Latest News

विविध कार्यक्रमका साथ तमु सांस्कृतिक साँझ सम्पन्न

तमु प्हे ल्हु संघ युकेको आयोजनामा विविध कार्यक्रमका साथ तमु सांस्कृतिक साँझ सम्पन्न भएको छ | अल्डरसटस्थित यम्पायर हलमा गत शुक्रबार साँझ तमु प्हे ल्हु संघ युकेको सामुदायिक भवन क्होइबो धिं निर्माण सहयोगार्थ सो साँझको आयोजना गरिएको हो | बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी , धर्मगुरु पच्यु यमबहादुर गुरुङ र तमु प्हे ल्हु संघ युकेका अध्यक्ष मे. रि. खुसीमान गुरुङ एमभिओले संयुक्त रुपमा दिप प्रज्जवल गरी कार्यक्रम उद्दघाटन गरेका थिए | सो अवसरमा एन आर एन युकेका अध्यक्ष योगकुमार फगामी , तमु प्हे ल्हु संघ युकेका संस्थापक अध्यक्ष अशोक गुरुङ , पूर्बअध्यक्ष जगत गुरुङ , निवर्तमान अध्यक्ष सोम त्होर्जे , आमा समुहकी अध्यक्ष बिष्णु गुरुङ , तमु प्हे ल्हु संघ नेपालका संस्थापक सदस्य लगायत वरिष्ठ व्यक्तिहरुको समेत बिशेष उपस्थिति थियो |
कार्यक्रममा नेपाली राजदुत एंव प्रमुख अतिथि डा. सुबेदीले तमु प्हे ल्हु संघ युकेले पबित्र उद्देश्यका साथ सामुदायिक भवन क्होइबो धिं निर्माण गर्न लागिएकोमा धन्यबाद ब्यक्त गर्दै भवन निर्माणमा बेलायतका नेपालीहरुलाई सहयोग गर्न आग्रह गरे | साथै उनले नेपाली / नेपाली बीचको एकतामा जोड दिदैं ‘ नेपाली भएर बाँच्न र हाँस्न सकौ ‘ भने | त्यस्तै अध्यक्ष मे. रि. गुरुङले प्रमुख अतिथि लगायत सबै पाहुनाहरुलाई धन्यबाद दिदैं बेलायतमा क्होइबो धिंको आवश्यकता महसुस गरी परियोजनाको थालनी गरिएको बताए | उनले परियोजनाको लागी ७ लाख पाउण्ड बढी संकलनमा भइसकेको बताउँदै नेपालबाट आएका कलाकार अर्थ संकलनमा खटेका कार्यसमितिका साथीहरु र दानबिरहरुलाई धन्यवाद दिए | उनले परियोजनाको सहयोगार्थ प्रायोजकहरुलाई आह्वान र अनुरोध गर्न महत्वपूर्ण भूमिका खेलेका फोटो पत्रकार मिलन तमुको योगदानलाई तमु प्हे ल्हु संघले कहिल्यै नभुल्ने बताउदैं उनलाई धन्यबाद दिए |
गुरुङ राष्ट्रिय गीतबाट सुरु भएको सांस्कृतिक साँझमा नेपालमा आएका गायक रामकुमार ( आरके ) गुरुङ ,गायिका भिमु गुरुङ , धन गुरुङ र स्थानीय कलाकार ममता गुरुङले बिभिन्न गुरुङ गीतहरु प्रस्तुत गरेका थिए | त्यस्तै , नेपालबाट आएकी पूर्णकुमारी ( रुपा ) गुरुङ र बेलायतमा क्रियाशील सयपत्री नेपाली कल्चरले ग्रुपका कलाकारहरुले अत्यन्त आकर्षक नृत्य प्रस्तुत गरेका थिए |
इन्जिनियर विजय गुरुङको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमलाई सफलतापूर्बक सम्पन्न गर्नका लागि एभरेष्ट टाईम्सका वरिष्ठ फोटो पत्रकार मिलन तमु , एम्पायर हलका प्रबन्ध निर्देशक पुरन गिरी , आमा समूह , खेगी संयोजक डम्बर टु तमु , खेगी गुरुहरु , कार्यसमिति , सल्लाहकार , कलाकार , क्षेत्रीय प्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेलेका थिए |
तमु प्हे ल्हु संघ युकेका अध्यक्ष मेजर खुसीमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक ई गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने औपचारिक कार्यक्रमलाई सहसचिब यम गुरुङले संचालन गरेका थिए | त्यस्तै , हेम विष्टले डिजेको भूमिका खेलेको थिए भने नविना गुरुङको सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए |
साभार : एभरेष्ट टाईम्स डट्कम