Latest News

सरिताको समाजसेवा

– नरेन्द्र रौले

फाल्गुन ३०, २०७२-
सामाजिक सञ्जालको सदुपयोग कसरी गर्ने ? यसको जवाफ ढिकुरपोखरी–६, पाउँदुरकोट, कास्कीकी सरिता गुरुङसँग सोध्नुपर्छ जसले सामाजिक सञ्जालबाट झन्डै ४० लाख रुपैयाँभन्दा बढी संकलन गरेर रोगसँग लडिरहेका र अभावमा बाँचिरहेकाहरूलाई मद्दत गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर चलाउँदै सरिता अहिले पनि हरेक दिन ७ घण्टा बिताउँछिन् । उनको फेसबुक र मोबाइलमा म्यासेजको ओइरो लाग्थ्यो । ‘दिनमा ५०–६० भन्दा बढी म्यासेज आउँथे ।’ गुरुङले भनिन्, ‘कसरी सहयोग गरौं ? कस्तो सहयोग गरौं भनेर सोधिरहन्थे ।’

भाचोक, कास्की घर भएकी बुद्धिमाया गुरुङ मृगौला पीडित थिइन् । उनका जेठाजुले सहयोगको अपिल गर्दै फेसबुकमा फोटो र स्टाटस राखे । डायलोसिस गर्ने पैसा नपुगेर उनले सहयोगको याचना गरेको त्यही तस्बिरमा सरिताको आँखा पर्‍यो । उनको मन चसक्क भयो । केही न केही त गर्नैपर्छ भन्ने लाग्यो । विस्तृतमा सबै कुरा बुझेपछि सरिताले आफ्नो फेसबुकमा बुद्धिमायाको तस्बिरसँगै समाचार राखिन् । उनी त्यति बेला छक्क परिन्, जब यति लेखेको भरमा संसारभर छरिएका नेपालीहरूबाट १० लाख रुपैयाँ जुट्यो ।

सरिता अझ भावुक त त्यति बेला भइन जब दिल्लीमा उपचाररत डा. चित्रप्रसाद वाग्लेले उनलाई फोन गरे । डा. वाग्लेले भनेका थिए— तपार्इंको सहयोगले केही पलका लागि भए पनि बाँच्ने साहस थपिएको छ । हामी छिट्टै भेटौंला । धेरै–धेरै धन्यवाद, तर दुर्भाग्य सरिताले ९५ हजार रुपैयाँ सहयोग गरेका डा. वाग्ले फेरि कहिल्यै फर्केर आएनन् । उनको देहान्त भयो । ‘त्यो दु:खद खबरले मर्माहत बनायो ।’

ब्लड क्यान्सरले पीडित पोखराका रितिश श्रेष्ठका लागि सरिताकै पहलमा ४५ हजार रुपैयाँ उठ्यो, तर उपचारकै क्रममा उनको निधन भयो । ठूलो रकम सहयोग जुटाएर पनि बुद्धिमाया तामाङ, डा. चित्रप्रसाद वाग्ले, रितिश श्रेष्ठले ज्यान गुमाउँदा सरितालाई नमीठो लाग्यो । ‘नयाँ जीवन पाऊन् भन्ने लक्ष्यले काम गरियो तर लक्ष्यकन साथ पूर्णता नपाउँदा एकदमै दु:ख लाग्यो ।’ उनले सुनाइन् ।image

पत्रपत्रिका पढ्दा होस् वा सामाजिक सञ्जालमा सहयोगको अपिल गर्दै पोस्ट गरिएका स्टाटस हुन्, सरिताका आँखा सुरुमा त्यही ठोक्किन्छन् । तिनलाई फोन गरेर, आफन्तहरूसँग विस्तृत जानकारी लिएर उनी अभियान चलाउँछिन् । केही अघि दोलखा, चरिकोटका भूकम्पपीडितहरूका लागि ५० हजार रुपैयाँबराबरको सहयोग जुटाउन सफल भइन् । त्यस्तै चरिकोटको भीमेश्वर बहिरा प्राविमा आबास थिएन । २५ जना बस्न मिल्ने गल्र्स होस्टलका लागि २० लाख रुपैयाँ जुट्यो ।

