Latest News

लमजुङमा छेलोको रौनक

भाद्र २०, २०७३- अघिपछिभन्दा आइतबार सदरमुकाम बेसीसहरको माहौल छुट्टै थियो । बजारमा छेलो (ठेलो) हान्ने कार्यक्रमबारे जानकारी पाएपछि गाउँगाउँबाट दर्शक बजार झरेका थिए ।

परम्परागत रुपमा छेलो हान्ने कार्यक्रम गाउँघरमा हुने भएपनि सहरमा हुने प्रतियोगिता हेर्न दर्शक ओइरिएका थिए । गाउँगाउँमा हुने छेलो हान्ने चलन हराउन थालेको भन्दै लमजुङ–मस्र्याङ्दी युवा क्लबले बेसीसहरको फूलबारी मञ्चमा आयोजित तीज उत्सवमा छेलो प्रतियोगिता पनि आयोजना गरेको ।

जिल्ला प्रहरी कार्यालयको आडैमा आयोजित प्रतियोगितामा प्रहरीले समेत चाख मानेर प्रतियोगिता हेरे । प्रतियोगितामा २३ जनाले सहभागिता जनाएका थिए । दोस्रो चरणमा प्रवेश गरेका ८ जनालाई पनि पछि पार्दै भोटेओडारका लिला गुरुङले छेलो प्रतियोगिता जिते । उनले २३ किलोको ढुंगा (छेलो) लाई ९ मीटर १२ सेन्टिमीटर पर फाले । उनी भारतीय सेनामा कार्यरत छन् ।

प्रतियोगितामा उक्त ढुंगालाई ९ मीटर ३ सेन्टिमीटर टाढा फालेर भुलभुले ६ नयाँगाउँका विवेक गुरुङ द्वितीय भए । उनी गतवर्ष प्रथम भएका थिए । यस्तै, पाचोक–९ का कुमार गुरुङले ८ मीटर ७७ सेन्टिमीटर ढुंगा फालेर तेस्रोस्थान हासिल गरे । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाए ।

विजेतालाई सांसद जमीन्द्रमान घले, लमजुङ–मस्र्याङ्दी युवा क्लबका अध्यक्ष कमल श्रेष्ठ, छेलो प्रतियोगिता उपसमितिका संयोजक सूर्यकुमार श्रेष्ठ, मोहन राना लगायतले फेटा गुथाउनुका साथै पुरस्कार प्रदान गरेका थिए । उनीहरुलाई पगरी (फेटा) गुथाएर सम्मान गर्नुका साथै अबिर जात्रा गरेर बेसीसहर बजार परिक्रमा गराइएको थियो । गाउँगाउँमा हुने छेलो प्रतियोगितामा प्रथम हुनेलाई त्यस भेगमा शक्तिशाली ब्यक्तिको रुपमा लिइन्छ ।chhello_1

chhello

सभार : इकन्तिपुर डट् कम्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*