Latest News

लाहुरे हुन सकेनन् त के भाे ! ‘इकाे’ छलाङ् मारेरै छाडे

माधव बराल
पाेखरा, २९ मंसिर:
चित्रबहादुर गुरुङको पुरानो कथा आफ्नो समुदायका अरुको भन्दा भिन्न होइन । भिन्न हो त अहिलेको कथा ।

पुरानो कथा उही हो, लाहुेर परिवार । अनि भर्ती हुने रहर । रहरमात्रै होइन, प्रयास पनि गरे चित्रले । सफल भने भएनन् । भइदिएको भए उनको कथा भिन्न हुने थिएन , अरु सामान्य लाहुरेकै जस्तो हुन्थ्यो होला ।कहिले वजन पुगेन । कहिले दौडन नसकेर भर्ती हुन सकेनन् । तर जिन्दगीको दौड यसरी दौडे कि पुर्खाले कहिल्यै कल्पना नगरेको व्यवसायमा चित्रले वजनदार चित्र कोरे । ३० वर्ष भयो उनी पर्यटनमा लागेको ।

लाहुरे हुन नसके पनि ढाक्रे हुने कुरै थिएन । किनभने उनले पढाइ छाडेका थिएनन् । बिए पढ्न काठमाडौं हानिए । पढाइ सकेपछि जागिर सुरु गरे । त्यतिबेलाको समय २०४४ सालमा चलिरहेको थियो । पोखरा ट्राभल्स र यती ट्राभल्समा गरी पाँच वर्ष अनुभव संगालेपछि आफ्नै केही गर्ने हुटहुटी चल्यो । त्यही हुटहुटीले जन्मायो, एभरग्रिन टुर्स इन्टरनेसनल कम्पनी ।img_2111

त्यो ट्राभल्स चलाउँदा पर्यटकलाई सहर होइन गाउँ घुमाए । तिनैको संगतमा लागेर आफूले धेरै घुमे । गाउँकै पर्यटनमा रमाउने र हित्तचित्त मिल्नेहरुबाट बनेको संस्था ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) मा लागे । अध्यक्ष भए ।

आफू नेतृत्वमा छँदा गाउँगाउँका होमस्टेको चर्चा चलाए, पर्यटक पुर्‍याए । भन्छन्, ‘लमजुङको काउलेपानी र मकवानपुर चितलाङको होमस्टेको प्रवद्र्धनमा मेरो नेतृत्वको टिमले महत्वपूर्ण भूमिका खेल्यो, यसमा पर्यटन बोर्डले पनि सहयोग गरेको थियो ।’ ५० वर्षका हिउँदबर्खा छिचोलिसकेपछि र देशकै अरु गाउँ घुमिसकेपछि चित्रको मनले एउटा चित्र कोर्‍यो ।

त्यो चित्रचाहिँ आफ्नै गाउँको थियो । कास्की लुम्लेको तानचोक गाउँ जहाँ कुनै बेला अन्तका मान्छेहरु पुग्थे, अहिले भने गाउँकै मान्छे अन्त गएका छन् । गाउँ रित्तोरित्तो भएको छ । त्यसरी गाउँ छोडेर अन्त जाने उनी आफैं पनि हुन् । काठमाडौंमा डेरा होइन घरै बनाएर बसेका छन् । ‘मेरै गाउँमा पनि पर्यटनको सम्भावना छ भन्ने लाग्यो,’ उनले सुनाए, ‘गाउँमा पर्यटक तान्ने, बसाइँ गएकालाई फर्काउने उपाय गर्नुप¥यो भनेर रिसोर्ट खोलेको छु ।’

तानचोकको कयरबारीमा कल्सी इको लज बनिसकेको छ । ‘संसारका कति देशले कृत्रिम संरचना निर्माण गरेर पर्यटक भिœयाएका छन्,’ उनले भने, ‘प्रकृतिले नै दिएको सौन्र्दयलाई विश्व सामु सही ढंगले पस्किन नसक्दापछि परेका छौं, थोरै चेन्ज गरेर काम गरे ग्रामीण पर्यटनले फड्को मार्छ ।’

उनले राखेको लजको नाम गुरुङ भाषाको शब्द हो । ‘गुरुङ भाषामा काली सुन्दरीलाई कल्सी भनिन्छ,’ उनले अथ्र्याए ।

यसै त धेरैले छाडेको गाउँ, त्यसमाथि लज बनाउँदा काम गर्नेको अभाव । ती चुनौती झेलेर जसोतसो निर्माण सकियो । ‘अहिलेचाहिँ लजमा कुक, वेटरको अभाव छ,’ उनी सुनाउँछन्, । भारतीय गोर्खा सैनिकबाट निवृत्त दाजु रामभक्त गुरुङले लजमा सघाएका छन् ।img_2113

लज खोल्न गाउँकै १० जनाले साझेदारी गरेका छन् । चित्रले कोरेको पर्यटनको योजनाका बुँदाको सूची लामो छ । ‘गाउँको जमीन बाझैं छ, यहाँ उब्जनी गराएर पर्यटकलाई खुवाउने हो,’ चित्रले बेली विस्तार गरे, ‘लजलाई पूरै पर्यावरण अनुकुल बनाएका छौं ।’ लजमा कम्पोस्टिङ शौचालय छ, जहाँ पानी र अन्य रासायनिक पदार्थ प्रयोग गरिँदैन ।

दिसा गरेपछि काठको धुलोले छोपेर छाडिन्छ र मल बनेपछि बारीमा लगिन्छ । स्वेदशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको लजसम्म पुग्न पोखरादेखि लुम्लेको पुरानो घरेडीसम्म ३२ किमी मोटरबाटो र त्यहाँबाट एक घन्टा पैदल हिँड्नु पर्छ । ३ वटा कटेज निर्माण भइसकेको छ ।

३२ रोपनी क्षेत्रमा ५ वटा कटेज बनाउने योजना गुरुङले सुनाए । सम्पूर्ण संरचना बनेपछि लजमा २० जनाले रोजगारी पाउँछन् । उनको कठमाडौंको टुर्स इन्टरनेसनलमा ५ जनाले रोजगारी पाएका छन् ।

लजबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण, हिमचुली लगायत हिमालका साथै बिहानको झुल्के र अस्ताउँदो घाम देख्न सकिन्छ भने चरा अवलोकन, गाउँको भ्रमण, जंगलमा हाइकिङ, बाइकिङ, क्याम्पिङ गर्न मिल्छ । नेपाली पर्यटकको लागि लन्च, डिनर, ब्रेकफास्टसहित एक रातको एक जनाको २ हजार ५ सय तोकिएको छ ।

जंगलबीचमा निर्माण गरिएको लज स्थानीय काठ लगायत सामग्रीबाट बनाइएको छ । लज निर्माण गर्दा करिब ८० लाख खर्च भएको छ । समुद्र सहतबाट १ हजार ८ सय ९२ मिटरमा छ ।

साभार : समाधान दैनिक डट कम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*