, उनले अभियानमा साथ नदिएको भए उल्लिखित काम सम्भव थिएन । उनको भनाइ छ, ‘मैले समन्वयमात्र गरेको हुँ । सबै गरिदिने दाता सहयोगी नै हुन् ।’
प्रयास गरे असम्भवलाई सम्भव बनाउन सकिन्छ । पत्रकार गुरुङले थालेको अभियानलाई साथ दिनेहरू छन् । उनले गर्व गरे, ‘अनिता गुरुङ, लाला गुरुङ, फादर स्यामुयल र अमृत, इन्द्र गुरुङ सिंगापुर, दुर्गाराज पौडेल, खुसराज पौडेल, डेरराज गुरुङ, सुष्मा गुरुङ, जित गुरुङ, उज्ज्वल थापा, स्वयम्वरसिंह लामालगायतको सहयोगले मैले थालेको अभियानले भूकम्पपीडितलाई राहत वितरण गर्न सकियो ।’
पत्रकार डण्ड गुरुङको मान्यता छ, ‘हामी सामाजिक प्राणी हौं । हामीमाथि सामाजिक दायित्व पनि छ । हामीले समाचार लेख्ने, सम्प्रेषण गर्ने, विचार निर्माणका लागि महत्वपूर्ण योगदान दिने पाटो छँदै छ । त्योबाहेक हामीले सकेको सहयोग पहल गर्दा त्योजत्तिको पुण्य काम अरू हुँदैन ।’
गाउँठाउँका भूकम्पपीडितलाई सकेको सहयोग गर्न पाएको क्षण उनलाई कम्ती आनन्द लाग्दैनथ्यो । भन्छन्, ‘हाँसीखुसी जिउन चाहनेले नहुनेलाई दिन सकोस्, विपन्नलाई सम्पन्न बनाउन सकोस्, पीडितको पीडा कम गर्न सकोस् । प्रयासमात्रै गरे लाख हुन्छ ।’

साभार : रातोपाटी डट् कम्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*