Latest News

सुपरस्टार लोकगायक रामकुमार गुरुङ

      ‘माइली रोधीघरमा सँगै नाचौं न’ बोलको गीत २०५९, ०६० सालतिर खुब चल्यो । गुरुङ भाषाको चलचित्र ङैनासा (मेरो गाउँ)मा समेटिएको सो हिट गीत सुन्ने र हेर्नेहरुको मानसपटलमा अझै सम्झना हुनुपर्छ । जुन गीत त्यतिबेला कुनै चर्चाका गायक, गायिकाले नभई नवगायक रामकुमार गुरुङ(RK)ले बनाएका थिए । सो कौडा भाकामा होमिने मेलोमेसो भने गुरुङलाई चलचित्र निर्देशक एवं नायक सुवास गुरुङले मिलाएको उनले स्मरण गरे । माइली रोधीघरमा….गीतबाट डेब्यू गरेका गायक गुरुङ अहिले ‘सुपरस्टार’ कलाकारका रुपमा चिनिएका छन् ।

नेपालको प्रदेश नम्बर ४ सुलिकोट गाउँपालिका अर्थात् गोरखा सौरपानी ५ बान्चोकगाउँमा २०४१ सालमा जन्मिएका गायक गुरुङ झन्डै डेढ दशकदेखि कलाकारितामा निरन्तर छन् । पहिलो कोसेलीबाटै प्रेरित र हौसिएका गुरुङ त्यसपछि ङै जिन्दगी (मेरो जिन्दगी), ङै क्याँ (मेरो बाटो), आश्यो (मावली), म्होरा (सपना), भेडी गोठालो, कुटुम्बेरी साइनो, खै ओ म्ही थेवा (ठूलो मान्छे), माओत्से गुरुङको तीन्हाँगा (आजभोलि), प्रितम गुरुङको ङोलो ङोल्स्यो (सोल्टी सेल्टिना) गुरुङ भाषाको चलचित्र र कर्मरेखा नेपाली भाषाको चलचित्रहरुको गीत बनाउन संलग्न रहे । झन्डै डेढदर्जन चलचित्रको गीतमा संलग्न उनले त्यत्ति नै संख्यामा नेपाली मौलिक गीत, संगीतमा स्वर ढाक्ने, संगीत भर्ने र कतिपयमा शब्द रचना गर्दै आए ।

फूर्तिलो शरीर, हँसिलो र मिजासिलो स्वभावका गायक गुरुङले ‘जोरमादल बोकी’, ‘देउराली डाँडा’, ‘ढोरपाटनको मेलैमा’, ‘देउराली भञ्ज्याङ’, ‘धौलागिरि झलल’लगायत सालैजो गाए भने ‘त्यही जोवनमा अल्झियो यो मन’, ‘मरी लानु के छ र’, ‘रोधी घरको आँगन’जस्ता कौडा भाकामा पनि काम गरे । विशुद्ध लोकदोहोरी र मौलिक गायनमा जोड दिने गुरुङ सुगम संगीतमा समेत उत्तिकै तगडा छन् । उनले ‘यो मौसम, यो हावा’, ‘मखमली माया’, ‘मुटुभित्र रगतको’, ‘सदाझैं सानी सुन्दर किन देखिनँ’, ‘गोर्खाली ठिटो’ (लोकपप) गीतहरु पनि बनाए ।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र । 
कवि लेखनाथ पौड्यालले नैतिक दृष्टान्त कवितामा उल्लेख गरेको अंशले दिन खोजेको भावझैं गुरुङ गीत गाउन जति अनुशासित र लगनशील छन् उत्तिनै सरल व्यवहार पनि प्रदर्शन गर्न माहिर छन् । सानालाई माया, ठूलालाई आदर गर्न सिपालु उनी आफू कलाकारितामा सफल हुनुमा प्रेम गुरुङ, सुवास गुरुङहरुको सहयोग कारण रहेको गर्विलो पारामा बताउँछन् । जीवनमा अझ बढी आमाको गुन रहेको भन्दै उनले भने, ‘सधैं धेरै सहयोग गर्नुभयो, नाम कमाइरा’छ भनेर अहिले आमा खुसी हुनुहुन्छ ।’

