Latest News

हिमालीको साँस्कृतिक दशै÷तिहार कार्यक्रम भव्यता साथ सम्पन्न

पोखरा, २७ असोज
लोक सँस्कृतिक बचाऔं नाराका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारले शनिवार पोखरामा साँस्कृतिक दशै÷तिहार २०७५ भव्यताका साथ सम्पन्न गरेको छ।  पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले दशैको फूलपाती भित्र्याउनेदेखि तिहारको गीतसम्मका विभिन्न साँस्कृतिक प्रस्तुतिबाट दर्शकलाई मनोरञ्जन दिलाएका थिए।

कार्यक्रमको प्रमुख अतिथि यस प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले दशै, तिहार छठ लगायतको चाडहरुको शुभकामना व्यक्त गर्नुहुदै मुलुकलाई समृद्धितर्फ लम्काउन नागरिक जुट्न आग्रह गर्नुभयो। लामो संघर्ष पश्चात जनताले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा रुपान्तरण गरेकाले व्यवहारमा समृद्धि तर्फ लम्काउन नागरिक क्रियाशील हुनुपर्ने उहाँको भनाई थियो। समावेशी मुलुक, सबैको भावनाको सम्बोधन गर्दै नेपाल अघि बढ्नुपर्दछ मुलुकमा आइपर्ने समस्याका विरुद्ध सबै एकतावद्ध भएर जुध्नुपर्ने शर्माले बताउनुभयो। अहिले मुलुकमा बृद्धि भईरहेको बलात्कार, हिंसा, विकृतिहरुलाई अन्त्य गर्न समेत सबैको एकता र नागरिकको साथ सरकारलाई जरुरी रहेको उहाँले बताउनुभयो।

समाजसेवी उषा शेरचन मुख्य प्रायोजक र लिला तुलाचन सहप्रायोजक रहेको उक्त कार्यक्रममा परिवारका आजीवन सदस्य दामु अधिकारी पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा र मानार्थ सदस्य टिका कार्कीले विशेष सहयोग वापत सम्मान गरिएको थियो।  साँस्कृतिक दशै तिहार २०७५ कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुका साथमा आमन्त्रित हास्यकलाकार दानबहादुर गुरुङ र बीरबहादुर गुरुङको प्रस्तुति, हिमालीका वरिष्ट सल्लाहकार बरिष्ठ कलाकार गौरी गुरुङको नृत्य, रामभक्त जोजिजु, इतु जोजिजु, शितल थापाको गायनले थप मनोरञ्जनात्मक बनाएको थियो।

कलाकार सहयोगार्थ कोष निर्माण र नेपाली चाडपर्वमा मनोरञ्जन दिलाउनका लागि आयोजित कार्यक्रममा हिमालीका कलाकारहरुले पञ्चैबाजा, फूलपाती भित्र्याउने, दुर्गा नृत्य, तिहार गीतमा नृत्य, नेपाली मौलिक नृत्यहरुसहित हिन्दी गीतमा समेत नृत्य प्रस्तुति गरेका थिए।