Latest News

‘हनीहन्टर’को जीवनयात्रा

– आश गुरुङ, भुजुङ (लमजुङ)

भाद्र २३, २०७३- जहिल्यै थोत्रो टोपी, हाफपाइन्ट (जाँगे) लगाएर हिँड्छन्। चप्पल लगाउने कहिल्यै बानी छैन। आँखामा चिप्रा। यति भएपछि वीरलाल गुरुङको परिचय पुग्छ।

उनले लेकाली सिस्नोद्वारा निर्मित पाइन्ट लगाउन छाडिसकेका छन्। ज्यान केही ठूलो छ। वीरलाल मह सिकारीका रूपमा चिनिन्छन्। उनलाई कसैकसैले ‘भुँडे बूढा’ भनेर बोलाउँछन्। भुजुङ ६ कमागाउँका उनी ८९ वर्षका भए।honey
सानै उमेरदेखि गोठमा बसेका उनले कहिल्यै चप्पल लगाएनन्। ‘जुत्ताचप्पल कहिल्यै लगाइएन। मन पनि पर्दैन। लगाउने बानी पनि छैन,’ उनले भने, ‘सानैदेखि बाआमासँग गोठ बसेँ। त्यतिबेला जुत्ताचप्पल पाइने थिएन। पछि नलगाउने बानी पर्‍यो।’ गोठमा बस्दा चप्पल नलगाएकै कारण निगालोको ठुटो खुट्टामा गढेको सम्झनाले उनी झस्किन्छन्। ‘महिनौंसम्म हिँड्न भएन। हँसियाले, काँचो निगालोको ठुटो बनाएर घोचें, निस्किएन। पछि भित्रभित्रै आफैं कुहिएर टुक्राटुक्रा गरी पिपसँगै निस्कियो। २/३ महिना पिरोल्यो।’ भीरपाखा जाँदा, घाँसदाउरा गर्दा, चौपाया चराउन जाँदा, खेतमा काम गर्दा कहिल्यै चप्पल नलगाएको उनले सुनाए।
खुट्टामा चप्पलबिना भोट (तिब्बत सिमाना) र बटौली (बुटवल) सम्म हिँडेरै नुन बोक्ने गरेको उनले बताए। त्यतिबेला आफ्नो खर्च र पकाउने भाँडा आफैंले बोकेर जानुपथ्र्यो। ‘जता गए पनि एक महिना लाग्थ्यो। जवानीका बेला १० पाथी नुन केही नभनी बोकेर ल्याउँथें,’ उनले भने, ‘मैले बोक्ने जति घाँसदाउरा कसले पो बोक्थ्यो?’ अहिले घरघरै नुन आउँदा उनलाई अचम्म लाग्छ। ‘पारि गाउँसम्म गाडी आउँछ, नुनतेल ल्याउँछ, चामल आउँछ भनेर कहिल्यै सोचेको थिइनँ,’ उनले भने, ‘डुम्रे–बेंसीसहर सडक खन्न जाँदा पनि आफैंले बोकेर घर ल्याएको नुन र गाउँबाट मकै र चामल ल्याएर खाने गरेका थियौं।’ डुम्रे–बेंसीसहर ट्रयाक ०३५ ताका खोलिएको उनले बताए। त्यतिबेला २ दिन हिँडेर बाटो खन्न गएको उनी बताउँछन्।
वीरलाल साहसिक मह सिकारीका नामले पनि चिनिन्छन्। गोठमा बस्दादेखि नै भीरमा चोयाद्वारा निर्मित भर्‍याङमा चढेर उनले छँगाछुर भीरमा मह काढे। भीरमह काढ्दा उनले कहिल्यै जाली टोपी र पञ्जा लगाएनन्। १८ वर्षको उमेरदेखि भीरमह काढ्न थालेको उनले सुनाए। ‘अहिलेजस्तो अनुहार छोप्ने (जाली टोपी) हुन्थेन। यत्तिकै मह काढियो,’ उनले भने, ‘कहिलेकाहीं अलिअलि टोक्थ्यो। खासै वास्ता हुने थिएन।’ मौरीलाई नजिस्क्याउने, फोहर नगर्ने, होहल्ला नगर्ने, आधुनिक औजार प्रयोग नगर्ने, पूजापाठ राम्रोसँग गरेका कारण मौरीले नटोकेको उनले बताए। ‘एउटै भीरमा निरन्तर २०/२५ चाका मह काढेँ। कहिल्यै केही भएन,’ उनले भने, ‘अहिले त सबैले जाली टोपी लगाउँछन्। धेरै टोक्छ भन्ने सुन्छु।’ उमेरले नेटो काट्दै गएपछि उनले दशकयता भीरमह काढेका छैनन्।
उनको अभूतपूर्व मह काढ्ने तरिका देखेर गुरुङ चलचित्रका निर्देशक तथा निर्माता गोरे गुरुङले मह काढेको विषयलाई दशकअघि ‘द ब्रेभ वीरलाल हनीहन्टर’ नाम दिएर वृत्तचित्र बनाए। वीरलाल चलचित्र हेर्बे च्ह (हिमालय पुत्र) मा अभिनेता पनि बने। यसबाट वीरलाल एकाएक चर्चामा आए। अहिले भने उनी टाढा–टाढा हिँड्न नसक्ने भएका छन्। उनी गाउँका नाम चलेका पच्यु (गुरुङ पुरोहित) एवं झाँक्री पनि हुन्। ‘बुढेसकाल लागेकाले सबै काम छाड्नुभयो,’ छोरा मेखमानले भने।
वीरलालको दैनिकी केही वर्षअघिसम्म भैंसी स्याहार्दैमा बितेको थियो। उनी अहिले पनि भकारी बुन्दै दिन कटाउँछन्। आँखा र कानले धेरै भेउ पाउँदैनन्। वृत्तचित्रमा देखिएका वीरलाललाई हेर्ने बेलायतका नेपालीले चाहना राखेपछि उनलाई बेलायत लान पासपोर्टसमेत बनाइयो। ‘गोरे साबले लान्छु भनेको थियो। पछि नमिल्ने भयो भन्ने खबर आयो। किन रहेछ, थाहा भएन,’ वीरलालले भने।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*