बच्चैदेखि विद्यालयमा गीत गाउने र त्यस्तै त्यस्तै कार्यक्रमबाट प्रेरित भएर गीत, संगीतमा लागेको बताउने गुरुङले गन्धर्व संगीत पाठशालामा गुरु चन्दनकुमार श्रेष्ठसँग चार वर्षको कोर्स सिध्याइसकेका छन् । अहिलेसम्म सय बढी गीत गाइसकेका उनले अधिकांश गुरुङ भाषाकोमा स्वर दिए । आफ्नो मातृभाषा र आफ्नो क्षेत्रको मात्रै नभई तनहुँको मिलुङकोट, म्याग्दीको काफलडाँडा, खिवाङ गाउँहरुको चिनारी दिने गीतहरु पनि उनले गाए । सामान्य किसान परिवारमा जन्मे, हुर्केका उनी पढाइ बिगारेर गायनमा लागेका व्यक्ति होइनन् । मुख्य विषय संगीत र राजनीतिकशास्त्रमा उनले रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंबाट स्नातक  (बीए) पास गरे । एसएलसी भने २०५७ मा सौरपानी गोरखाको श्री हिमालय माध्यमिक विद्यालयबाट गरेका थिए । संगीतलाई व्यवस्थित र मर्यादित पार्न भन्दै पढ्दै, गीत गाउँदै गरेर अगाडि बढेका आरेले नेपालका चर्चित कलाकारहरु अञ्जु पन्त, शान्ति गुरुङ, मेलिना राई, अञ्जना गुरुङ, गीता पाइजा पुन, तिर्सना घर्तीमगर, तारा श्रीसलगायतसँग मिलेर काम गरिसकेका छन् ।

गाउँले परिवेशमा हुर्केका गुरुङ पहिले लोकदोहोरी र लोकगीतमात्रै गाउँथे । र, त्यतै औधी ध्यान दिन्थे । जब क्याम्पसमा म्युजिक पढे र अन्य विधाका अग्रज कलाकारहरु भेट्न थाले तब उनले नेपाली, सुगम संगीत, गुरुङ भाषाका गीतहरु गाउन र संगीत, रचना गर्न थाले । गायककै रुपमा उभ्याइरहन चाहने गुरुङ आफूले संगीत भर्दा र रचना गर्नमा न्याय गरेजस्तो नठाने पनि काम दिनेहरु उनीप्रति सन्तुष्ट हुने गरेकोमा दंग देखिन्छन् । ‘गीतको शब्द, स्वर, संगीत आफैं गर्न सक्ने भएको छु’ उनले एभरेष्ट टाइम्ससँगको कुराकानीमा भने, ‘सिङगिङलाई जति अरुलाई न्याय गरेको हुन्नहोला तर काम दिनुहुनेहरु मेरो काममा खुसी हुन्नुहुन्छ ।’

संगीत क्षेत्र प्रचार गरिए झैं डामाडोल नरहेको भन्दै गायक गुरुङले लगनशील भएमा यही क्षेत्रमा बाँच्न सक्ने आधार रहेको बताए । तर, गला, कला र सिर्जना सबै चाहिन्छ । लोकसंगीतको विकृत रुप उत्ताउलोपनप्रति उनको घृणा छ । मौलिकता र आफ्नो संस्कृतिलाई बचाउन स्रष्टाहरुले एकदमै ध्यान दिनुपर्ने उनको जोड छ । पश्चिम गोरखामा जन्मेका गुरुङले भने, ‘गण्डकी, धौलागिरि आसपासको संस्कृति बचाउन लागेको छु । त्यतै मेरो परिचय छ ।’

