Latest News

लोकगायिका माया गुरुङलाई सम्मान

माघ २१, २०७३- लोकगायिका माया गुरुङलाई सदरमुकाम बेंसीसहरमा आयोजित एक कार्यक्रममा शुक्रबार सम्मान गरिएको छ ।

उनले गएको ‘गाउँसहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन, भैसक्यो मेरो घरबार’ बोलको गीत एकताका निकै चर्चित थियो । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङको दोस्रो स्थापना दिवस तथा अन्तरंग साप्ताहिकको ४२ औं मासिक रचना वाचन कार्यक्रममा उनलाई सम्मान गरिएको हो । लोककला क्षेत्रमा तीनदशक भन्दा बढी समयदेखि विभिन्न समस्यासँग जुध्दै लोकसंस्कृतिको श्रीवृद्धिका लागि अनुकरणीय भूमिका खेलेको भन्दै लोकगायिका गुरुङलाई प्रतिष्ठानले सम्मान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष एवं अन्तरंग साप्ताहिकका सम्पादक नवराज पहाडी, बेंसीसहर नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज लम्साल, ठाडोभाका शिरोमणि भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) लगायलते दोसल्ला ओढाउनुका साथै अबिर र पुष्पगुच्छा अर्पण गरी सम्मान पत्रले माया गुरुङलाई सम्मान गरेका थिए ।

लमजुङको बेंसीसहर नगरपालिका-१५ (साविक नाल्मा गाविस ८) नाल्मा गाउँकी ५६ वर्षीय मायाले कार्यक्रममा ‘गाउँसहरमा लमजुङ दरबार‍‍…’ बोलको गीत गाएकी थिइन् । ०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा यही गीत गाएर उनी प्रथम भएकी थिइन् । उनले ‘सैलुङ्गे डाँडा नाल्माको…, माया सरर…, खुर्पेटो डोकोले….’ लगायत एकल र युगल तथा सामूहिक करिब २ सय गीत गाएकी छन् । ११ वटा एल्बम निकालिसकेकी छन् ।

उनले देवीमाया थापा गुरुङको नामबाट गत साउन १७ गतेमात्रै जिल्ला प्रशासन कार्यालय लमजुङबाट लेखमान गुरुङ पति कायम गरी नागरिकता पाएकी हुन् । लेखमानले ५५ वर्षको उमेरमा नागरिकता पाएका थिए । ०४३ सालमा भागेर विवाह गरेपछि गाउँसमाजमा नरुचाइएका कारण लेखमानका बुबा मनिराजले आफ्नो छोरा नै नभएको भनी नागरिकताका लागि सिफारिस दिएका थिएनन् । नागरिकताको लागि आमा पूर्णाको बयान र डीएनए परीक्षणको आधारमा ०७२ असोज १४ गते जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको इजलाशले मनिराज र लेखमान बाबुछोरा नाता कायम ठहरेको फैसला सुनाएको थियो ।

पोखरामा मुद्दा पुनरावेदन हुँदा न्यायाधीश दुर्गादत्त भट्ट र हरिप्रसाद बगालेको संयुक्त इजलासले ०७३ जेठ ६ गते जिल्ला अदातलको फैसला सदर गरेको थियो । अदालतको निर्णयको आधारमा प्रशासनले उनका पतिलाई नागरिकता दिएपछि परिवारकै नागरिकता बनाउने बाटो खुलेको हो । पाँच सन्तानमध्ये ठूली छोरी विष्णु र ठूलो छोरा सन्दीपको विवाह भइसकेको छ । माइली संगीता र कान्छो अजय चितवनमा बस्छन् भने कान्छी गाउँकै अन्नपूर्ण मावि कक्षा १० मा पढ्छिन् ।

लमजुङ सदरमुकाम बेंसीसहरमा शुक्रबार आयोजित कार्यक्रममा लोकगायिका माया गुरुङलाई सम्मान गरिँदै ।

तस्बिर: आश गुरुङ/कान्तिपुर

साभार : कान्तिपुर डट कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*