सरिताको अभियानमा साथ दिनेहरू हङकङ, बेलायत, अमेरिका, युरोप तथा खाडी मुलुकमा बस्ने नेपालीहरू हुन् । ६ वर्षको अवधिमा उनले थुपै्र अनुभव बटुलिसकेकी छिन् । ‘दु:ख भोगेकाहरूले वचन पूरा गर्दा रहेछन् ।’ उनले भनिन्, ‘सम्पन्न र उच्च वर्गलाई अरूका दु:ख, अभावले नछुने रहेछ ।’ समाज परिवर्तन गर्न, अरूलाई सहयोग पुर्‍याउन सामाजिक सञ्जालले ठूलो भूमिका खेलेको सरिता बताउँछिन् ।

सही समय र सही ठाउँमा मेहनत गर्ने हो भने समाज र राष्ट्रलाई सहयोग गर्न ठूलो टेवा पुग्ने उनको धारणा छ । ‘सरकारलाई दोष दिनुभन्दा हामी आफंै सक्रिय भएर अघि बढ्नु उपयुक्त हुन्छ ।’ सरिता भन्छिन्, ‘परिवर्तन आफैंबाट गर्नुपर्छ ।

लामो समयदेखि काठमाडौंमा बसोबास गरिरहेकी सरिता यतिबेला पोखरालाई कर्मथलो बनाइरहेकी छिन् । पोखराको सौन्दर्यले उनलाई आकर्षित गर्छ, तर राजधानीजस्तो सरल जीवन भने यहाँ छैन । उनी पोखराको वातावरणमा त्यति भिज्न सकिरहेकी छैनन्, तर प्रयास भने गर्दैछिन् । काठमाडौं उनलाई झयाउँकीरीको देशजस्तो लाग्छ । होहल्ला बढी भए पनि आनन्ददायक लाग्छ । पोखरालाई भने एकान्तप्रेमीहरूका लागि उपयुक्त ठाउँ मान्छिन् ।image

सरिता फुर्सदमा गाउँ डुल्छिन् । साथमा क्यामेरा भए उनलाई अरू कसैको जरुरत पर्दैन, फोटोग्राफीमै रमाउँछिन् । पोखराको पार्दीस्थित फेवातालको किनारमा गफिरहँदा उनले आफ्नो अनुभूति सुनाइन्, ‘रारा बेहुलीले पहिरिन नपाएको गहनाजस्तो लाग्यो ।’ सरिता सामान्य पहिरनमा भेटिन्छिन् । उनलाई टि–सर्ट, पाइन्टमा हिंड्न सजिलो लाग्छ । गुरुङ पोसाक छिट्को गुन्यू, चौबन्दी चोलो, टिकिश, नीलो पटुकी, घलेक तथा क्रमु लगाउन उनी विशेष रुचाउँछिन् । सेलरोटी र मासुको झोल भनेपछि उनी हुरुक्कै हुन्छिन् ।

सरिता सबै खालका संगीत सुन्न रुचाउँछिन् । संगीतको कुनै भाषा हुँदैन । नबुझे पनि अरू भाषाका गीत, संगीत सुनेर मनोरन्जन लिने उनको बानी छ । चलचित्र हेर्ने बानी कमै छ । पछिल्लो समय उनले चलचित्र कबड्डी–कबड्डी हेरिन् । उनको सबैभन्दा बढी खर्च मोबाइलमा हुन्छ । बिहान ६ बजे सुरु हुने उनको दैनिकीले राति १० बजे विश्राम पाउँछ । निदाउनु अघि उनी पुस्तकसँग हराइरहेकी हुन्छिन् ।

साभार : इकन्तिपुर डटकम

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*