पछिल्लो समय देखापरेको भल्गर भिडियो र शब्दमा आएको छाडापनले लोकसंगीत लोप हुन लाग्यो भन्ने अधिकांशको बुझाइभन्दा गुरुङमा फरक धारणा पाइन्छ । नेपालका आम उत्पीडित जाति, समुदाय पहिचान र अधिकार खोजिरहेकै बखत नयाँपुस्तामा पनि लोकसंगीतप्रति झुकाव बढेको ठान्छन् उनी । ‘न्यू जेनेरेसले आफ्नो संस्कृति, मौलिक गीत कौडा, शिरफूल, देउडा गाउन र स्टुडियोमा रेकर्ड गर्न थालेको छ ।’
गुरुङले आफ्नोबारे भने, ‘खड्क गर्बुजा, नारायण रायमाझी, युक्त गुरुङको गीतबाट प्रभावित भएर म लोकसंगीत क्षेत्रमा आएँ ।’ गुरुङ लोकदोहोरीमा भिन्दै क्षमताका कलाकारका रुपमा चिनिन्छन् । उनी प्रत्यक्ष दोहोरी गाउँदा प्रतिस्पर्धीलाई हायलकायल बनाउँछन् । काठमाडांै टुँडिखेलमा २०६१ र ०६२ सालमा आयोजित तमु ल्होछार कार्यक्रममा प्रतिस्पर्धी महिला टिम कमजोर परेकोले उनी दुवैचोटी दोस्रो हुन पुगे । प्रतियोगितामा आक्कलझुक्कल सहभागी भए पनि उनले छाहरी, संगम दोहोरी साँझमा चार वर्ष काम गर्दा दर्जनौं पटक विपक्षीलाई पछारे । दोहोरी साँझमा र अन्य औपचारिक, अनौपचारिक कार्यक्रममा सुरुसुरुमा सिनियरसँग काम गर्ने मौका पाएकोले पनि पछि सजिलो भएको उनको भनाइ छ । गोरखामा पनि विभिन्न दोहोरी गायनमा उनले भाग लिएका थिए ।
किशोरावस्था याद गर्दै उनले भने, ‘कक्षा ८ देखि नै दोहोरी गाउनमा भाग लिन्थें, सौरपानीको सीता गुफामा चैते दसैं मेला चल्थ्यो, त्यहाँ बेसरी दोहोरी गाएको थिएँ ।’ गायनकै सिलसिलामा सन् २०१० मा गुरुङ हङकङको कन्सर्ट भ्याएर फर्केका थिए । नेपालमा त्यस्ता कन्सर्ट कति भ्याए, कति !

३० औं बसन्त पार गरिसके पनि उनले जीवनसाथी भेटेका रहेनछन् । हाँस्दै भने, ‘जोडीको वेटिङमा छु । जन्म, लगन र मृत्यु योजनामा होइन संयोगमा हुन्छ जस्तो लागिरहेको छ ।’ काठमाडौं सामाखुसीमा बस्दै आएका गायक गुरुङ गीत, संगीतबाहेक पर्यटन क्षेत्रका योद्धा पनि हुन् । ‘म टुरिस्ट गाइड पनि हुँ, पथप्रदर्शकको कामले गर्दा संगीतमा भनेजति समय दिन सकेको छैन’ उनले भने, ‘अफसिजन र पार्टटाइममा संगीत गर्छु । क्रियसन त सधैं भइहाल्छ ।’ उनीसहित केही साथी मिलेर स्थापना गरेको ‘एक्सप्लोर भ्याकेसन’को कार्यालय नेपालको प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको छ । करिब तीन वर्षअघि खुलेको एक्सप्लोरमा उनी सेल्स डिरेक्टर छन् । उनको वैकल्पिक व्यवसाय समरमा मार्चदेखि मेसम्म ट्रेकिङ र वीन्टरमा सेप्टेम्बरदेखि नोभेम्बर टुर्स चल्छ । जुन, जुलाई र अगस्ट चीनको तिब्बतकेन्द्रित हुने हुँदा गुरुङ त्यतै लागिपरेका छन् अचेल ।
ट्रेकिङका कारण गीतको काम आउँदा अलि प्रेसर फिल हुने भन्दै उनले डेटलाइनभित्र जसोतसो काम सकाउने गरेको दाबी पनि गरे । भलाकुसारीको क्रममा गायक गुरुङले भने, ‘जीवनमा टाइम म्यानेजमेन्ट गर्न सक्नुपर्दाेरहेछ ।’
 साभार : एभरेस्ट टाइम्स डट्नेट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*