Latest News

लेकसाइडमा टाटु

विनीता मरहट्टा, शुक्रवार, मंसिर १०, २०७३

होचो कद, रातो वर्ण, थेप्चो नाक, कानमा नाङ्लोजस्तो देखिने काठ भिरेका कलाकार रक्षे गुरुङ घान्द्रुकको लेकतिर भेटिए । हातका नशा फुलाएर बनाइएको जस्तो देखिने ताराको आकार थियो । हेर्दा डरलाग्दो भए पनि फूर्तिलो र सबैलाई रिझाउने स्वभावका रक्षे अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा सहभागी हुन पोखराबाट लेकतिर पुगेका थिए ।
उनको बालपन घान्द्रुकमा बितेको थियो । प्रकृतिको मनोरम दृश्यले उनमा चित्रकलाको रुचि जन्मिएको रहेछ । उनी अध्ययनका लागि पोखरा पुगेपछि चित्र बनाउन थाले । आलोक गुरुङसँग चित्र बनाउन सिके । साथीहरूको लहलहैमा उनी लागूऔषध दुव्र्यसनीमा फसे । ‘चित्रकला त रोकिएको थिएन तर गम्भीरतापूर्वक काम अघि बढेको पनि थिएन’, भने, ‘विस्तारै परिवार, साथी तथा आफन्तको नजरमा नराम्रो बन्दै गएँ ।’
पाँच वर्षजति कुलतमा फसेका उनलाई आफ्नो बानी बिग्रँदै गएको महसुस भयो । उनले कुनै सुधारगृहको सहारा नलिई आफैं त्यो दलदलबाट मुक्त भए । दुव्र्यसनीबाट थोरै मुक्ति मिल्नासाथ उनले ‘बडी बिल्डिङ’ सुरु गरे । विस्तारै प्रतिस्पर्धामा भाग लिन थाले । पुरस्कार पनि हात पर्दै गयो । एकैपटक पोखराका पाँचवटा समूहले सम्मान गरेपछि सामाजिक प्रतिष्ठा राम्रो हुँदै गयो । यसले उनको जीवनमा झन् प्रेरणा थप्दै गयो ।
रक्षेले पनि गल्ती नगरेको भए आज उनको स्वभाव यति मिजासिलो र यति कर्मशील हुने थिएनन् । भन्छन्, ‘गल्तीको रियलाइज हुन्छ, पाठ सिकिन्छ, त्यसको क्षतिपूर्तिस्वरूप बेग्लै ऊर्जा आउँछ ।’ दुव्र्यसनीमा फसेर त्यसबाट मुक्ति मिल्दा उनले जीवनको महत्त्व धेरै बुझे । यति बेला रक्षे समाजका लागि एउटा उदाहरण बनेका छन् । अन्तर्राष्ट्रिय जलरङ महोत्सवअन्तर्गत राजधानीको आर्ट काउन्सिलमा भइरहेको चित्रकला प्रदर्शनीमा उनले बनाएको बुटको चित्रको निकै चर्चा भइरहेको छ ।img_2007
बालुवा खानी, सडकदेखि फेवा तालमा माछाको ठेकेदारी गरेर राम्रै पैसा आर्जन गरे । मनभित्र चित्रकला हुँदाहुँदै अरू पेसामा टिकिरहन सकेनन् । ठेक्कापट्टा छोडेर १५ वर्ष अघिदेखि उनको कलायात्रा निरन्तर रूपमा चलेको छ । ओयल पेन्टिङ गरिरहेका रक्षेलाई टाटुमा असाध्यै रुचि छ । टाटु सिक्नका लागि १५ वर्षअघि काठमाडौं आएर आफ्नै शरीरमा टाटु बनाए । सन् २०१० मा बैंककमा आयोजित ‘टाटु कन्भेन्सन’मा भाग लिन गए ।
फर्केपछि घरमै बसेर सामान्य टाटु बनाउन थाले । बिस्तारै लेकसाइडमा ‘होम स्टुडियो’ खोले । तीन वर्षदेखि फेवातालको छेउमा ‘हिमालयन इन्क स्टुडियो’ खोलेर टाटु कलालाई व्यावसायिक रूपमा अघि बढाइरहेका छन् । उनी मुहार कलामा पोख्त छन् ।

सभार : अन्नपूर्ण पोस्ट img_2005 img_2006

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*